काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक ललितपुरमा सुरू भएको छ।जनकपुरधाम महाधिवेशनपछि जसपा नेपालको नवगठित केन्द्रीय कार्यसमितिको बैठक आइतबारबाट सुरू भएको हो।
केन्द्रीय समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवले ६१ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका छन्।
अध्यक्ष यादवले संघीयता कार्यान्वयन, संविधान संशोधन, सामाजिक न्यायको हक, निर्वाचन क्षेत्र निर्धारण, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, बहुभाषिक नीति, हवाई सडक यातायात सेवा सुरक्षालगायतका विषयमा प्रस्ताव पेश गरेका हुन्।
संविधान संशोधनसम्बन्धी प्रस्तावमा उनले स्थानीय तहलाई प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहने गरी राख्न आवश्यक संवैधानिक तथा कानुनी व्यवस्था गर्नुपर्ने उल्लेख गरेका छन्।
त्यस्तै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख/राष्ट्रपतीय प्रणाली, समावेशी तथा पूर्ण समानुपातिक निर्वाचन प्रणाली, समानुपातिक समावेशी प्रतिनिधित्व भएको संघीय न्याय प्रणाली, राष्ट्रिय/जातीय पहिचानमा आधारित स्वायत्तता र स्वशासनसहितको राज्यको संरचना र राज्य शक्तिको बाँडफाँटलगायतका प्रावधानहरू संशोधन गर्न उनले प्रस्ताव गरेका छन्।
संविधान संशोधनका लागि संविधान विज्ञहरू सम्मलित ‘संविधान पुनरावलोकन आयोग’ गठन गरी राय सुझाव र सिफारिसका आधारमा संविधान गर्नुपर्ने अध्यक्ष यादवको सुझाव छ।
उनले संघीयता कार्यान्वयनका लागि प्रदेश सरकारहरूलाई प्रहरी हस्तान्तरण, संघीय निजामती ऐन संसदबाट पारित गरी कर्मचारी समायोजनसम्बन्धी कार्य सम्पन्न गर्नुपर्ने, प्रदेश सरकारमा मन्त्रालयको संख्या घटानलगायतका प्रस्ताव बैठकमा प्रस्तुत गरेका छन्।
ललितपुरको सानागाउँस्थित थसी बैंक्वेटमा सुरू भएको केन्द्रीय समिति बैठक ३० साउनसम्म चल्ने छ। बैठकमा राष्ट्रिय महाधिवेशनले तय गरेको पार्टीको वैचारिक, सैद्धान्तिक, अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक अवस्थालगायतका विषयमा छलफल हुने जसपा नेपालले जनाएको छ।