चाइना जर्नल

चीनको खुलापन र वैश्विक विकासमा प्रतिबद्धता

अजय अलौकिक २८ साउन २०८१ १०:१८
16
SHARES
चीनको खुलापन र वैश्विक विकासमा प्रतिबद्धता

विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा चीन वैश्विक विकासको महत्त्वपूर्ण इन्जिन हो। साथै, चीन खुलापनले उन्नति-प्रगति ल्याउनेमा दृढ विश्वास पनि राख्छ। हालका वर्षमा लगभग ३० प्रतिशतको योगदान गरिरहेको चीन विश्वव्यापी खुलापनको सशक्त समर्थक रहँदै विश्वसमक्ष अवसर उपलब्ध गराइरहेको छ।

चीन सुधार, विकास, र नवप्रवर्तनलाई प्रोत्साहित गर्न उच्चस्तरीय खुलापनको विकासमा प्रतिबद्ध छ र खुला विश्व अर्थतन्त्रको निर्माणमा जुटिरहेको छ।

यसबाहेक, विश्वव्यापी कमजोर आर्थिक पुनःउद्धार र जटिल भूराजनीतिक चुनौतीका बीच चीन आफ्नो शैलीको आधुनिक विकाससँगै समग्र विश्वको विकासमा पनि लागिपरेको छ।

गत जुलाई १५-१८ सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकपछि चीनको खुलापनको नयाँ प्रतिबद्धतासहित एक व्यापक सुधार दस्तावेज जारी गरिएको छ। चीनले उत्कृष्ट व्यावसायिक वातावरण निर्माण गर्ने, विदेशी लगानीकर्ताका अधिकार र चासोको रक्षा गर्ने, आफ्नो वस्तु, सेवा, पुँजी र श्रमबजारलाई विश्वव्यापी रूपमा खोल्ने र व्यापार क्षेत्रहरूको वैश्विक सञ्जाल फैलाउने प्रतिबद्धता जनाएको छ।

पश्चिमा देशहरूले व्यापार संरक्षणवाद र औद्योगिक तथा आपूर्ति शृंखलामा चालेको कदमलाई दृष्टिगत गर्दा चीनको व्यापार उदारीकरण र लगानी सहजताका प्रयासहरू अत्यधिक महत्त्वपूर्ण बनेका छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘चीनको आधुनिकीकरणलाई अघि बढाउन सुधार र खुलापनको व्याख्या’ शीर्षकमा सम्बोधन गर्दै सुधार र खुलापनले चीनलाई तीव्र गतिमा अघि बढ्न सक्षम बनाएको बताए। उनले भने, ‘नयाँ अवधिको सुधार, खुलापन र समाजवादी आधुनिकीकरणमा यो सुधार र खुलापन थियो जसले चीनलाई समयसँग ठूलो प्रगति गर्न सक्षम बनायो।’

चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले केन्द्रीय कार्यका रूपमा चीनलाई एक महान् आधुनिक समाजवादी देश बनाउने दोस्रो शताब्दी लक्ष्य पूरा गर्ने र चिनियाँ शैलीको आधुनिकीकरणमार्फत चिनियाँ राष्ट्रको पुनःउत्थानलाई अघि बढाउने कुरा निर्धारण गरेको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको १८औँ राष्ट्रिय महाधिवेशनदेखि सुधार र खुलापनले पार्टी र देशको पक्षमा ऐतिहासिक उपलब्धि र परिवर्तन सुनिश्चित गरेको छ। तसर्थ नयाँ युगमा चिनियाँ आधुनिकीकरणको नयाँ यात्रा अघि बढाउन सुधार र खुलापनमा निर्भर छ।

सोही महाधिवेशनदेखि चीनले जनताको हितमा ध्यान केन्द्रित गर्दै सुधारको व्यापक गहिराइ अगाडि बढाएको पनि हो। सीले सुधारको अन्तिम लक्ष्य जनताको हितमा रहेकामा जोड दिँदै जनताको प्राथमिकतालाई आफ्नै बनाउने र उनीहरूको इच्छाअनुसार काम गर्ने बाचासमेत गरेका थिए।

‘१८औँ राष्ट्रिय महाधिवेशनपछि हामीले संस्थागत निर्माणमा केन्द्रित भएर विभिन्न क्षेत्रका प्रणालीमा व्यापक सुधार गरेका छौँ। फलस्वरूप चिनियाँ विशेषतासहितको समाजवादी व्यवस्थालाई अझ परिपक्व बनाइयो र चीनको शासनप्रणाली थप आधुनिकीकरण गरियो। यसरी सबै हिसाबले औसत रूपमा समृद्ध समाज निर्माण गर्न बलियो संस्थागत सहयोग प्रदान गरेको छ’, सीले भनेका थिए।

राष्ट्रपति सीको नेतृत्वमा तीन हजारभन्दा बढी सुधार योजना विभिन्न क्षेत्रमा गरिएका छन्, जसमा अर्थतन्त्र, राजनीति, संस्कृति, समाज, पर्यावरण, पार्टी निर्माण, राष्ट्रिय रक्षा र सैन्य क्षेत्र समावेश छन्। यी सुधारले चीनभरि महत्त्वपूर्ण प्रगति ल्याएका छन्।

विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा चीनले धेरै वर्षको विकासपछि एक बलियो आधार स्थापना गरेको छ र आफ्नो खुलापनका माध्यमबाट विश्वसँग अवसर साझेदारी गर्ने दृष्टिकोणलाई अंगीकार गरेको छ। नि:सन्देह, यसले चीनको विकासलाई मात्र प्रोत्साहन गरेको छैन विश्वव्यापी आर्थिक वृद्धिमा पनि योगदान पुर्‍याएको छ।

चीन १४० भन्दा बढी देश र क्षेत्रहरूको मुख्य व्यापार साझेदार हो। चीनमा वस्तुहरूको कुल विदेशी व्यापार मात्रा लगातार सात वर्षदेखि विश्वव्यापी रूपमा पहिलो स्थानमा छ। अन्तर्राष्ट्रिय जगत्‌ले साझा भविष्यसहितको समुदाय निर्माण गर्ने राष्ट्रपति सीको दृष्टिकोणलाई प्रशंसा गरेका छन्। बेल्ट एन्ड रोड पहल (बीआरआई), वैश्विक विकास पहल, वैश्विक सुरक्षा पहल र वैश्विक सभ्यता पहललगायत चीनले प्रस्ताव गरेका पहलले विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्ने र मानव सभ्यताको विकासको खाकामा चीनको बुद्धिमत्ता झल्काएको उनीहरूको भनाइ छ। हालसम्म चीनले १५० भन्दा बढी देश र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाहरूसँग बीआरआई सहयोग सम्झौतामा हस्ताक्षर गरिसकेको छ।

पार्टीको २०औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले चीनको विशाल बजारबाट लाभ उठाउँदै अन्तर्राष्ट्रिय सहकार्य विस्तारका माध्यमबाट खुलापनमा जोड दिएको छ। यसबाट विदेशी उद्यमहरूको लगानी र परिचालनलाई सुधार गर्ने र उच्चस्तरीय खुलापन प्रदान गर्नेछ। यसले विश्वव्यापी आर्थिक पुनःउद्धारलाई समर्थन गर्दछ।

चीनको उच्च गुणस्तरीय विकास चीनको आधुनिकीकरणका लागि मात्र महत्त्वपूर्ण होइन। यसले विदेशी व्यवसायका लागि प्रचुर अवसर प्रदान गर्दछ। अनि विश्वको आर्थिक स्थिरता र विकासमा योगदान पुर्‍याउँछ जसले चीनलाई आधुनिकीकरणतर्फको आफ्नो यात्रालाई निरन्तर जारी राख्न पनि मद्दत गर्दछ।

चीनको सुधार र खुलापनको ४०औँ वर्षका अवसरमा सन् २०१८ को एसियाका लागि पोआओ फोरमको वार्षिक सम्मेलनको उद्‌घाटन समारोहमा चिनियाँ राष्ट्रपति सीले भनेका थिए, ‘आज चिनियाँ जनताले ठूलो गर्वका साथ सुधार र खुलापनबारे भन्न सक्छन्, चीनको दोस्रो क्रान्तिले देशलाई मात्र होइन, सम्पूर्ण विश्वलाई ठूलो प्रभाव पारेको छ।’

४६ वर्षअघि चिनियाँ कम्युनिस्ट पार्टीको ११औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले सबैभन्दा पहिले सुधार र खुलापनको सिद्धान्तलाई अंगीकार गरेको थियो। तत्कालीन चिनियाँ नेता तङ स्याओफिङले थालेको चिनियाँ विशेषतायुक्त अर्थ नीति ‘सुधार र खुलापन’, त्यसपछिका पार्टीको हरेक तेस्रो पूर्ण बैठकको चर्चित विषय पनि बन्दै आएको छ। यसरी पार्टीको तेस्रो पूर्ण बैठकप्रति चासो चीनमा मात्र नभएर विश्वभर रहने गरेको छ। पार्टीको १८औँ राष्ट्रिय महाधिवेशनदेखि चीनको नयाँ युगसँगै चिनियाँ आधुनिकीकरणको नयाँ यात्रा अघि बढाउन सुधार र खुलापनमा निर्भर रहँदै आएको छ।

