दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ‘काउन्टडाउन’ सुरू, कर्णालीले प्रस्ताव गर्‍यो लोगो र मस्कट

रमा केसी २६ साउन २०८१ २०:३०
18
SHARES
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ‘काउन्टडाउन’ सुरू, कर्णालीले प्रस्ताव गर्‍यो लोगो र मस्कट

सुर्खेत– आगामी मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउन १०० दिन बाँकी रहँदा कर्णाली प्रदेश खेलकुद विकास परिषदले ‘काउन्टडाउन’ सुरू गरेको छ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य उद्घाटनस्थल निर्माणाधीन कर्णाली प्रदेश रंगशालामा शनिवार आयोजना गरिएको कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषदले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट राष्ट्रिय खेलकुद परिषदलाई कर्णालीबाट प्रस्तावको रुपमा प्रस्तुत गरेको छ।

कर्णाली प्रदेशले शनिवार प्रस्तावको रुपमा सार्वजनिक गरेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगोमा सातवटा रंगमा सात वटा प्रदेशका खेलाडी, कर्णालीको हिमाली भेगमा पाइने नेपालको राष्ट्रिय चरा डाँफे, नेपालको राष्ट्रिय झण्डा, बगिरहेको कर्णाली नदीअंकित लोगो राष्ट्रिय खेलकुद परिषदलाई प्रस्तावको रुपमा पठाइएको छ। उक्त लोगोको रचयता विकास तमखु रहेका छन्।

यस्तै कर्णालीले सार्वजनिक गरेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कट भने कर्णालीको हिमाली जिल्लामा पाइने दुर्लभ वन्यजन्तु रेडपाण्डा रहेको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषदले सरोकारवाला सबैको सुझाबमा रेडपाण्डालाई मस्कटको रुपमा राष्ट्रिय खेलकुद परिषदलाई पठाएको कर्णाली प्रदेश खेलकुद विकास परिषदले जनाएको छ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेश १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा गर्न तयार रहेको बताए।

यस्तै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरी तयार पारिएको गीतसमेत मन्त्री भण्डारीले सार्वजनिक गरेका छन्। कर्णाली खेल गीतका शब्द रचनाकार जाजरकोटका राम बहादुर शाही ‘क्षितिज समर्पण’ रहेका छन् भने गीतमा संगीत सन्तोष श्रेष्ठले भरेका छन्।

यस्तो छ तयारी

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको १०० दिने ‘काउन्टडाउन’ शुरु भएसँगै परिषद पाँच मुख्य कामलाई ध्यान दिएर अगाडि बढेको परिषदका सदस्य–सचिव विश्वामित्र संज्यालले बताए। संज्यालका अनुसार परिषदले पहिलो प्रथामिकतामा राखेका पाँच काममध्ये पूर्वाधार, बसोबास ,यातायात, स्वास्थ्य र सुरक्षा रहेका छन्।

‘दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वतयारीका बारेमा जानकारी दिँदै सदस्य–सचिव संज्यालले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल प्रदेश रंगशालाको ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी कार्य असोजसम्म सम्पन्न गर्ने कार्य योजना रहेको बताए।

यस्तै हुम्लामा हक्की खेल मैदान, रारामा कबड्डीको खेल मैदान र जुम्ला, कालिकोट, दैलेख र रुकुम पश्चिममा इनडोर कवर्डहल तयार भएको संज्यालको भनाइ छ।

सदस्य–सचिव संज्यालका अनुसार जाजरकोटमा भने टेवल टेनिसका लागि खेल पूर्वाधार तयार रहे पनि केहि मर्मत सुधार गर्नु पर्नेछ।

‘दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन मितिसम्म प्रदेश रंगशाला र वीरेन्द्रनगर आसपास करिब १६ वटा खेल खेलाउन मिल्ने पूर्वाधार तयार हुने छन्,’ सदस्य–सचिव संज्यालले भने, ‘क्रिकेट खेल मैदान २ वटा, रग्वी खेल मैलान १ वटा, चिसापानीमा फुटबल मैदान निर्माण सम्पन्न भइसकेको छ भने सुर्खेतपूर्व मेहनकुनादेखि पश्चिम बाबियाचौरसम्म विभिन्न संघ संस्था र पालिकाहरुले निर्माण गरेका मैदानहरु पनि थप व्यवस्थित गरेर प्रयोग गरिने छ।’

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ वटा खेलहरु भए पनि १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा आयोजक कर्णाली प्रदेशले भने २४ वटा खेलमात्र समावेश गरेको छ।

दशौँ राष्ट्रिय खेलकुद उद्घाटन हुनुभन्दा ६ दिन अगाडिबाटै केही खेलहरु सुरू गर्ने गरी प्रस्तावित तालिका र खेल संख्या राष्ट्रिय खेलकुदलाई पठाइएको सदस्य सचिव संज्यालले जानकारी दिए।

प्रकाशित: २६ साउन २०८१ २०:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =