अन्तत: झुके हर्क साम्पाङ, फिर्ता भयो खानेपानीको मूल्यवृद्धि

विवेक विवश रेग्मी २७ साउन २०८१ २१:१५
88
SHARES
अन्तत: झुके हर्क साम्पाङ, फिर्ता भयो खानेपानीको मूल्यवृद्धि

इटहरी- धरानमा खानेपानी महसुलको मूल्य वृद्धि फिर्ता भएको छ। महसुलमा ११ प्रतिशतदेखि ९ हजार ९ सय प्रतिशतसम्म वृद्धि भएपछि गत साउन ११ गतेदेखि यहाँका १० राजनीतिक दलसहित स्थानीय उपभोक्ताहरू आन्दोलिन थिए। तर आइतबार (आज) धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङसहित बसेको सर्वदलीय बैठकले मूल्य वृद्धि फिर्ता लिने निर्णय गरेको नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोखरेलले जानकारी दिए।

‘मूल्य वृद्धि फिर्ता भएर पुरानै अवस्थामा कायम भएपछि सबै आन्दोलनका कार्यक्रम फिर्ता भएका छन्,’ उनले भने, ‘आज दिउँसोदेखि बसेको सर्वदलीय बैठकबाट खानेपानी महसुल पुरानै अवस्थामा कायम गर्ने निर्णय भएको हो।’

उनका अनुसार खानेपानी बोर्डको आयव्ययसमेत सात दिनभित्र सार्वजनिक गर्ने निर्णय भएको छ। आर्थिक वर्ष २०७९/८० र आर्थिक वर्ष ०८०/८१ को आयव्यय सार्वजनिक गर्ने निर्णय भएको हो। मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्रविक्रम बेघासहित १० राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधिहरूसहित खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेल बैठकमा सहभागी थिए।

‘आफ्नो एकल निर्णयका कारण आलोचित बनेका मेयर साम्पाङ दलका प्रतिनिधिहरूसँग झुकेका छन्,’ बैठकमा सहभागी एक प्रतिनिधिले भने, ‘खानेपानी महसुल पुरानै दरमा कायम भएपछि नगरवासी खुसी भएका छन्।’

निर्णयमा भनिएको छ, ‘खानेपानी तथा सेवा महसुल निर्धारण आयोगलाई लिखित पत्र पठाइ जवाफको आधार मानी जवाफ नआइन्जेल पुरानै महसुल यथावत् राखी पुनर्विचार गर्ने निर्णय गरियो।’

कसरी आन्दोलनमा उत्रियो धरान?

धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष भनेर दाबी गर्ने मेयर साम्पाङले एकलौटी रूपमा चालू आर्थिक वर्षबाट लागू हुने गरी खानेपानी महसुल वृद्धि गरेका थिए। महसुल वृद्धिविरुद्ध यहाँका राजनीतिक दलहरूले यसअघि ७२ घण्टे अल्टिमेटम दिए पनि मेयर साम्पाङले बेवास्ता गर्दै आएका थिए।

धरानमा २०७४ सालमा कायम भएको खानेपानीअन्तर्गतका विभिन्न शुल्क र हाल कायम भएको नयाँ शुल्कमा ४० रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म वृद्धि गरेको पाइएपछि विरोध जनाउन बाध्य भएको दलका प्रतिनिधिहरूले बताउँदै आएका छन्।

खानेपानी व्यवस्थापन बोर्डको बैठकसमेत नबसीकन मेयरले नै एकलौटी निर्णयमा साउन १ गतेदेखि लागू हुने गरी ११ प्रतिशतदेखि ९ हजार ९ सय प्रतिशतसम्म खानेपानीको महसुल वृद्धि गरेको राजनीतिक दलहरूको आरोप छ।

महसुल वृद्धिअनुसार नयाँ धारा जडानमा पाँच हजार रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म वृद्धि गरिएको छ। हाफ इन्चको पाइपमा नयाँ धारा जडान गर्दा १५ हजार रुपैयाँ रहेकोमा हाल आएर २० हजार रुपैयाँ वृद्धि गरिएको पाइएको छ।

यसअघि साउन १७ गते विभिन्न सरोकारवाला संघसंस्थाहरूसँग अन्तरक्रिया, साउन १८ गते सबै वडा कार्यालयमा वडास्तरबाट ध्यानाकर्षणपत्र बुझाएर साउन २० गते धर्ना कार्यक्रम आयोजना गरिएको थियो। तर, पटकपटक धर्ना र ध्यानाकर्षण बुझाएपनि मेयर साम्पाङले बेवास्ता गरेपछि बिहीबार भने स्थानीय उपभोक्ताहरूसहित बृहत प्रदर्शन गरिएको थियो।

यसअघि धरानका १० राजनीतिक दलहरूले चरणबद्ध आन्दोलनको कार्यक्रमहरू सार्वजनिक गरेका थिए। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, सलोराम संघीय लिम्बुवान मञ्च र राष्ट्रिय साझा पार्टीले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए।

अब आइतबार मूल्य वृद्धि फिर्ता लिने भएसँगै सबै आन्दोलनका कार्यक्रम फिर्ता लिइएको बताइएको छ। खानेपानी व्यवस्थापन बोर्ड ऐन २०६३ अनुसार व्यवस्थापन बोर्डमा ७ जना सदस्य हुने भए पनि नगर प्रमुख साम्पाङले एकलौटी निर्णय गरेको आरोपसमेत लाग्दै आएको छ।

प्रकाशित: २७ साउन २०८१ २१:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 1 =