चीनले सुधार र खुलापनको कदमलाई कहिल्यै रोक्ने छैन। चीनको खुलापनका कदम स्थिर र दृढ छन्। यस वर्षको सुरुमा चीनले विदेशी लगानीकर्ताका लागि विभिन्न व्यावहारिक नीतिहरू लागू गरेको छ। चिनियाँ अर्थतन्त्रलाई सबल र समयसापेक्ष बनाउन नयाँ गुणस्तरीय उत्पादक शक्तिलाई भित्र्याएको छ। चीनको अर्थतन्त्र नयाँ संवाहकमा रूपान्तरण भइरहेको छ। चीनले नयाँ गुणस्तरीय उत्पादक शक्तिहरूको विकासलाई तीव्रता दिइरहेको छ र उदीयमान उद्योगहरूलाई सक्रिय रूपमा प्रवर्द्धन तथा समर्थन गरिरहेको छ।

यसैगरी विदेशी कम्पनीहरूले चीनको लगानीलाई भविष्यको लगानीको रूपमा हेर्न थालेका छन्। धेरै विदेशी कम्पनीहरूको नजरमा चीनमा लगानी गर्नु भनेको भविष्यमा लगानी गर्नु बनेको छ। यस वर्षको पहिलो त्रैमासिकमा मात्र १२,००० नयाँ विदेशी लगानीका उद्यमहरू चीनमा स्थापित भएका छन्, जुन २०.७ प्रतिशतको वृद्धि हो र विदेशी पूँजीको प्रयोग ३०१.६७ बिलियन युआन पुगेको छ, जुन ऐतिहासिक रूपमा उच्च स्तरमा छ।

प्रसिद्ध व्यवस्थापन परामर्श कम्पनी कारनीद्वारा जारी सन् २०२४ वैश्विक वैदेशिक प्रत्यक्ष लगानी आत्मविश्वास सूचकांकअनुसार चीनको स्थान सातौँ स्थानबाट तेस्रो स्थानमा उक्लिएको छ। उदीयमान बजारहरूको सूचीमा अगाडि आएको छ। विश्वव्यापी आर्थिक चुनौती रहे पनि चीन विदेशी लगानी र व्यावसायिक विकासका लागि एक हटस्पट बनेको छ। पछिल्लो वर्ष नयाँ विदेशी लगानीका उद्यमको संख्यामा ३९.७ प्रतिशतको वृद्धि भएको छ।

चीनको उच्च स्तरको खुलापनले प्रस्तुत गरेका अवसरलाई विदेशी लगानीकर्ताहरूले व्यापक रूपमा स्वीकार गरेका छन्। विदेशी कम्पनीहरूले चीनमा अनुसन्धान र विकासका क्षेत्रहरूमा नवप्रवर्तन केन्द्रहरू स्थापना गर्दैछन्। उच्च प्रविधि क्षेत्रमा विदेशी लगानी भित्रिरहेको छ।

उच्च गुणस्तरीय विकास चीनको आधुनिकीकरणको लागि मात्रै होइन विश्वव्यापी आर्थिक पुनःउत्थानका लागि पनि प्रशस्त अवसरहरू प्रदान गर्दछ। चीनले विश्वलाई थप अवसरहरू उपलब्ध गराउने छ र विश्व अर्थतन्त्रको स्थिर र सुदृढ विकासमा योगदान पुर्‍याउने छ किनभने यो निरन्तर आधुनिकीकरणतर्फ अघि बढिरहेको छ।

यसरी वैश्विक अर्थतन्त्रमा ठूलो भूमिका रहेको चीनको उच्चस्तरीय खुलापन नीतिहरूले नेपाललाई पनि महत्त्वपूर्ण अवसरहरू प्रदान गरेका छन्। नेपाललाई चीनको विस्तार भएको व्यापारिक अवसरहरूको लाभ उठाउने मौका मिलिरहेको छ। चीनले नेपालको पूर्वाधार परियोजनामा ठूलो लगानी गरेको छ जसले नेपालको पूर्वाधार सञ्जाललाई बलियो बनाउने र आर्थिक समृद्धिमा सहयोग पुर्‌याउनेछ। व्यापार र लगानीको अवसरलाई विस्तार गर्ने चीनको बेल्ट र रोड (बीआरआई) अन्तर्गत नेपालमा विभिन्न परियोजनाहरू सञ्चालित छन्।

नेपालको प्रमुख व्यापार साझेदार मध्येको एक चीनबाट नेपालले चीनको खुलापनको फाइदा उठाउँदै आफ्नो निर्यात र आयातको सञ्जाललाई बढाउन सक्नुपर्छ। चीनको सुधार र खुलापनको अनुकूल प्रभावले समग्रमा नेपालको विकासलाई गति दिने सम्भावनालाई पहिल्याउनु आवश्यक छ।

प्रकाशित: २८ साउन २०८१ १०:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 4 =