‘१२ बुँदे सहमति भारतले होइन हामीले गरेको, माओवादीसँग कुरा गर्नेलाई ओलीले कारबाही गर्नुपर्छ भन्थे’

हिमाल प्रेस ३० साउन २०८१ १६:०७
20
SHARES
‘१२ बुँदे सहमति भारतले होइन हामीले गरेको, माओवादीसँग कुरा गर्नेलाई ओलीले कारबाही गर्नुपर्छ भन्थे’ माधवकुमार नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा एमालेका नेता केपी शर्मा ओलीले माओवादीसँग वार्ता गर्नेहरूलाई कारबाही गर्नुपर्छ भन्ने प्रस्ताव ल्याएको आरोप लगाएका छन्।

आज बुधबार प्रतिनिधिसभाको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्नेक्रममा माओवादी र एमालेबीच कसरी वार्ता प्रारम्भ भएको थियो भन्नेबारेमा जानकारी गराउँदै नेपालले यस्तो बताएका हुन्। उनले त्यसबेला एमालेका नेताहरू वामदेव गौतम र युवराज ज्ञवालीलाई आफूले वार्ताका लागि खटाएको स्मरण गर्दै त्यसरी खटिनेहरूलाई कारबाही गरिनुपर्ने प्रस्ताव ल्याएको बताए।

‘राति म धवलशमशेर जबराको घरमा बास बसेर भोलिपल्ट लखनउ गरेर कुराकानी गरेको थिएँ,’ उनले भने, ‘लखनउमा कुराकानी गरेर फर्किएर वामदेव गौतम र युवराज ज्ञवालीलाई खटाइएको हो। त्यसरी वार्ता गर्नेलाई कारबाही गर्नुपर्छ भन्ने अरु कोही होइन अहिलेका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो। उहाँ माओवादीको कामबाट बढी आक्रोशित हुनुहुन्थ्यो हामी पनि कम आक्रोशित थियौँ र ? तर शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनुपर्ने थियो।’

नेपालले २०५४ सालदेखि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग युद्धसँग जोडिएका विषयमा लगातार संवाद भएको खुलासा गरेका पनि छन्  पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले २०५६ मा पटनामा पहिलो पटक प्रचण्डसँग बैठक बसेको बताए।

‘२०५७ साल वैशाख ७ गते दिल्लीमा दोस्रो भेट भयो, २०५७ कात्तिक २ मा पटनामा, २०५८ वैशाख १३ गते गोरखपुरमा भेट भएको थियो’, नेपालले भने, ‘गोरखपुर घटनाका सम्बन्धमा हिसिला यमीले के भन्नुभएको थियो स्मरणमा आउँछ। २०५८ साउन ३१ सिलगुढीमा भयो।’ सिलगढीमा आफूले प्रचण्डलाई १० बुँदा पढेर सुनाएको भन्दै न्यायपूर्ण युद्ध गर्नुछ भनेपनि अनुचित काम नहोस् भनेर सम्झाएको स्मरण गराए।

उनले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने कुरा गर्दैगर्दा ६३ हजारभन्दा बढी मुद्दा दर्ता भएको भन्दै गम्भीर अपराध ठानिएका केसलाई कसरी लिने, कसरी पीडितलाई न्याय दिने भनेर सोच्नुपर्ने बताए। उनले १२ बुँदे सहमतिका सवालमा कतिपयले भारतले गराएको भनेर भन्ने गरेपनि त्यसमा सत्यता नभएको दाबी समेत गरे।

‘साना दुःखले ल्याएको शान्ति प्रक्रिया होइन। मन सफा हुनुपर्छ, देश र जनताको माया हुनुपर्छ’, उनले भने,‘जब शान्ति प्रक्रियामा हस्ताक्षर भयो त्यसमा हामी सहभागी भएकालाई पनि साक्षी राख्नुस् भन्दा सानो चित्त भएकाले राखेनन्।’ उनले त्यसबेला आफू रिसाएपछि गिरीजाबाबु र प्रचण्डले बोलाएपछिमात्र सहभागी भएको पनि बताए। उनले संविधान संशोधनको कुरा गरेर मध्यरातमा हस्ताक्षर गरेको भन्दै नेपालमा दुई दलीय व्यवस्था आउन नदिने बताए।

‘के छलफल गर्नुपर्दैनथियो, मध्यरातमा हस्ताक्षर गर्ने हो ? दुई दलीय शासन ल्याउन खोजेको हो ? नेपालमा दुई दलीय शासन आउन सक्दैन’, अध्यक्ष नेपालले भने, ‘आउन हामी दिँदैनौँ।’ बहुदलीय व्यवस्था आफूहरूले ल्याएको भन्दै नेपालले यस व्यवस्थालाई अझै समृद्ध बनाउन चाहने बताए। उनले कांग्रेस सभापति शेरबहादुर देउवा सारै सोझो भएको भन्दै ख्याल गर्न सुझाव दिए। उनले दुई दलीय प्रणाली स्थापित गर्ने कुरा सुनिरहेको भन्दै बंगलादेशको घटनाले सचेत बनाएको बताए।

प्रकाशित: ३० साउन २०८१ १६:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 1 =