ढाका– बंगलादेशका अपदस्थ सांसद एवं क्रिकेटर शकिब अल हसनलाई पाकिस्तानमा राष्ट्रिय टोलीबाट खेल्न अनुमति दिइएको छ।
बंगलादेशका पूर्वकप्तान शकिबले जनवरीमा विपक्षी दलले बहिष्कार गरेको निर्वाचनमा शेख हसिनाको अवामीलिग पार्टीबाट सांसदमा निर्वाचित भएका थिए। हसिना प्रधानमन्त्री पदबाट अपदस्थ भएपछि त्यहाँको संसद विघटन भएको छ।
विद्यार्थीहरूको नेतृत्वमा भएको राष्ट्रिय विद्रोहको नाटकीय निष्कर्षका रूपमा हसिनाले अचानक राजीनामा दिँदै हेलिकप्टरमार्फत भारत भागेसँगै संसद् भंग भएपछि शकिबले सांसद पद गुमाएका थिए।
ती विद्यार्थीहरूमध्येका एक अहिले अन्तरिम सरकारमा खेलमन्त्री रहेका २६ वर्षीय आसिफ महमुदले हसिना र अवामी लिगसँगको सम्बन्धका बाबजुद शकिबलाई टोलीमा रहन अनुमति दिएका छन्।
‘हामीले खेलकुद सल्लाहकारसमक्ष टोलीलाई प्रस्तुत गर्यौँ,’ बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) का निर्देशक इफ्तिखर अहमदले भने, ‘उहाँले शकिबलाई समावेश गरेकामा विरोध गर्नुभएन, उहाँले योग्यताका आधारमा टोली गठन हुनुपर्ने बताउनुभयो।’
हसिनालाई सत्ताबाट हटाउने ¥यालीहरू आयोजना गर्ने स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसनका प्रमुख सदस्यमध्ये महमुद एक थिए। उनी र अन्य एक जना विद्यार्थी नेता नाहिद इस्लाम दुवै नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा हसिना भागेपछि पदभार ग्रहण गर्ने सल्लाहकार मन्त्रिपरिषदका सदस्य छन्।
लाहोरको गद्दाफी क्रिकेट रङ्गशालामा बुधबार ३७ वर्षीय शकिबलाई प्रशिक्षण गर्दै गरेको देखिएको थियो। हसिनाको राजीनामापछि उनी देखिनुएका थिएनन्। शाकिब क्यानाडाबाट सिधै पाकिस्तानमा बंगलादेशी टोलीमा सामेल भएका छन्। क्यानाडामा उनी टी–२० प्रतियोगिता खेलिरहेका थिए।
शकिब सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता हुन्। तर उनले बंगलादेशमा भएको विरोध प्रदर्शनहरूमा प्रहरी कारवाही सुरु भएको दुई दिनअघि जुलाई १४ पछि कुनै सार्वजनिक पोस्ट गरेका छैनन्।