व्यक्तित्व

मौलिक भाकाले मन जितेका वरदान

विवेक विवश रेग्मी १ भदौ २०८१ १६:१७
154
SHARES
मौलिक भाकाले मन जितेका वरदान

धरानको छाताचोक प्राय: व्यस्त हुन्छ। त्यही चोकबाटै सयौँ यात्रु गन्तव्यमा पुग्न दगुरिरहेका छन्। साउन अन्तिमा साता सिमसिम पानी परिरहेको थियो। पानीसँग छलिँदै बाजेको होटलमा आइपुगे- गंगा वरदान। लामो कपाल, बाक्लो, लामो दाह्रीजुँगा। उनको पहिचान दाह्री र कपालले दिएको छ। गंगा वरदान भन्नेबित्तिकै सोही हुलिया सम्झने धेरै छन्। कुनै बेला गीत गाएर प्रसिद्धि कमाएमा गायक वरदान अचेल धरानको चोक, गल्ली, बूढासुब्बा मन्दिर आसपास भेटिन्छन्।  गीतसंगीतका बारेमा शुभेच्छुकसँग गफिन्छन्। नयाँ पुस्तालाई अनुभव बाँड्न खुबै रुचाउँछन्।

२०३५ सालमा आफ्नै शब्द, संगीत र स्वरमा रेडियो नेपालमा ‘कहाँमा काट्यो बेतको लौरी’ रेकर्ड गराएका वरदानले एल्बम निकाल्न भने लामै समय पर्खनुपरेको बताउँछन्।उनको ०५५ सालमा गंगा वरदान भाग-१ एल्बम बजारमा आएको थियो। २०५७ मा वरदान भाग-२ र २०६० मा वरदान भाग-३ एल्बम बजारमा ल्याएका वरदानले चारवटा एल्बममार्फत २४ वटा र अरू दुई दर्जनजति क्यासेटबिना गीत गाएका छन्।

२००९ सालमा भोजपुरको दिङ्लामा जन्मिएका गायक वरदान कसरी गायक बने त? यसको कथा रोचक रहेछ। उनी सुनसरीको बराहक्षेत्र मन्दिर दर्शनका लागि आमासँग आएका रहेछन्। २०२६ सालमा धरान झरेका उनी चार वर्षसम्म विराटनगरमा बसेछन्। एकजना साथी विराटनगर भएका कारण यतै बसेछन् र गायनकर्ममा पनि जोडिएछन्। यतिबेलासम्म वरदानले एसएलसी दिएका थिएनन्।

‘एसएलसी दिने साल थियो, म यतै बसेकाले त्यसबेला दिन पाइनँ। पछि धरानको शिव सिनेमा हल नजिकै गएर गीत गाएँ,’ उनी बालापनतर्फ फर्किए, ‘म प्रथम भएछु, त्यसपछि मलाई गीत गाउनमा थप हौसला मिल्यो।’ उनले आफू पर्यटन र पर्यावरण प्रवर्धनका लागि गीत गाएको सुनाउँछन्।

कहाँमा काट्यो नि बेतको लौरी
लम्बुराको वनैमा
किनमा रोयो न्याउली चरी,
विरह चल्यो मनैमा …।

वरदानले २०३५ सालमा यो गीत रेकर्ड गराए। त्यसपछि उनी चर्चामा आए। कार्यक्रममा माग हुन थाल्यो। धेरै क्यासेट र एल्बम बिक्री भयो। हालसम्म रोयल्टी नपाएकोमा उनी दुःखी छन्। उनी भन्छन्, ‘हिसाब नै गर्ने हो भने सबैभन्दा बढी क्यासेट बिक्री भएको छ तर रोयल्टी पाएको छैन।’

वरदान मेची-महाकाली यात्रामा समेत निस्किए। ‘मैले मौलिक भाका प्रयोग गरेका कारणले सबैलाई मोहित बनाएको हुँ,’ वरदान भन्छन्।

दरबारमै बस्न प्रस्ताव

२०४२ सालमा वरदानलाई दामोदरशमशेरले तत्कालीन राजा वीरेन्द्रसँग भेट गराएका थिए। वीरेन्द्रले ‘गायक त मलाई मन पर्छ’ भनेपछि वरदान दंग परेको स्मरण गर्छन्। दामोदरशमशेरले घर कहाँ हो? बसाइ कहाँ छ? बिहा गरेको छ कि छैन? भनेर वरदानलाई सोधका थिए रे। उनले जवाफ दिएछन्- ‘आज धरान, भोलि पोखरा, पर्सि दार्जिलिङ। बिहा गरेको छैन, चौतारामै सुत्छु।’

यो सुनेपछि दरबारको कोठा खाली भएको र आफूलाई दरबारमै बस्न आग्रह गरिएको वरदान सम्झन्छन्। ‘भोलिदेखि दरबारको कोठा खाली छ। दरबारमा बस्नु, यहाँ के गर्नुपर्छ म छु,’ दामोदरशमशेरको भनाइ सम्झँदै उनले भने, ‘त्यसबेला म दरबारमा बसेको भए, राष्ट्रिय तक्मा त पाउँथे होला। तर, त्यो भन्दा बाहिरी संसारमै रमाएँ।’ दामोदरशमशेर वीरेन्द्रका आफन्त हुन्।

रामचन्द्र पौडेल र शेरबहादुर देउवा गीतबाट प्रभावित

गीतसंगीत मन नपराउने को होला र? उनी आफ्नो गीतबाट वर्तमान राष्ट्रपति रामचन्द्र पौडल र पूर्व प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा प्रभावित भएको बताउँछन्।

मुग्लिन, सेती नदीको छेकार
हेर्न मन लाग्छ, जाऔं न दमौली बजार
भानुभक्त जन्मिएका चुँदी रम्घा गाउँ
नेपालीको आँखा खोल्न पुगे संसार

२०४२ सालतिरै यो गीत सुनेपछि रामचन्द्र पौडेलले लोकतन्त्रका लागि यस्ता गीत आवश्यक पर्ने सुनाएका थिए। ‘हामी लोकतन्त्रका लागि लड्दैछौँ, तपाईँजस्तै स्रष्टा आवश्यक पर्न सक्छ,’ पौडेलले त्यसबेला भनेका थिए।

‘रामचन्द्र पौडेल र शेरबहादुर देउवा मेरा फ्यान हुनुहुन्थ्यो, तर मैले पछि कहिल्यै भेटिनँ,’ उनले थपे, ‘एउटा लेखक, गायकले जागिर खाने व्यापार गर्ने होइन, भन्ने लाग्यो।’ उनले नेतालाई हरेक मानिसले स्वार्थका लागि मात्रै भेट्ने भएका कारण र आफूले लिनु केही नभएकाले पनि नभेटेको तर्क गरे।

मलाई अहिलेका गीतमा सन्तुष्टि छैन

गीतको विषय प्रेम मात्रै नहुने उनको तर्क छ। अहिलेका गीतप्रति आफू सन्तुष्ट हुन नसकेको उनले सुनाए। ‘म अहिलेका गीतमा सन्तुष्ट छैन, अहिलेका गीत मलाई मन पर्दैन,’ वरदानले भने, ‘धोका दियो, पागल भयो भन्ने मात्रै गीत हुँदैन। तपाईँको र मेरो प्रीतिले संसारलाई छोओस्, अनि पो राम्रो हुन्छ।’

अहिले सर्जकहरू सबै सम्पत्ति आर्जन गर्नमै केन्द्रित भएको उनको टिप्पणी छ। ‘शोषण गरेर पैसा खाएको नाताले गीत हुँदैन। के साहित्य लेखेको छ बुझ्न सक्ने अवस्था छैन। गीतको व्यापार चलेन भने असन्तोष हुन्छ मान्छे,’ उनी भन्छन्, ‘अहिलेका गायक भनिएकाहरूले गीतको भाव बुझ्दैनन्। गीतमा जुन सेन्स हुनुपर्ने हो, त्यो छैन।’

प्रकृतिमा रम्न चाहने गायक, गीतकार नभएको उनको टिप्पणी छ। ‘प्रकृति नै मेरो गुरु हो, मेरो स्रोत प्रकृति हो। खासमा भन्ने हो भने म भन्दा धनी त कोही छँदै छैन जस्तो लाग्छ,’ उनले भने, ‘मसँग त हीरामोती छ। तर सबै मान्छे पैसा कमाउन आतुर छन्।’

उनले आफू कल्पना गरेर गीत, कविता नलेख्ने बताए। ‘कहिले बसमा हिँड्दाहिँड्दै फुर्छ, मेरो संगीत म आफैँ गर्छु,’ वरदान भन्छन्, ‘म गीत लेख्ने गाउनेमै रमाएँ, मैले त्यसैलाई हिरा मोती भनेँ। कुनै बेला पार्टीपौवामा सुत्दा पनि आनन्दित भएँ। त्यसैले पनि म सन्तुष्ट मानिस हुँ जस्तो लाग्छ।’

बुबाले नाच्ने लाखे र मारुनी नाच र मादल बजाउने सीपबाट प्रभावित भएकाले बुबा नै गुरु रहेको उनले सुनाए। ‘मैले अहिलेसम्म बुबाकै क्यारेक्टर बचाएर राखेको छु। गंगा वरदानको गीतको अर्थ के हो? भन्ने समाजले पनि बुझ्न आवश्यक छ’, वरदान भन्छन्।

मान्छे अरूको भाग खोसेर खुसी भए

अहिलेका मानिस अरूको भाग खोसेर खुसी भएको उनी सुनाउँछन्। समाजमा विलासिता र देखावटी गर्नेको बाहुल्य रहेकाले त्यसभन्दा विपरीत छन् उनी। ‘मानिसले विलासिता किन चाहन्छन्, के हो विलासिता भनेको? सुट लगाएर गाडीमा हिँड्नु विलासिता हो? त्यसले समाजलाई के दियो?’ वरदान भन्छन्, ‘उब्रिएको सम्पत्तिले विलासिता गर्दा सुहाउँछ। मान्छेले त लुटेर, अरूको भाग खोसेर खाएका छन्।’

तपाईँ त सार्वजनिक गाडीमै यात्रा गर्नुहुन्छ नि? मुस्कुराहटसहित उनको जवाफ आउँछ- ‘प्लेनको प्लेन हिँडेर पो के गर्नुछ र?’ आफू लक्ष्यमा भए खुसी हुनुपर्ने उनको भनाइ छ।

अहिलेको समाज कस्तो छ? प्रश्न नटुंगिदै उनले जवाफ दिए, ‘अर्कालाई लात्ती हानेर भड्खालोमा पार्ने र दुईदिन मोज गर्ने खालको भयौँ हामी।’ मानिसहरू अनावश्यक कुरा गर्ने र काम भने केही नगर्ने उनले नियालिरहेका छन्। ‘मान्छेले भएको कुरा बोल्नुपर्छ। बोलेर मात्रै हुँदैन, त्योअनुसारको चिज पनि हुनुपर्‍यो। म ठूलो कुरा गरिरहेको छु, तर मैले कुरा गरेअनुसार दिन पनि सक्नुपर्छ नि!’ उनको तर्क छ, ‘समाजमा अलिक विचार गरेर मात्रै विश्वास गर्नुपर्नेरहेछ। हामी पैसाको दास भयौँ, बाउबाजेको कुनै मूल्य भएन।’

मानिसले पुर्खाको संस्कार, संस्कृतिको मूल्य अपनाउन नसकेकोमा उनले दुःख व्यक्त गरे। समाजमा राम्रो कामको मूल्यांकन नहुने उनी सुनाउँछन्। ‘हामीले अर्काको झोला बोक्नैपर्ने, हो हजुर भन्नुपर्ने हो र?’ उनले समाजप्रति असन्तुष्टि जनाए।

मानिस ठीक नभएकै कारण शासन व्यवस्था गलत भएको उनको तर्क छ। ‘तपाईँहामी ठीक थियौँ भने सही शासन चल्थ्यो। तपाईँहामी नै ठीक छैनौँ, नेपालीको स्वभाव नै ठीक छैन’, उनी भन्छन्।

वरदान गायक र गीतकार मात्रै होइनन्। उनले सन् २००२ मा कविता संग्रहसमेत प्रकाशित गरेका छन्। उनीसँग अहिले पनि अप्रकाशित कविताहरू छन्। यो उमेरमा पनि कसरी ऊर्जा आउँछ? भन्ने जिज्ञासामा वरदानले भने, ‘म जे खान्छु नि, त्यो ठगेर मजाक गरेर खाएको होइन। त्यसैले ऊर्जा आउँछ।’

अवरोह छ कि छैन? भने, ‘पाइलैपिच्छे आरोहअवरोह छ। पैसालाई मान्छेले दुनियाँ सोच्छन्। म सोच्दिनँ। त्यसैले आरोह छैनजस्तो पनि लाग्छ।’ भोजपुरको दिङ्लामै बाल्यकाल बिताएका उनका एक दाजु र तीन दिदीबहिनी छन्। दाजु र जेठी, कान्छी दिदी बितिसके भने माइली दिदी छन्। बुबा किसान र आमा होटल व्यवसायमा थिइन्। भोजपुरको सबै छाडेर धरान बजारमा आएको सम्झँदै वरदानले भने, ‘अहिलेसम्म घर, सम्पत्ति मलाई चाहिएन, अब चैँ सोच्नुपर्ने भएको छ। श्रीमतीसँग बसिरहेको छु।’

धरान- १४ विजयपुरमा बस्दै आएका उनले साहित्य, संगीतमा छुट्टिएको पैसाको सदुपयोग नभएको सुनाए। ‘कार्यक्रममा बोलाउँदा पैसा दिनुपर्छ र? भन्छन्। म त छक्क पर्छु। गाडी भाडासमेत दिँदैनन् कहीँ, कहीँ त,’ उनले आफ्नै दुःखको बयान गरे, ‘साथीभाइले पनि गीत गाएको, रेकर्ड गराएको पैसा दिँदैनन्। मेरै समकालीनहरू ठूलाबडा, माननीय, मन्त्री हुने कति छन् कति, उनीहरूले पनि वास्ता नगर्दा चैँ दुःख लाग्दोरहेछ।’

एकपल्ट वरदान भारतको दार्जिलिङ, कालेबुङ गएछन्। चलचित्र निर्देशक तुलसी घिमिरेसँग कालेबुङको एउटा चिया पसलमा बसिरहेका थिए। चियापसल नजिकै मान्छेको लर्को लागेको देखिन्थ्यो। मानिस आउँथे, एउटा प्याकेटजस्तो केही लिएर जान्थे।

त्यतिकैमा तुलसीले स्थानीयलाई सोधेछन् – ‘यो के को प्याकेट हो?’ जवाफ आएछ – ‘गायक गंगा वरदानको गीतको एल्बम हो।’ उनी त्यो क्षण सम्झँदा पुलकित बने। पैसा भने पाएनन्। उनलाई नन्दकृष्ण जोशीले भनेछन्, ‘तपाईँको क्यासेट बिक्री गरेर कति कमाए-कमाए।’ त्यसताका दार्जिलिङ, कालेबुङ, मिरिक, सिक्किम, भुटानलगायतमा उनको गीतको एल्बम धेरै बिक्री भएको वरदानले पछि मात्रै थाहा पाए।

वरदानले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई त ‘लाइभ म्युजिक’ सुनाएका छन्। अब एउटा गीत रिलिज गर्ने तयारी रहेको र एकपटक सबैसँग अन्तिम अपिल गर्ने उनले सुनाए।

वरदानले भने, ‘एकपल्ट मेरो लास्ट अपिल हुन्छ। कोही प्राज्ञहरू गाउँमा कविता फल्दोरहेछ भन्दै हिँड्छन्? यसको अर्थ के हो? म यसको अर्थ काठमाडौँ गएर खोज्छु। म पनि नेपालको स्रष्टा हुँ, अहिलेसम्म कसैको भात खाएको छैन मैले।’

