इतिहासको दस्तावेज : मुकाम रणमैदान

विवेक विवश रेग्मी २६ साउन २०८१ १४:०२
196
SHARES
इतिहासको दस्तावेज : मुकाम रणमैदान

नेपाल-अंग्रेज युद्धलाई नेपालले आजसम्म विदेशीसँग लडेको सबैभन्दा ठूलो र लामो युद्ध मानिन्छ। १८७१ कात्तिक १० गते नालापानी (अहिले भारतमा पर्छ) मा सुरु भएको युद्ध १८७२ फागुन २५ मा मकवानपुरमा टुंगिएको थियो। यी युद्धका घटना समेटेर लेखक मोहन मैनालीले ‘मुकाम रणमैदान’ पुस्तक लेखेका छन्।

त्यो युद्ध कसरी? कहिले? कहाँ? किन भयो? अनि सुगौली सन्धि कसरी र कहिले भयो? भन्नेबारे धेरैलाई अन्योलजस्तै थियो। पुस्तक प्रकाशन भएपछि यस्ता अन्योल हटेको छ। त्यसैले ‘मुकाम रणमैदान’ नेपाल र अंग्रेज लडाइँ बुझाउने आधिकारिक ग्रन्थ बनेको छ। जुन पुस्तक मदन पुरस्कारको उत्कृष्ट पाँचको सूचीमा परेको छ।

थुप्रै सन्दर्भ सामग्री प्रयोग गरेर विषयवस्तुलाई प्रामाणिक बनाउन लेखक मैनालीले सक्दो यत्न गरेका छन्। युद्धका घटना पुष्टि गर्न सघाउने सामग्री हुन् दुवैतर्फका सिपाही र कमान्डरहरूले लेखेका चिठी। मैनालीले ती चिठीको पहिचान गरी त्यसलाई जस्ताको तस्तै प्रस्तुत गरेका छन्। पाठकलाई कुनै अलमल नहुने गरी नक्सांकन पनि गरेर उनले पुस्तकका विषयवस्तुलाई आधिकारिक बनाएका छन्। त्यसैले उक्त पुस्तक इतिहासको प्रामाणिक दस्तावेज बन्न पुगेको छ।

मैनालले युद्धबारे यसअघि अंग्रेजी, नेपाली र हिन्दी भाषामा लेखिएका सामग्रीको गहन अध्ययन गरेर पुस्तक तयार पारेका हुन्। पुस्तकमा लेखकको खोजी, अध्ययन र अनुसन्धानको प्रभाव स्पष्ट पाइन्छ।

पुस्तकमा समेटिएका अधिकांश सामग्री यसअघि प्रकाशित भएका छैनन्। थुप्रै सामग्री त सार्वजनिक पनि भएका छैनन्। राष्ट्रिय अभिलेखालयका माइक्रोफिल्ममा अनि राता कपडाका पोकामा अनेक कागजपत्रका बीचमा कतै-कतै भेटिने, बीच-बीचमा पढ्न नमिल्ने गरी धुलिएका, नबुझिने भएका अनि अहिलेको भन्दा अलि फरक अक्षर, भाषा र शब्दमा लेखिएका ती चिठीका शब्द-शब्दका अर्थ बुझेर, तिथि र ग्रेगोरियन क्यालेन्डरका तारिखलाई विक्रम संवत्का गतेमा परिणत गरेर लडाइँबारे अहिलेसम्म बाहिर नआएका कुरा लेखिएको मैनालीले उल्लेख गरेका छन्।

पुस्तकमा लेखकीय, स्पष्टीकरण, अनुसूची र अनुक्रमणिकासहित ३० वटा शीर्षक छन्। २८० पृष्ठ लामो पुस्तकका पृष्ठहरूमा नेपाल-अंग्रेज युद्धका घटनाका नक्साहरू (कुन ठाउँमा युद्ध भए भन्नेबारे) समेत समावेश छन्।

अंग्रेजले नेपालमा आक्रमण गर्न छानेको नालापानीदेखि कथा सुरु भएको छ। किताबको अन्त्यचाहिँ ‘१९८९ सालमा सैनिकलाई एकएक वर्षका लागि नियुक्त गर्ने पजनी प्रथा हटाइयो। अब उनीहरूको नोकरी स्थायी भयो’ भनेर गरिएको छ। पुस्तकमा अंग्रेजसँग गोर्खाली सैनिक भिड्दा र नेपालले गुमाउनुपरेको भूभाग, सन्धिसम्झौतालगायतका घटना मिहीन ढंगले उतारिएको छ।

‘धेरै लडाइँ सन्धि गर्नका लागि लडिन्छन्। आफ्नो स्वार्थ पूरा हुने सर्त राखेर सन्धि गर्न। अंग्रेजले यो लडाइँ पनि नेपाल कब्जा गर्न होइन, नेपाललाई पाठ पढाउन, खुम्च्याउन, आफूविरुद्ध कहिल्यै उठ्न नसक्ने बनाउन र एसियामा आफ्नो सान राख्न थालेको थियो। त्यसैले ऊ सकेसम्म चाँडो सन्धि गर्न चाहन्थ्यो।’ पुस्तकको ‘सुलह प्रयास’ शीर्षकमा लेखक मैनालीले लेखेका छन् ।

सोही शीर्षकको व्याख्यामा सुगौली सन्धिको हुँदाको घटनालाई लिपिबद्ध गरिएको छन्। १८७२ साल मंसिर १९ गते गजराज मिश्र र चन्द्रशेखर ब्य्राडसकहाँ गएर सन्धिमा दुवै पक्षले हस्ताक्षर गरेका रहेछन्।

पुस्तकमा उल्लेख छ, ‘नेपालसँग सन्धि गर्ने अधिकार पाएका ब्य्राडसको मुकाम सुगौलीमा दुवै पक्षले हस्ताक्षर गरेको यसै सन्धिलाई सुगौली सन्धि भनिन्छ। यद्यपि नेपालका तर्फबाट यसको अनुमोदन लामो झमेला र विभिन्न मोर्चाको लडाइँपश्चात् करिब तीन महिनापछि मात्र भयो।’

सन्धिअनुसार महाकालीपश्चिम र मेचीपूर्वका सबै भूभाग अंग्रेजको अधीनमा रहेपछि नेपालले ती भूभाग गुमायो। मधेशको जमिन गुम्दा क्षति पुग्ने भारदारहरूका लागि वार्षिक दुई लाख रुपैयाँ भत्ता अंग्रेजले दिने भएको थियो। मैनालीले लेखेका छन्, ‘नेपाल र सिक्किमका बीचमा विवाद भएमा अंग्रेजको निर्णय नेपालले मान्नुपर्ने भयो। अंग्रेजको अनुमतिबिना नेपालले अंग्रेज, युरोपेली र अमेरिकी नागरिकलाई काममा लगाउन नपाउने भयो। दुई देशमा एकापसमा राजदूत रहने भयो।’

सन्धिमा उक्त व्यवस्था भए पनि नेपालले पुन: अंग्रेजसँग युद्ध लड्ने विचार गर्‍यो। मधेशको जग्गा छाडेर सन्धि गर्ने कुरा नेपालका कसैलाई मन नपरेका कारण पुन: युद्ध लड्ने उद्घोष गरिएको सन्दर्भ पुस्तकमा छ।

नेपाल र अंग्रेजबीच सुगौली सन्धि भए पनि नेपालले पुन: युद्ध लड्ने विचार गर्‍यो। ‘त्यत्रो भूभाग जोगाउन नसकेको आलो अनुभव हुँदाहुँदै पनि के आँटले, के बुद्धिले, के सोचाइले हो, नेपाल अंग्रेजसँग फेरि लडाइँ गर्न तयार भयो’, मैनालीले लेखेका छन्।

नेपालीहरू त्यसबेलादेखि नै बाठो रहेको समेत पुस्तकमार्फत बुझ्न सकिन्छ। कोशीपारि विजयपुरमा नेपालीको ठूलो किल्ला थियो। त्यसबेला अंग्रेजले एक नेपाली सिपाहीलाई बन्दी बनाएको थियो। अंग्रेजले नेपाली सिपाहीमाथि आक्रमण गर्ने तयारी थियो। त्यही क्रममा ती सिपाहीले ‘पूर्वी पहाडमा सात हजार बन्दुकधारी र पाँच हजार धनुषकारी नेपाली सिपाही छन् भनेर अंग्रेजलाई तर्साएका थिए। त्यहाँबाट फौज तल झेरर हान्ला भनेर अंग्रेज डराएको थियो।’

१९१० सालमा मुलुकी ऐन आएपछि लिखित रूपमा जात-व्यवस्थामुताबिक दण्डविधानले वैधानिकता पाएको थियो। यस्तो प्रचलनचाहिँ पहिल्यैदेखि थियो भन्ने थप प्रमाण यस पुस्तकमा भेटिन्छ। ‘देशद्रोह गरेको आरोप लागेको र सोधपुछ गर्दा कायल भएका एकजना जम्दार र हबल्दारलाई श्रीनगरमा झुन्ड्याइएको थियो। त्यस्तो अपराध गर्ने मानिस मान्र्या जातको भए मारिदिनू र नमान्र्या जातको भए नेल हाल्नू भन्ने आदेश राजाले दिएका थिए।’

