काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मधेश प्रदेश आन्तरिक मामिलाका तत्कालीन उपसचिव अवधकिशोरप्रसाद कुशवाहासहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले बिहीबार तत्कालीन उपसचिव कुशवाहासहित पूर्वाधार विकास कार्यालय धनुषाका तत्कालीन निमित्त प्रमुख रविचन्द्र पजियार र करार सेवाका तत्कालीन इन्जिनियर राममनिज यादवविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
२०७७/७८ मा मन्त्रालयबाट ठेक्का भई ईलाका प्रहरी कार्यालय गौशाला महोत्तरीको कम्पाउन्ड वाल निर्माणमा अनियमितता गरेको पाइएपछि उनीहरूविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारले जनाएको छ।
उनीहरूले कम्पाउन्ड वाल निर्माण कार्यमा हुँदै नभएको काम भएको भनी भुक्तानी आदेश र गोश्वारा भौचर सदर गरी पाँच लाख ३१ हजार ४२८ रूपैयाँ ७० पैसा भुक्तानी गरेको अख्यितारको अनुसन्धानबाट खुलेको छ।
कुशवाहा, पजियार र यादवमाथि जनही पाँख लाख ३१ हजार ४२८ रूपैयाँ ७० पैसा बिगो कायम गरी सोहीबमोजिको जरिवाना र कैद सजाय गर्न मागदाबी लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
त्यस्तै कम्पाउन्ड वाल निर्माण कार्यमा मिलेमतो गरी वास्तविक कार्यभन्दा बढी मूल्यांकन गराई भुक्तानी लिएको देखिएकोले निर्माण व्यवसायी राकेशप्रसाद जयसवालविरूद्ध समेत भ्रष्टाचार मुद्दा दर्ता भएको अख्तियारले जनाएको छ।