ग्रन्थमा पुराना राजनीतिज्ञ रत्नप्रसाद खरेल

हिमाल प्रेस २७ साउन २०८१ १७:५२
136
SHARES
ग्रन्थमा पुराना राजनीतिज्ञ रत्नप्रसाद खरेल

काठमाडौँ– पुराना राजनीतिज्ञ रत्नप्रसाद खरेलको जीवनीपरक पुस्तक ‘निष्काम कर्मयागी रत्नप्रसाद खरेल’ विमोचन गरिएको छ। विमाेचन कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूले रत्नप्रसादकाे राजनीति, समाजसेवा र पारिवारीक जीवनबारे चर्चा गरे।

काठमाडौँमा आइतबार आयोजित कार्यक्रममा वरिष्ठ अधिवक्त कृष्णप्रसाद भण्डारी, वरिष्ठ गीतकार यादव खरेल, पूर्वमन्त्री प्रकाशचन्द्र लोहनी, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेती, डा.जयराज आचार्य, लेखन कुञ्जका अध्यक्ष कमल ढकाल र रत्नप्रसादका छोरीहरू डा.रमा खरेल, रोश्नी खरेललगायतले संयुक्त रूपमा पुस्तक  विमोचन गरे।

वरिष्ठ अधिवक्ता भण्डारीले रत्नप्रसादलाई उदारवादी राजनीतिज्ञकाे रूपमा स्मरण गरे। उनले भने,‘रत्नप्रसाद खरेल उदारवादी नेता हाे। उहाँ महान् व्यक्ति हाे।’

पुस्तकमाथि टिप्पणी गर्दै डा.जयराज आचार्यले राष्ट्रिय पञ्चायतमा रत्नप्रसादले बोलेका कुरा अहिले पनि सान्दर्भिक भएको बताए। उनले भने,‘रत्नप्रसाद खरेल राष्ट्रिय पञ्चायतमा कडा अभिव्यक्ति दिने राजनीतिज्ञ हुनुहुन्थ्यो। विदेशमा नेपालीले दुःख पाएको उहाँले त्यतिबेलै बोल्नुभयो। अहिले त्यो सान्दर्भिक छ।’ डा.आचार्यले रत्नप्रसाद खरेलको जीवनी आजका मन्त्री, सांसद, नेता सबैले पढ्नुपर्ने बताए।

कार्यक्रममा बोल्दै डा.राम थपलियाले रत्नप्रसाद खरेल बौद्धिक कर्ममा विश्वास गर्ने र दूरदर्शी नेता भएको बताए। उनले भने,‘रत्नप्रसाद खरेल दूरदर्शी नेता हुनुहुन्थ्यो। देश निर्माणमा उहाँको दृढ इच्छाशक्ति थियो।’

उनले खरेलको जीवनी भोलिका सन्ततीलाई पाठ र मार्गनिर्देश हुने बताए। खरेलको जीवनीपरक पुस्तक त्रिभुव विश्वविद्यालयमा पाठ्यपुस्तक बन्नुपर्ने बताउँदै उनी परिवारको मात्र नभएको देशकै सम्पत्ति भएको बताए।

रत्नप्रसाद खरेलका भतिज तथा वरिष्ठ गीतकार यादव खरेलले रत्नप्रसादसँगका सम्झना सुनाए। छोरीहरूले पुस्तक प्रकाशन गरेर बुबाप्रति सबैभन्दा ठूलो श्रद्धाञ्जली दिएको बताए। उनले भने, ‘छोरीहरूले पुस्तक निकालेर बुबाप्रति सबैभन्दा ठूलो श्रद्धाञ्जली दिएका छन्। उहाँले जीवनमा सबैभन्दा ठूलो पुण्यकार्य गर्नुभयो।’

यादवले रत्नप्रसादबारे लाेकार्पित पुस्तकमा सबै कुरा नसमेटिएको बताए। उनले पुस्तक दोस्रो संस्करणका रूपमा प्रकाशित हुँदा त्यतिबेला सबै कुरा समेटिने विश्वास गरे।

रत्नप्रसाद खरेल पञ्चायतकालमा पनि क्रान्तिकारी नेता भएको बताउँदै यादवले भने,‘काभ्रेममा उहाँले हलो जोत्नुभयो। त्यतिबेला ब्राह्मणले हलो जोत्नुलाई स्वभाविक मानिदैनथ्यो। अनि पञ्चायती व्यवस्था जनताप्रति उत्तरदायि नभएको हुनाले आफूले यो व्यवस्था छाडेको हो भन्नुभयो। अहिले हेर्दा उहाँ क्रान्तिकारीजस्तो लाग्छ।’ शिक्षा, स्वास्थ्य, समाजसेवाको क्षेत्रमा रत्नप्रसाद खरेलले धेरै काम गरेको पनि यादवले सुनाए।

कार्यक्रमा राजनीतिज्ञ डा.प्रकाशचन्द्र लोहनीले रत्नप्रसादसँगका राजनीतिक जीवनबारे चर्चा गरे। रत्नप्रसाद स्वाभिमानी र कट्टर देशभक्त नेताको रूपमा लोहनीले स्मरण गरे।

उनले भने, ‘रत्नप्रसाद स्वाभिमानी र कट्टर देशभक्त नेता हुनुहुन्थ्यो। शासन राजाको मात्र होइन जनताको पनि हो भन्नुहुन्थ्यो। राजदरबार व्यापारी होइन भन्नुहुन्थ्यो। भारत र चीन बराबर शक्ति हो भन्नुहुन्थ्यो। क्रान्तिकारी चेतना भएको मान्छे हुनुहुन्थ्यो।’

सँगै जेलजीवन बसेको प्रसंग सुनाउँदै लोहनीले जेलमा रहँदा पनि रत्नप्रसाद विद्यार्थीले झै सधैँ अध्ययन गर्ने सुनाए। लोहनीले भने, ‘रत्नप्रसाद असाध्यै अध्ययनशील हुनुहुन्थ्यो। उहाँ प्रखर वक्ता पनि हुनुहुन्थ्यो। मिलनसार हुनुहुन्थ्यो।’

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीले पञ्चायती राजनीतिलाई जनपक्षीय बनाउन सक्रिय नेताको रूपमा रत्नप्रसादलाई सम्झिए।

कार्यक्रमा रत्नप्रसादकी छोरीहरू डा.रमा खरेल, रोश्नी खरेलले बुबाको राजनीतिक, सामाजिक र पारिवारीक योगदान सम्झिए। खरेल परिवारले १० लाख रुपैयाँको अक्षकोष स्थापना गर्ने र विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकालाई सम्मान गर्ने पनि कार्यक्रममार्फत जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 3 =