काठमाडाैँ- बंगलादेशका नवनियुक्त प्रधानन्यायाधीशसहित उनका दुई सल्लाहकारले शपथ लिएका छन्।
आइतबार दिउँसो बंगभवन दरबार हलमा राष्ट्रपति मोहम्मद शाहबुद्दीनले नवनियुक्त प्रधानन्यायाधीश सैयद रेफत अहमदलाई शपथ दिलाए। त्यसपछि उनका दुई सल्लाहकार सुप्रदीप चकमा र डा.बिधान रञ्जन रायले शपथ लिएका थिए।
सैयद सर्वोच्च अदालतको ‘हाइकोर्ट डिभिजन’ का वरिष्ठ न्यायाधीश हुन्। शनिबार बंगलादेशका प्रधानन्यायाधीश ओबैदुल हसनले पदबाट राजीनामा दिएका थिए।
उनको राजीनामालगत्तै सैयद प्रधानन्यायाधीशमा नियुक्त भएका थिए। बंगलादेशका आन्दोलनरत विद्यार्थीहरूले सर्वोच्च अदालत घेराउ गरेर प्रदर्शन गरेपछि हसन बाध्य भएर पदबाट राजीनामा गरेका थिए। आन्दोलनरत विद्यार्थीहरूले उनी शेख हसिनालाई पुनः सत्तामा फर्काउन कानुनी दाउपेच प्रयोग गरिरहेको आरोप लगाएका थिए।
पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि गत बिहीबार अन्तरिम सरकारका १४ जना सल्लाहकारले शपथ लिएका छन्। तीन जना सल्लाहकार ढाकाबाहिर भएकाले शपथ लिन बाँकी रहेको बताइएको छ।