लडाइँका बेलामा वैरीसँग मिल्नुलाई देशद्रोह मानिने हुँदा पाल्पाका अपदस्थ राजा शूरवीर सेनलाई चिठी पुर्‍याउने सिंह्या बराकोटी र काल्या रानालाई पाल्पामा सबैले देख्ने ठाउँमा झुन्ड्याई मारिएको थियो।

त्यसो त नेपाल-अंग्रेज युद्धताका जर्मनीका सेना प्रमुखले ‘विश्वका जुनसुकै देशका सेनासँग पनि म मेरा देशका सेना लडाउन सक्छु, तर गोर्खालीको नाम सुन्नेबित्तिकै मेरो मुटु थरथर काँप्छ भनेको कुरासमेत हालसम्म चर्चित छ। यी र यस्तै विशेषताका कारण गोर्खालीको शिर उँचो छ।

‘नेपाल-अंग्रेज युद्ध सकिएपछि युद्धबन्दी आदानप्रदान भएका थिए। यी चिठी पनि युद्धबन्दी जस्तै त हुन्। युद्धबन्दी बनाइएका मानिस केही समयपछि मरिहाल्थे। यी चिठी त जुगजुग बाँचिरहन्छन्। त्यसैले यी पत्रको आदानप्रदान गर्न जरुरी छ। हामी हाम्रो अभिलेखालयमा रहेका अंग्रेजी र फारसी भाषाका चिठीका प्रतिलिपि उनीहरूलाई सुम्पिदिऔँ, उनीहरूले नेपाली र नेवार भाषामा लेखिएका हाम्रा चिठी, अथवा चिठी छैनन् भने तिनका अनुवाद भए पनि हामीलाई दिऊन्,’ लेखक मैनालीले पुस्तकबारे एक लेखमा लेखेका छन्, ‘ती चिठी लेख्ने र पाउनेका सन्तान अथवा तिनका स्वदेशवासीले ती चिठी हेर्न पाऊन्। नेपालको अभिलेखालयमा रहेका लडाइँका चिठीका चाङमा रहेको, बेलायती प्रेयसीले आफ्ना बेलायती प्रेमीलाई लेखेको पत्र तिनका सन्तान वा बेलायती नागरिकका लागि पक्कै पनि अमूल्य हुन जाला।’

पुस्तकका हरेक विषय ऐतिहासिक छन्। सबै विषयमा एकएक सामग्री चर्चाको लायक पनि छन्। त्यति मात्रै पनि होइन, यो ग्रन्थ अनुसन्धानकर्ताका लागि आधिकारिक सामग्री हो। त्यसमा पनि अहिले देशमा भइरहने आन्दोलनका अभियन्ताहरूले उक्त पुस्तक पढ्नैपर्छ। कहिले जातका नाममा, कहिले धर्मका नाममा, कहिले सम्प्रदायका नाममा वा अरू कुनै नाममा हुने हिंसात्मक आन्दोलनका अभियन्ताले उक्त पुस्तक पढेमा नेपालले त्यसबेला अन्तर्राष्ट्रिय राष्ट्रसँग युद्ध लडेर नेपाललाई जोगाएको कुरा बुझ्दा युद्धबारे थाहा मात्रै पाउने होइन, नयाँ सन्देश पनि दिन सक्छ।

दुई सय १० वर्षअघिका घटनालाई आफ्नै भाषा, शिल्पमा उनेर पुस्तक तयार पार्नु चानचुने कुरा होइन। लेखक मैनालीका यसअघि प्रकाशित ‘मान्ठा डराएको जुग’ र ‘देखेको देश’भन्दा यो पुस्तक ऐतिहासिक हिसाबमा निकै अब्बल मान्न सकिन्छ। सम्भवत: लेखक मैनालीले अहिलेसम्म अध्ययन गरेर लेखेका लेख, पुस्तकमध्ये सबैभन्दा अब्बल पुस्तक हो ‘मुकाम रणमैदान’

पुस्तक : मुकाम रणमैदान
लेखक : मोहन मैनाली
विधान : इतिहास
पृष्ठ : २८० 
मूल्य : ७००/-
प्रकाशक : बुकहिल 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast