युक्रेनलाई चन्दा दिँदा १२ वर्ष जेल!

हिमाल प्रेस ३२ साउन २०८१ ७:०४
20
SHARES
युक्रेनलाई चन्दा दिँदा १२ वर्ष जेल!

येकातेरिनबर्ग (रुस)- अमेरिका र रुसको दोहोरो नागरिकता भएकी केन्सिया खवानालाई एक रुसी अदालतले देशद्रोहको मुद्दामा दोषी ठहर गरेकाे छ। युक्रेनलाई सहयोग गर्ने एक परोपकारी संस्थालाई ५१ डलर चन्दा दिएको आरोपमा उनलाई १२ वर्षको जेल सजाय सुनाइएको हाे।

रुसी अधिकारीहरूले केन्सिया क्यारेलिना नामले चिनिने खवानालाई फेब्रअरीमा येकातेरिनबर्गको युराल पर्वतीय सहरमा पक्राउ गरेको र गत साता बन्द परीक्षणमा दोषी ठहर गरिएको बताइएको छ।

पूर्व ब्याले डान्सर ३३ वर्षीय खवानाले एक अमेरिकीसँग विवाह गरेर लस एन्जलस गएपछि अमेरिकी नागरिकता प्राप्त गरेकी थिइन्। उनी आफ्ना परिवारसँग भेट्न रुस आएकी थिइन्।

रुसको संघीय सुरक्षा सेवाले भनको छ,‘उनले युक्रेनी संगठनको हितमा सक्रियरूपमा पैसा संकलन गरिन्, जुन पछि युक्रेनी सशस्त्र बलका लागि रणनीतिक चिकित्सा आपूर्ति, उपकरण, हतियार र गोलाबारुद किन्न प्रयोग गरियो।’

अधिकार समूह द फर्स्ट डिपार्टमेन्टले उक्त आरोप अमेरिकी परोपकारी संस्थाका लागि दिइएको ५१ डलर चन्दासँग सम्बन्धित भएको बताएको छ। मुद्दाको परीक्षण मस्कोबाट करिब एक हजार चार सय १६ किलोमिटर पूर्व येकातेरिनबर्गमा भएको थियो।

खवानाले फैसलाविरुद्ध पुनरावेदन गर्ने योजना बनाएको उनका वकिल मिखाइल मुसाइलोभकाे भनाइ छ।

सन् २०२२ मा युक्रेनमा सेना पठाएपछि रुसले असहमतिमाथि कडा कारबाही गर्दै युक्रेनमा अपरेसनको आलोचना र रुसी सेनाको बदनाम गर्ने टिप्पणीहरूलाई अपराधीकरण गर्ने कानुन पारित गरेको छ। त्यसयता रुसले अमेरिकी नागरिकहरूलाई पक्राउ गर्न निशाना बनाएको भन्दै चिन्ता बढेको छ। रासस/एपी 

प्रकाशित: ३२ साउन २०८१ ७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + eighteen =