तपाईँलाई आफू सही गर्दैछु भन्ने लाग्छ भने त्यही सफलता हो

उनी आफूलाई सफल भन्छन्। आफैँलाई विश्वास गर्न सक्नु नै सफलता रहेको उनी बताउँछन्। ‘तपाईँलाई आफू सही गर्दैछु भन्ने लाग्छ भने त्यही सफलता हो। तर समाजमा सेवा पनि गर्नुपर्छ,’ उनी भन्छन्, ‘मान्छेसँग जे छ त्यसमा सन्तुष्ट हुने हो भने खुसी हुन्छ। कलाकार हुनेबित्तिकै गाडी चढ्नुपर्छ भन्ने बोध हुनुहुँदैन। मलाई चैँ त्यो सोख भएन।’
मानिसबीच अहिंसा गर्न नहुने उनी सुनाउँछन्। भन्छन्, ‘म जस्तै मान्छे हो तपाईँ। त्यसैले मैले तपाईँलाई मान्नुपर्छ। म सबैलाई मान्छु, म नेपालको मान्छे हुँ।’

मानिसमा चेतनाको विकास नभएको उनी सुनाउँछन्। ‘तपाईँ कमिसन लिने काम गर्नुहुन्छ भने तपाईँले खास जीवन बाँच्नुभएको छैन,’ उनी भन्छन्, ‘अहिलेका विद्वान् देखेर आजित हुन्छु। लाग्छ कि, उनीहरु भात खानका लागि मात्रै बाँचिरहेका छन्। तपाईँसँग चेतना भएन भने भात मात्रै खानुहुन्छ, मर्नुहुन्छ।’

अहिलेको राजनीति परिवार पाल्ने नीति

अहिलेको राजनीति परिवार पाल्ने नीति मात्रै रहेको उनी सुनाउँछन्। ‘खास राजनीति बीपीको पालामा थियो। अहिले कहाँ राजनीति छ? यिनीहरुले राजनीति गरेका छन् र? मनमोहनले पनि केही चैँ गरे। अरुले के गरे?’ उनी भन्छन्, ‘ए भाइ! भन्नु त के गरे? अहिलेको राजनीति परिवार पाल्ने नीति मात्रै छ।’

राजनीति गर्नेहरूले समाजमा केही देन नगरेको वरदान बताउँछन्। राज्यसँग तपाईँको के अपेक्षा छ? भन्ने जिज्ञासामा उनी भन्छन्, ‘अपेक्षा त हुन्छ नि।’ उनी पनि अन्य स्रष्टाजस्तै राज्यबाट उपेक्षित भएको गुनासो गर्छु। यस्ता विषयमा बोल्न आफूलाई कुनै हिचकिचाहट नभएको वरदानले बताए। उनले भने, ‘भएको कुरा गर्छु, नभएको कुरा गर्दिनँ। सरकारसँग जनताले अपेक्षा गरेकै हुन्छन्, मेरो पेसा गीत लेख्ने, गाउने हो। त्यसमा गंगा वरदानले कस्तो गीत गायो भन्ने लेखाजोखा हुनुपर्दैन? सरकारबाट, नगरबाट, क्लब, संघसंस्थाबाट कस्ता कलाकारले स्पेस पाइरहेका छन्?’

उनले रिलिज हुन लागेको गीतमा मनाङको वर्णन गरेका छन्। अर्को, धरान र भेडेटारलाई प्रवद्र्धन गरेर गीत गाएका छन्। ‘नेपालीलाई खै के च्यातियो भन्नेकै पछि लागेका छन्। मनै छुने गीत र पर्यावरणको प्रवर्धन हुने गीतको चर्चा हुन सकेको छैन,’ उनले भने, ‘भन्न चैँ नहुने कि भाइ, विदेशमा गंगा वरदानको गीतमा ननाची चित्त बुझ्दैन।’

प्रकाशित: १ भदौ २०८१ १६:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 3 =