दमक भ्युटावर : सञ्चालन टुंगो नलागेको डेढ अर्बको आयोजना

रमेश भारती ३१ साउन २०८१ १२:२२
124
SHARES
दमक भ्युटावर : सञ्चालन टुंगो नलागेको डेढ अर्बको आयोजना झापाको दमक नगरपालिका–३ दापगाछीमा निर्माण भएको एक सय मिटर (१८ तले) अग्लो भ्युटावर।

काठमाडौँ- डेढ अर्ब लगानीमा झापाको दमकमा निर्माण गरिएको भ्युटावर सञ्चालनमा अन्योल देखिएको छ। दमक नगरपालिका-३ दापगाछीमा एक सय मिटर (१८ तले) अग्लो भ्युटावर तयार भए पनि कार्यविधि बनाएर सञ्चालन गर्न सरकारी गम्भीर नबनेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा ‘ड्रिम प्रोजेक्ट’ का रूपमा अघि सारेको आयोजना शिलान्यास भएदेखि नै सर्वत्र आलोचना हुँदै आएको छ। ओलीले अघिल्लो कार्यकालमा मेलम्ची खानेपानी आयोजना, धराहराजस्ता संरचना तयार नै नभई उद्घाटन गरेका थिए। आफ्नै क्षेत्रमा निर्माण भएको भ्युटावर सञ्चालनका लागि प्रधानमन्त्री ओलीले चासो नदिएको आयोजनाका अधिकारीहरू बताउँछन्।

अहिले भ्युटावर व्यावसायिक रूपमा कसरी सञ्चालन गर्ने भन्नेबारे सरकारी निकाय अन्योलमा छन्। साथै स्थानीय सरकार पनि सञ्चालनको जिम्मेवारी लिन तयार भएको छैन। आयोजना कार्यालय झापाका प्रमुख सुदीप पौडेलले दमक भ्युटावरको ९८ प्रतिशत काम सकिएर सञ्चालनका लागि तयारी भएको बताए।

‘भ्युटावर सञ्चालनका लागि तयार भए पनि यसलाई कसरी सञ्चालन गर्ने भन्ने मापदण्ड बनेको छैन’, उनले भने। दमक भ्युटावरमा सबै काम सकिए पनि भित्री भागमा रङ लगाउन, भित्री भागमा सामान्य निर्माणको काम बाँकी छ। पार्किङ क्षेत्र निर्माण बाँकी रहेको आयोजना प्रमुख पौडेलले जानकारी दिए। टावरको बाँकी निर्माण केही दिनमा सक्ने गरी काम भइरहेको छ।

पौडेलका अनुसार सहरी विकास मन्त्रालयले भ्युटावर सञ्चालन कार्यविधि तयार गरेपछि उद्घाटन गर्न तयारी  छ।

सहरी विकास मन्त्रालयकी प्रवक्ता विनु वज्राचार्य कुँवर दमक भ्युटावर सञ्चालनको कार्यविधि तयार भइरहेको बताउँछिन्। मन्त्रालयले सकेसम्म छिटो सञ्चालन कार्यविधि बनाएर सञ्चालन गरिने उनले बताइन्।  ‘मन्त्रालयले भ्युटावर सञ्चालन मोडालिटी बनाउन काम चाँडै सम्पन्न गर्छ’, उनले भनिन्।

भ्युटावरको शिलान्यास २०७६ सालमा असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। चिनियाँ कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम निर्माण कम्पनी जेभीले टावर निर्माणको ठेक्का पाएका थिए। टावर निर्माण समयमा सम्पन्न नभएपछि पहिलो पटक २०७८ पुसबाट २०७९ असार मसान्तसम्म म्याद थपिएको थियो। त्यसपछि दुई पटक म्याद थप गरिएको आयोजनाले जनाएको छ।

पुस ०७८ मा निर्माण सक्ने गरी  सरकारले २०७६ सालमा एक अर्ब ३८ करोड रुपैयाँमा ठेक्का लगाएको थियो। लागत बढेर एक अर्ब ४५ करोड (भ्याट बाहेक) पुगेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय झापाले जनाएको छ।

गत महिना प्रधानमन्त्री बनेका ओलीलाई दमक भ्युटावर उद्घाटन गराउन सघन सहरी तथा भवन निर्माण आयोजना, दमक नगरपालिका र झापाका प्रतिनिधिले आग्रह गरेका छन्। ओलीले यस विषयमा चासो नदिएको सघन सहरी तथा भवन निर्माण आयोजना एक उच्च अधिकारीले जानकारी दिए।

सञ्चालन कार्यविधि र अन्य मापदण्ड मिचिएको विवाद बाहिर आएपछि ओलीले उद्घाटनका लागि हतार नगर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन्। ती कर्मचारीले भने, ‘आफ्नै निर्वाचन क्षेत्रमा निर्माण सम्पन्न भएको भ्युटावर उद्घाटनमा प्रधानमन्त्रीको चासो देखिएको छैन।’  भ्युटावरमा व्यवसाय गर्न कसैले चासो नदिएको आयोजनाका कर्मचारी बताउँछन्।

दमक नगरपालिकाको मुख्य बजारभन्दा ६ किलोमिटर टाढा भ्युटावर निर्माण भएका कारण व्यापारीले व्यवसाय सञ्चालन गर्न नभएको उनीहरूको भनाइ छ।

‘औचित्यविहीन भ्युटावर’

महालेखा परीक्षकको कार्यालयले भ्युटावर निर्माणको औचित्यमाथि प्रश्न गर्दै आएको छ। टावर निर्माणबारे प्रधानमन्त्री ओलीले सरकारी लगानीलाई बचाउ गर्दै आएका छन्। तर प्रधानमन्त्रीसँग जोडेर यस टावरलाई ‘सेतो हात्ती’ भनेर आलोचना भइरहेको छ।

पूर्वाधारविज्ञहरू पनि भ्युटावरका नाममा सरकारले ठूलो रकम दुरुपयोग गरेको टिप्पणी गर्छन्। पूर्वाधारविज्ञ सूर्यराज आचार्य भन्छन्, ‘विकासका नाममा जथाभाबी भ्युटावर निर्माण गर्नु गलत हो। भ्युटावर निर्माण गर्नुअघि त्यसको फाइदाबारे अध्ययन गरेको देखिएन।’ उनको बुझाइमा दमक भ्युटावरमा व्यापारिक केन्द्र हुने ठाँउ छैन।

उनले भने, ‘टावर निर्माणमा डेढ अर्ब खर्च मात्र भयो। यसबाट फाइदा कति हुन्छ? अन्योल छ।’ सरकारको बजेट खर्च गर्ने सही संयन्त्र नभएपछि भ्युटावरजस्ता गलत ठाउँमा लगानी गरेको आचार्यले बताए।

भ्युटावर वातावरणीय हिसाबले निर्माण गर्नु उपयुक्त छ कि छैन भनेर अध्ययन नगरेको पाइएको छ। भ्युटावरको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गरिएको छैन। ईआईए गर्दा वातावरणीय असर पर्ने अवस्था देखिए आयोजना अस्वीकृत हुने व्यवस्था वातावरण ऐनमा छ। दमक भ्युटावर निर्माण गर्नुअघि वातावरणीय प्रभाव मूल्यांकन नगरिएको आयोजना प्रमुख पौडेल स्वीकार्छन्। उनले भ्युटावर निर्माणले वातावरणमा खासै प्रभाव नपार्ने दाबी गरे। मन्त्रालयी प्रवक्ता कुँवरका अनुसार भ्युटावर निर्माण सुरु हुनेबित्तिकै वन मन्त्रालयलाई ईआईएका लागि आयोजनाले पत्राचार गरेको थियो। यसका विषयमा अहिले अनुसन्धान भइरहेको उनले जानकारी दिइन्।

तत्काल जिम्मा लिन तयार छैन नगरपालिका

भ्युटावर सहरी विकास तथा भवन आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएको हो। मन्त्रालयले निर्माण सम्पन्न भएपछि सञ्चालनका लागि स्थानीय तहलाई जिम्मा दिने बताउँदै आएको छ। दमक नगरपालिकाले भने संघीय सरकारको लागतमा बनेको भ्युटावर सञ्चालन र व्यवस्थापन गर्न नसक्ने भनेर सहकारी विकास मन्त्रालयलाई पत्राचार गरिसकेको छ।

दमक नगरपालिका प्रमुख रामकुमार थापा भ्युटावर सञ्चालनका जिम्मेवारी लिने अवस्थामा नरहेको बताउँछन्। उनी भन्छन्, ‘हामीले तत्काल भ्युटावर सञ्चालनको जिम्मा लिन सक्ने अवस्था छैन।’ उनले त्यो ठाउँमा व्यापारिक केन्द्र बनाउन सहज नरहेको बताए। ‘व्यापारिक केन्द्र बनाउने उद्देश्यले भ्युटावर निर्माण गरिएको छ। त्यस स्थानमा तत्काल व्यापारिक केन्द्र बनाउन चुनौती देखिन्छ। हामी हचुवाका भरमा जिम्मा लिँदैनौँ’, उनले भने।

१८ तलाको भवन निर्माणसँगै परिसरमा टिकट काउन्टर, चिल्ड्रेन पार्क, कोसेली घर, सार्वजनिक शौचालय तयार भएको छ। टावरको हरेक तला चार मिटर उचाइमा छन्। टावरको १४ औँ र १५ औँ तलामा रेस्टुरेन्ट र क्याफे सञ्चालन हुनेछ। यसैगरी १६ औँ र १७ औँ तला  दृश्य अवलोकनका लागि छुट्ट्याइएको आयोजनाले जनाएको छ।

यस्तो छ आयोजनाको उद्देश्य

आयोजना प्रमुख पौडेलका अनुसार दमक भ्युटावरलाई तत्कालीन सरकारले ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, झापा, मोरङ, सुनसरीको व्यापारिक केन्द्र बनाउने उद्देश्यले निर्माण थालिएको थियो। उनले भने, ‘पूर्वी नेपालको व्यापारिक टावरका रूपमा यसलाई विकास गर्ने गरी योजना अघि सारिएको थियो।’

झापामा सबैभन्दा अग्लो टावर निर्माण गर्दा भारतीय पर्यटकको आकर्षण बढ्ने र यसलाई कोशी प्रदेशकै व्यापारिकसँगै पर्यटकीय केन्द्र बनाउने उद्देश्य रहेको उनले बताए। ‘ दमक टावरलाई उद्देश्यअनुसार सञ्चालन गर्ने योजना छ। यसका लागि आयोजना, स्थानीय, प्रदेश र संघीय सरकारले जोड गर्नुपर्छ’, उनले भने।

प्रकाशित: ३१ साउन २०८१ १२:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 15 =