चलचित्र बोर्ड अध्यक्षमा ६ जनाले दिए आवेदन, चर्चामा दिनेश र करिश्मा

हिमाल प्रेस ३१ साउन २०८१ १९:३४
68
SHARES
चलचित्र बोर्ड अध्यक्षमा ६ जनाले दिए आवेदन, चर्चामा दिनेश र करिश्मा

काठमाडौँ- चलचित्र विकास बोर्डमा अभिनेता भुवन केसीको दुई वर्षे कार्यकाल सकिएसँगै गत साउन ९ देखि अध्यक्ष पद खाली छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका केसीको कार्यकाल विवादरहित रहेन। अब नियुक्त हुने अध्यक्षले फिल्म क्षेत्रलाई उकास्न कस्ता काम गर्नेछन् त्यो भने हेर्न बाँकी नै छ।

बोर्डको अध्यक्ष पदका लागि ६ जनाले आवेदन दिएका छन्। त्यसमध्ये दुई जनाको नाम बढी चर्चामा छ। एक हुन् निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी र अर्की अभिनेत्री करिश्मा मानन्धर।

आवेदक ६ जनामध्येबाट योग्यताका आधारमा सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्छ। त्यसैबाट एक जनालाई मन्त्रिपरिषद् बैठकले अध्यक्ष नियुक्त गर्छ।

दिनेश डिसी

फिल्म निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसीको वास्तविक नाम दिनेश राज दाहाल क्षेत्री हो। २०२३ मंसिर २ गते इलाममा जन्मिएका दिनेश २०५५ सालदेखि फिल्म क्षेत्रमा प्रवेश गरेका हुन्।

फिल्ममा दिनेश खलनायकको भूमिकामा बढी देखिएका छन्। ‘घामछायाँ’, ‘धन्दागिरी’, ‘विरानो माया’ लगायत दिनेशले ६० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्।

पढाइकै सिलसिलामा वरिष्ठ हास्यकलाकार सन्तोष पन्तमार्फत उनले टेलिफिल्म ‘कस्तो लाग्यो’ मा केन्द्रीय भूमिकामा काम गर्न पाए। त्यसैबाट उनको अभिनय यात्रा सुरु भएको हो।

दिनेश फिल्म निर्देशक पनि हुन्। उनले ‘मायाज बार’, ‘फूलैफूलको मौसम तिमीलाई’ र ‘छ एकान छ’ फिल्मको निर्देशन गरे। फिल्म सफल पनि भयो। फिल्म क्षेत्रमामा सक्रिय दिनेश पछिल्लो समय प्रदीप शाहीको निर्देशनमा बन्ने फिल्म ‘एक्लो’मा जोडिएका छन्।

दिनेश नेकपा एमाले जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षसमेत हुन्। त्यसैले पनि चलचित्र विकास बोर्डको अध्यक्षमा बलियो सम्भावना भएका आवेदकको रूपमा उनलाई हेरिएको छ।

कलाकारपछि निर्देशक बनेका दिनेश कार्यक्रम उद्घोषकको नामले पनि परिचित छन्। विद्यालय पढ्दादेखि नै रेडियोमा बज्ने कार्यक्रम, हिन्दी गीतहरू सुनेर हुर्केका र त्यसैबाट पे्ररित भएका दिनेश स्पष्ट र शुद्ध नेपाली भाषाको उच्चारण गर्ने नेपालका सफल उद्घोषक मध्येमा पर्छन्।

दिनेशले रेडियो तथा टेलिभिजनमा विभिन्न कार्यक्रम पनि गरेका छन्। नेपाल टेलिभिजनमार्फत् उनले क्याप्टेन विजय गिरीले नेपाली पत्रिकामा आएको कार्टुनलाई समेटेर बनाएको कार्यक्रम ‘ट्वाक्क टुक्क’ लाई कमेडी शैलीमा निर्देशन गरे। पछि यसकै सिक्वेल ‘ट्वाक टुक्क रिटर्न्स ’ पनि बनाए।

उनले अर्को टेलिफिल्म ‘विमान चालक’ को निर्माण तथा निर्देशन गरे। नेपाल टेलिभिजनमै ‘क्लिक क्लिक क्लिक’ र ‘खोजी प्रतिभाको’ कार्यक्रम चलाए। त्यस्तै नेपाल टेलिभिजनमा ‘एलजी चौधरी क्वीज’ नामक हाजिरीजवाफ कार्यक्रम पनि सञ्चालन गरे।

उनी नेपाल नेटवर्क टेलिभिजनको कार्यकारी अधिकृत, कान्तिपुर टेलिभिजन तथा रेडियोको स्टेशन म्यानेजरसमेत बने। साथै दिनेश फिल्म निर्देशक समाजका पूर्वअध्यक्ष समेत हुन्।

करिश्मा मानन्धर

१४ वर्षको उमेरदेखि नेपाली फिल्ममा प्रवेश गरेकी करिश्माको वास्तविक नाम बुनु केसी हो। २०२८ सालमा ललितपुरमा जन्मिएकी करिश्माको पहिलो फिल्म ‘सन्तान’ हो। पहिलो फिल्मबाट पाएको उपनामले उनको छुट्टै पहिचान बनाएको छ।

२०४२ सालदेखि नेपाली फिल्ममा प्रवेश गरेकी करिश्मा करिब चार दशकदेखि फिल्म क्षेत्रमा रमाइरहेकी छन्। फिल्म क्षेत्रमा उनी अझै पनि सक्रिय छिन्। उनी निर्माणको चरणमा रहेको फिल्म ‘माइली’ मा जोडिएकी छन्। नेपालीसहित हिन्दी फिल्ममा पनि उनले अभिनय गरेकी छन्।

कुनै समय नेपाली फिल्ममा एकछत्र राज गरेकी करिश्माका कस्तुरी, पापी मान्छे, जिन्दगानी, सौता, ढुकढुकी, अल्लारेलगायत थुप्रै फिल्म चर्चित छन्। अभिनेता राजेश हमालको फिल्मी जोडीको रूपमा रुचाइएकी करिश्माले थुप्रै म्युजिक भिडियोमा पनि अभिनय गरेकी छन्।

विवाहपछि पनि सक्रिय अभिनेत्री करिश्मा निर्मात्रीसमेत हुन्। करिश्माले फिल्म ‘बाबु साहेब’ बाट उनले आफ्नो नामको अगाडि निर्मात्री पनि थपेकी छन्। तर फिल्म भने सफल हुन सकेनन्।

अभिनेत्री करिश्मा एमालेकी सक्रिय कार्यकर्ताका रूपमा परिचित छिन्। यसअघि उनले राजनीतिमा प्रवेश गर्न पार्टीबाट टिकटको अपेक्षासमेत गरेकी थिइन् तर पाउन सकिनन्।

दीपा पाण्डे बस्नेत

‘अन्तराल’, ‘श्री पाँच अम्बरे’ जस्ता फिल्म निर्देशन गरेकी दीपा पाण्डे एक सफल भिडियो सम्पादक हुन्। उनले थुप्रै डकुमेन्ट्री, छोटो फिल्म बनाएकी छन्। फिल्ममै स्नातक गरेकी दीपा रंगकर्मी र टेलिभिजनकर्मीसमेत हुन्।

यी तीन जनाबाहेक राजेश थापा, प्रकाश भट्टराई, अर्जुनकुमार डंगोलले पनि अध्यक्ष पदका लागि आवेदन दिएका छन्। थापा संगीतकार तथा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)का पूर्व महाप्रबन्धक हुन्।

भट्टराई चलचित्र विकास बोर्डका पूर्वसदस्य र डंगोल फिल्म निर्माता तथा चलचित्र विकास बोर्ड सदस्य हुन्।

प्रकाशित: ३१ साउन २०८१ १९:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast