जसपा नेपालनिकट युवा-विद्यार्थीहरूले मागे मधेशका मुख्यमन्त्री सिंहको राजीनामा

हिमाल प्रेस २८ साउन २०८१ १९:०७
8
SHARES
जसपा नेपालनिकट युवा-विद्यार्थीहरूले मागे मधेशका मुख्यमन्त्री सिंहको राजीनामा

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट युवा विद्यार्थीहरूले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको राजीनामा माग गरेको छ।

प्रदेश सरकारविरूद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेको जसपा नेपालनिकट युवा विद्यार्थीहरूले मुख्यमन्त्री सिंहको राजीनामा माग गरेको हो।

मुख्यमन्त्री सिंह संघीयताविरोधी गतिविधिमा लागेको भन्दै जसपा नेपालआवद्ध विद्यार्थी र युवा संगठनहरूले चरणवद्ध आन्दोलन गरिरहेको छ। यसै क्रममा उनीहरूले सोमबार जनकपुरधाममा सिटी जुलुस प्रदर्शन गरेको हो। सिटी जुलुस प्रदर्शनको क्रममा जसपा नेपालनिकट युवा तथा विद्यार्थीहरूले मुख्यमन्त्री सिंहको राजीनामा माग गरेका थिए।

मुख्यमन्त्री सिंहले जम्बो मन्त्रीमण्डल गठन गरेर संघीयतालाई बदनाम गरेको, विगतका सरकारले स्थापना गरेको मधेशको गौरव योजनाहरूलाई ध्वस्त पार्ने प्रयास गरेको उनीहरूले आरोप लगाएका छन्।

जनमत नेतृत्वको सरकार संघीयताविरोधीहरूको इशारामा संघीयता समाप्त पार्नतर्फ उद्दत रहेको आन्दोलनरत युवा विद्यार्थीहरूको भनाइ छ।

स्थानीय जनक चोकबाट सुरू भएको युवा विद्यार्थीहरूको सिटी जुलुस भानु चोक हुँदै मुख्यमन्त्री कार्यालयको गेटमा पुगेर सकिएको थियो। मिल्स एरियामा प्रहरीले लगाएको सुरक्षा घेरा तोड्ने क्रममा प्रदर्शनकारी र प्रहरीबीच केहीबेर घम्साघम्सीसमेत भएको थियो।

यसअघि सडकमै कुर्सी बोकेर मुख्यमन्त्रीविरूद्ध प्रदर्शन गरेका जसपा नेपालनिकट युवा तथा विद्यार्थीहरूले सोमबार सिटी जुलुस निकालेको हो। चरणवद्ध आन्दोलनअन्तर्गत मंगलबार मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको उनीहरूले जनाएका छन्।

प्रकाशित: २८ साउन २०८१ १९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast