काठमाडौँ- बंगलादेशका प्रधान न्यायाधीश अब्दुल हसनले पदबाट राजीनामा दिएका छन्। साँझ राजीनामा दिने तयारी गरेका हसनले त्यसअगावै पद छाडेका हुन्।
उनको राजीनामा कानुन एवं न्याय मन्त्रालयमा आइपुगेको बंगलादेशको न्याय मन्त्रालयका सल्लाहकार आसिफ नजरुलले जानकारी दिएको बीबीसीले जनाएको छ।
नजरुलका अनुसार प्रधानन्यायाधीश हसनको राजीनामा राष्ट्रपति कार्यालय पठाइएको छ।
आरक्षणविरोधी आन्दोलन गरिरहेका विद्यार्थीहरूले प्रधानन्यायाधीश हसनसँगै उच्च अदालतका न्यायाधीशहरूलाई शनिबार दिउँसो १ बजेसम्म राजीनामा गर्न अल्टिमेटम दिएका थिए।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै हजारौंको संख्यामा विद्यार्थीहरू बिहानै सर्वोच्च अदालत घेराउ गरेका थिए। यो विरोध प्रदर्शनमा सैयौंको संख्यामा वकिलहरू पनि सहभागी भएका थिए।
आरक्षणविरोधी आन्दोलनका संयोजक आसिफ मेहमुदले प्रधानन्यायाधीश हसनमाथि ‘फासीवादी’ को आरोप लगाउँदै ‘फुलकोर्ट’ को बैठक रोक्न माग गर्दै राजीनाका लागि अल्टिमेटम दिएका थिए।
आन्दोलनरत विद्यार्थीहरूले प्रधानन्यायाधीश हसन पूर्वप्रधानमन्त्री शेख हसिनालाई पुन ः सत्तामा फर्काउन कानुनी दाउपेच गरिरहेको आरोप लगाएका थिए।
बंगलादेशमा पछिल्लो केही दिनदेखि आरक्षणविरोधी आन्दोलन चलिरहेको छ। यो आन्दोलनमा अहिलेसम्म तीन सयबढीको ज्यान गएको छ। विरोध थाम्न नसकेपछि प्रधानमन्त्री हसिना देश छोड्न बाध्य भएकी थिइन्।