अधूरै रह्यो २१ भाषामा गीत गाएर वर्ल्ड रेकर्ड राख्ने प्रकाशको सपना

सुस्मिता बजगाईं २७ साउन २०८१ १९:४५
316
SHARES
अधूरै रह्यो २१ भाषामा गीत गाएर वर्ल्ड रेकर्ड राख्ने प्रकाशको सपना

काठमाडौँ- २०४५ सालमा सप्तकोशीमा ठूलो बाढी आएको थियो। त्यही बाढीले नदी छेउका सुनसरीको प्रकाशपुरलगायत वस्तीहरू आफूमा समाहित गर्‍यो। न घर भन्यो न मान्छे। आफूले सक्नेजति बगाएको थियो। त्यही बाढीमा बगिरहेका थिए प्रकाश तिमिल्सिना। त्यतिबेला उनी एक वर्षका थिए। सो बाढीमा उनले बुबाआमा र हजुरबुबा गुमाएका थिए।

बाढीले प्रकाशको ज्यान पनि लिन नखोजेको होइन। सायद नियतिलाई यो मञ्जुर थिएन। त्यसैले त उनी माझीको जालमा परे। र, बाँचे। तर उनले आँखाको ज्योति भने गुमाउनुपर्‍यो।

बाढीले दिएको चोटको दाग उनको अनुहारमा प्रस्टै थियो। सानैमा आँखा गुमाएपछि उनी सामान्य मानिस जसरी खेल्न सक्थेनन्। हजुरआमाको साथमा हुर्केका प्रकाशको सानैदेखिको साथी रेडियो थियो।

गीत, संगीत के हो भन्ने थाहा नपाएका प्रकाश रेडियोमा बजेको धुनबाटै आकर्षित भएका थिए। तीन वर्षदेखिनै उनीमा गीतप्रति रुचि जागेको थियो। उनले गुनगुनाएको गीत सुनेर गाउँलेहरु छक्क पर्थे रे। उनीहरुले प्रकाशलाई गीत पनि गाउन लगाउँथे। गीत गाएबापत् चकलेट, बिस्कुट दिने गर्थे।

अभावमा हुर्किएका प्रकाशलाई यसरी खान पाइने थाहा पाएपछि गीततर्फ अझ हौसिए। धरानमा बढी हिन्दी गीत चल्ने भएकाले उनी त्यस्तै गीत बढी गाउँथे।

क्यासेटले गीत गाउँछ भन्ने सोच्ने गरेका प्रकाशले ९ वर्षको उमेरमा क्यासेटले होइन मान्छेले गीत गाउने रहेछ भन्ने थाहा पाए। त्यसपछि उनीभित्र गायक बन्ने सपना पलाएको थियो। गीत भनेको के हो भन्ने नै थाहा नपाई संगीतको नसामा डुबेका प्रकाशको स्वर धरानवासीले मन पराउँथे।

उनी २०६५ सालमा इमेज च्यानलबाट प्रसारण हुने ‘नेपाली तारा’ रियालिटी सोका विजेतासमेत बने। प्रकाशलाई भारतको कोलकातामा सम्पन्न साउथ एसियन स्टारले पुनः चर्चामा ल्यायो। उक्त सो को चौथो स्थानसम्म पुगेका प्रकाशले बेस्ट इङ्लिस प्रोनाउन्सेसनको अवार्ड जितेका थिए।

संगीतमा उनको परिचय त छँदैछ। साइन्स फिक्सन नोबेल पढ्न रुचाउने प्रकाश देशको राजनीतितिर पनि रुचि राख्थे। उनी विज्ञानमा विश्वास राख्थे। उनी २०३० सम्म लञ्च हुने गुगल आइजको पर्खाइमा थिए, जसबाट उनी संसार देख्ने चाहना राखेका थिए। तर उनको त्यो चाहना भने अपुरै रह्यो।

प्रकाशले अर्को ठूलो चाहना पनि पूरा गर्न पाएनन्। त्यो हो, २१ भाषामा गीत गाएर गिनिज बुकमा वर्ल्ड रेकर्ड राख्ने। गायक प्रकाशको ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ’, ‘मान्छे रैछ खल्ली’, ‘भ्रम’, रिमेक भर्सनको ‘बल्ल बल्ल भेट भको दिन’, ‘तिमीलाई देखेर आँखा त्यही छाडी हिँडे म’, ‘नमान लाज यसरी’जस्ता गीत चर्चित छ।

नेपालीमात्र होइन उनी जापानी, अंग्रेजी, चाइनीज, थाइलगायत विविध भाषामा गीत गाउँथे। स्पेनका एक गायकले २० भाषाका गीत गाएर रेकर्ड राखेका छन्। उनी त्यो तोड्ने चाहना राखेका थिए।

तर यी चाहना चाहनामै सीमित भएका छन्। साउन २६ गते उनको असामयिक निधन भएको छ। जसबाट नेपाली संगीत जगतले एउटा प्रतिभावान व्यक्ति गुमाउन पुगेको छ।
२०४४ वैशाख १ गते सुनसरीको प्रकाशपुर गाउँपालिकामा जन्मिएका प्रकाशको ३७ वर्षको उमेरमै निधन भएको हो।

प्रकाशको सांगीतिक यात्रा

‘प्रयत्न’ एल्बममा समावेश ‘खुसीमा तिमी’ बोलको गीत प्रकाशले पहिलोपटक रेकर्ड गरेका थिए। त्यतिबेला उनी आठ वर्षका थिए। उक्त गीतले चर्चा पाउन सकेन। दिव्यदृष्टि एल्बममा पनि उनको गीत छ त्यसको पनि हालत उस्तै भयो।

२०६६ सालमा उनले गाएको ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ’ बोलको गीतले उनलाई चर्चा दिलायो। गीत पनि निकै चर्चित बन्यो। त्यसपछि उनका थुप्रै चर्चित गीत छन् जसले उनको गायक बन्ने सपना पूरा गर्‍यो।

उनलाई चर्चा दिलाउने गीतका वास्तवमा संगीतकार राजनराज शिवाकोटीले रेकर्ड गरिरहेका थिए। त्यस दिन पोखराका सुनिल रानाभाटले प्रकाशलाई संगीतकार राजनराजसँग स्टुडियोमा भेटाएका थिए। प्रकाशको स्वर राम्रो रहेको भन्दै रानाभाटले आफूलाई चेक गर्न रानाभाटले आग्रह गरेको शिवाकोटी बताउँछन्। शिवाकोटीले प्रकाशलाई अन्य केही गीत गाउन लगाए। प्रकाशको जादुमय स्वर, संगीतप्रतिको लगाव देखेर संगीतकार शिवाकोटी चकित भए र आफँैले गाइरहेको गीत दिन तम्तयार भए।

‘त्यस दिन भाइ सुनिलको आग्रहमा मैले प्रकाशलाई केही गीत गाउन दिएँ। उनको स्वरले म चकित भएँ। गीत गाउने प्रकाशको जोस, जाँगर, हर्षित र फुर्तिलो अनुहारमा मैले मलाई एक सम्भावना बोकेको गायक देखेँ। जसले मलाई आकर्षित गर्‍यो,’ संगीतकार शिवाकोटीले भने, ‘आफूले रेकर्ड गर्न सुरु गरेकै गीत गाउन दिएँ। गीत सार्वजनिक भयो र चर्चित पनि। उक्त गीत दर्शक/श्रोताले निकै मन पराउनुभयो।’

प्रकाशले यही गीतबाट कालिका एफएम बेस्ट म्युजिक अवार्ड र अन्नपूर्ण बेस्ट न्यू आर्टिस्ट अवार्ड पनि पाएका थिए। यो गीत ‘आरती–६६’ एल्बममा समावेश गरिएको छ।

दृष्टिविहीन प्रकाशको गायनप्रति लगनशीलता, जादुमय स्वर, मेहेनत देखेर सम्भावना भएका व्यक्तिलाई आफूले साथ दिनुपर्छ भन्ने मानवीय नाताले शिवाकोेटीले केही गीत प्रकाशलाई गाउन दिए। ती गीतले प्रकाशलाई चर्चाका शिखरमा मात्र पुर्‍याएन। विदेशमा कार्यक्रम गर्न भ्याइनभ्याइ बनाएको थियो। उनी नेपालमा भन्दा बढी विदेशको कन्सर्टमा व्यस्त हुन्थे।

संगीतकार शिवाकोटीकै आधा दर्जनजति संगीतमा प्रकाशले स्वर दिएका छन्। अझ केही गीत सार्वजनिक गर्न बाँकी रहेको संगीतकार शिवाकोटी बताउँछन्।

संगीतकार शिवाकोटीका अनुसार प्रकाश हँसिलो चेहेरा, सकारात्मक सोच भएको र शाकाहारी भोजन गर्ने स्वभावका थिए। विभिन्न भाषामा गीत गाउने क्षमता भएका प्रकाश बीबीसी, सीएनएनमा अंग्रेजी समाचार सुनेर भाषामा दक्षता हासिल गर्थे।

‘प्रकाशलाई एकपटक गीत सुनेपछि दोस्रोपटक सुन्न पर्दैनथ्यो। सबै कन्ठस्थ पार्थे,’ शिवाकोटी भन्छन्, ‘उनको खुबी थियो बहुभाषामा गीत गाउन सक्ने। कामलाई भोलि भनेर साँच्न नजानेका व्यक्ति।’

नेपाली संगीत जगतले प्रकाशलाई चिन्न नसकेको संगीतकार शिवाकोटीको बुझाइ छ। पछिल्लो समय उनका गीतहरू बजारमा त्यति आएका थिएनन्। उनी चर्चामा रहँदा संगीतमा एल्बमको जमाना थियो।

यी हुन् प्रकाशले गाएका चर्चित ९ गीत

प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ

गायक प्रकाश तिमल्सिनालाई चर्चामा ल्याउने पहिलो गीत ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ’ हो। प्रकाश केसीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीले संगीत भरेका छन्।

प्रसन्नको निर्देशन, प्रज्जवल श्रेष्ठको सम्पादन र विदुर पाण्डेको छायांकनमा बनेको गीतको भिडियोमा कलाकार सविन श्रेष्ठ र ऋचा शर्माले अभिनय गरेका छन्। ‘आरती–६६’ एल्बम समावेश गीत २०६६ सालमा सार्वजनिक भएको थियो।

तिम्रै हातको सिन्दुर लाउँछु, तिम्रै हातको टीका लागाउँछु

प्रकाशको अर्को चर्चित गीत हो, ‘तिम्रै हातको सिन्दुर लाउँछु, तिम्रै हातको टीका लागाउँछु’। राजनराज शिवाकोटीको शब्द र संगीत र शाहसको संगीत संयोजन छ।

मिलन, अनुस्का र राजले अभिनय गरेको गीतको भिडियो केसी आयुबको निर्देशन, सुशील न्यौपानेको सम्पादन, अर्जुन तिवारी र मानसको छायांकनमा बनेको छ। गीत रेबेल इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

बल्ल बल्ल भेट भको दिन

११ वर्षअघि विश्व शर्माको युट्युब च्यानलबाट सार्वजनिक ‘बल्ल बल्ल भेट भको दिन’ प्रकाशको चर्चित गीतमध्ये पर्छ। उदित नारायण झाको शब्द तथा संगीत रहेको गीतमा प्रकाशले रिमेक गरेका हुन्।

प्रकाशको रिमेक भर्सनलाई दर्शकले निकै रुचाएका छन्। गीतको भिडियोमा विश्व शर्मा र रीमा बिकले अभिनय गरेका छन्। द रेबेल क्रियसनको प्रस्तुतिमा बनेको गीतको भिडियो सतिश श्रेष्ठको निर्देशन र सुशान्त प्रजापतिको छायांकनमा बनेको छ।

तिमीलाई देखेर आँखा त्यही छाडी हिँडे म

गायक प्रकाशको अर्को चर्चित गीत रिमेक गीत हो ‘तिमीलाई देखेर आँखा त्यही छाडी हिँडे म’। उदित नारायण झा यस गीतमा ओरिजिनल गायक हुन्। रेबेल एन्टरटेनमेन्टबाट पाँच वर्ष अघि सार्वजनिक प्रकाशको रिमेक भर्सनलाई दर्शकले निकै रुचाए। गीतमा कृष्णप्रसाद पराजुलीको शब्द र नातीकाजीको संगीत छ।

दीपेन्द्र केसीको निर्देशन, प्रकाश तुलाधरको सम्पादन र हरि हुमागाईँको छायांकनमा बनेको गीतको भिडियोमा आर्यन सिग्देल र प्रतिमाको अभिनय छ।

मान्छे रैछ खल्ली

प्रकाशको स्वरमा रहेको ‘मान्छे रैछ खल्ली’ बोलको गीत पनि निकै चर्चित छ। राजनराज शिवाकोटीको शब्द र संगीत रहेको गीतमा चन्द सिंहको संगीत संयोजन छ।

निराजन प्रधान र वर्षा राउतले अभिनय गरेको गीतको भिडियो बिभोर पोखरेलको निर्देशन, हरि हुमागार्इंको छायांकन, टेकेन्द्र शाहको सम्पादनमा बनेको छ।

भ्रम

प्रकाशकै शब्द र स्वर रहेको ‘भ्रम’ बोलको पप गीत निकै चर्चित छ। रुपम सिंह गुरुङको संगीत संयोजन रहेको गीत एसियन म्युजिक नामक युट्युब च्यानलबाट सात वर्ष अघि सार्वजनिक गरिएको थियो। अनिल के मानन्धरले छायांकन र बिभोर पोखरेलको सम्पादन र निर्देशनमा बनेको गीतको भिडियोमा पुष्प खड्का र ताजको अभिनय छ।

जुन भन्दिन म

प्रकाशकै शब्द र संगीत रहेको ‘जुन भन्दिन म’ बोलको पनि चर्चित छ। चार वर्ष अघि सिडी विजय अधिकारीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो। चन्द्र चौधरीले मिक्सिङ तथा मास्टरिङ गरेको गीतम शाहस शाक्यको संगीत संयोजन छ।

नमान लाज यसरी

प्रकाश तिमल्सिना र जमुना शर्माको रिमेक भर्जनमा सार्वजनिक ‘नमान लाज यसरी’ गीत पनि चर्चित छ। यो गीतका ओरिजिनल गायक गायिका प्रेमध्वज प्रधान र उशा मंगेसकर हुन्।

गीतमा किरण खरेलको शब्द र जयदेवको संगीत छ। प्रकाशले रिमेक गरेको गीत सन् २०१९ मा सार्वजनिक भएको थियो। श्रृष्टि श्रेष्ठ र श्याम कार्कीको अभिनय रहेको गीतको भिडियो बिभोर पोखरेलको निर्देशन, जीवन थापाको सम्पादन र अनिल के मानन्धरको छायांकनमा बनेको छ।

म मर्न जाँदैछु

गीतकार प्रकाश केसीको शब्द रहेको गीत ‘म मर्न जाँदैछु’ मा प्रकाशकै स्वर छ। यस गीतका गीतकार प्रकाशले निधनको केही समयअघि गायक प्रकाशकै स्वरमा रेकर्ड गर्न भनि संगीतकार संगीतकार शिवाकोटीलाई छोडेर गएका थिए।

प्रकाशित: २७ साउन २०८१ १९:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 15 =