हात्तीलाई वनभोज

हिमाल प्रेस २८ साउन २०८१ १९:०७
20
SHARES
हात्तीलाई वनभोज

चितवन- चितवनको पर्यटकीय नगरी सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ।

१३ औं अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा सोमबार चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा निजी स्तरका हात्तीहरूलाई खिर, केकसहित वनभोज खुवाइएको हो।

हात्ती वनभोजमा उखु, सख्खर, चना, फर्सी, ड्रागनफूड, स्याउ, केरा, खरभुजासहितको मिष्ठान्न परिकार बनाइएको थियो। युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा हात्ती वनभोज कार्यक्रमको आयोजना गरेको हो।

सरकारी र निजी स्तरमा पालेका ६० वटा हात्तीलाई वनभोज र हात्ती संरक्षणसम्बन्धी बहस र छलफल गरी दिवस मनाइएको हो। बाघमरा मध्यवर्ती सामुदायिक वनको परिसरमा आयोजित समारोहमा सौराहामा निजी स्तरमा पालेका र निकुञ्जका हात्तीहरूलाई एकैठाउँमा राखेर वनभोजका रुपमा मिष्ठान्न भोजन गराइएको थियो।

कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले चितवन निकुञ्जको संरक्षण र पर्यापर्यटनमा हात्तीको भूमिका अग्रणी स्थानमा रहेको बताए। उनले राज्यले घरपालुवा हात्तीलाई पनि राज्यकै सम्पत्तिको रूपमा ग्रहण गर्नुपर्ने धारणा राखे।

त्यस्तै चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले आहार, खानपान र स्वास्थ्य उपचारको हिसाबले हात्ती पाल्न मुस्किल रहेको भन्दै निजी स्तरमा हात्ती पालेर पर्यटनको विकास गर्न सक्नु सामान्य कुरा नभएको बताए।

चितवन निकुञ्जमा दरबन्दी रहेका ५० वटा, राष्ट्रिय प्रकृति संरक्षण कोषमा सात वटा र सौराहामा निजीस्तरमा पालेका ४५ वटा हात्ती छन्। हरेक वर्ष अगष्ट १२ मा हात्ती संरक्षणमा जोड दिँदै अन्तर्राष्ट्रिय हात्ती दिवस मनाउँदै आइएको छ।

प्रकाशित: २८ साउन २०८१ १९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − seven =