पर्यटन मन्त्री पाण्डेद्वारा पूर्वमन्त्रीहरुसँग छलफल : नियामक र सेवा प्रदायक निकाय अलग बनाउन सुझाव

हिमाल प्रेस २५ साउन २०८१ १९:५१
6
SHARES
पर्यटन मन्त्री पाण्डेद्वारा पूर्वमन्त्रीहरुसँग छलफल : नियामक र सेवा प्रदायक निकाय अलग बनाउन सुझाव

काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पूर्व पर्यटन मन्त्रीहरूसँग छलफल गरेका छन्।

छलफलमा पूर्वपर्यटनमन्त्रीहरूले नेपाल नागरिक उड्डयन ऐनमा नियामक निकाय र सेवा प्रदायक निकायहरू एक साथ राख्न नहुने बताउँदै यिनीहरूलाई अलग अलग बनाउनु पर्नेमा जोड दिएका छन्।

शुक्रबार मन्त्रालयमा भएको छलफलमा समग्र हवाई क्षेत्रको सुधारका लागि पूर्वमन्त्रीहरूको अनुभवसहितको सुझावका लागि मन्त्री पाण्डेले छलफल गरेका हुन्।

मन्त्री पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयनका विषयमा अलग अलग सुझाव मागेका थिए। सोही क्रममा पूर्वमन्त्रीहरूले नेपालमा जहाज दुर्घटना मानवीय, प्राविधिक र मौसमी कारणले हुने गरेको बताएका थिए। उनीहरूले मानवीय र प्राविधिक कारणहरू सुधार गर्न सकिने भए पनि मौसमी कारणबारे सचेत रहनु पर्नेमा जोड दिएका थिए। त्यस्तै उनीहरूले दुर्घटनापछि ज्यान गुमाईसकेका पाईलटमाथि मात्र दोष लगाउन नहुनेमा समेत स्पष्ट पारेका छन्।

पूर्वपर्यटन मन्त्रीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणमा आमूल परिवर्तन आवश्यक भएको र सो नभएसम्म मन्त्रालय चुस्त, दुरूस्त रूपमा काम गर्न नसक्ने सुझाव समेत दिए। उनीहरूले मन्त्रालयको संस्थागत विकासका लागि ऐक्यबद्ध भएर सहयोग पुर्‍याउने बताएका छन्।

छलफलमा पूर्वपर्यटन मन्त्रीहरूले नियामक निकाय र सेवा प्रदायक निकायलाई अलग अलग राख्ने विषय विधेयकमा राख्नुपर्ने सुझाव दिएका छन्। यसका साथै उनीहरूले नागरिक उड्डयनतर्फ वैधानिक र कार्यान्वयनका क्षेत्रमा गम्भीर भएर काम गर्नु पर्ने सुझाव दिए। उनीहरूले तल्लो तहका कर्मचारीहरूले माथिल्लो तहका कर्मचारीलाई राजनीतिक शक्तिको आवरणमा धम्काउने भएकाले त्यसतर्फ समेत सचेत भई अघि बढ्न अनुरोधसमेत गरेका छन्।

उनीहरूले जहाज खरिद र मर्मत गर्ने कुरामा सोचविचार गरेरमात्रै काम गर्न सुझाव दिए। नागरिक उड्डयन प्राधिकरण लगायतका क्षेत्रमा वेथिति रहेकाले सचेत भएर नडगमगाई काम गर्न समेत उनीहरूको सुझाव रहेको थियो। पूर्वमन्त्रीहरूले घटना भएपछि आयोग बनाउनु भन्दा पनि घटना नहुँदै आयोग बनाएर दुर्घटना हुन नदिने गरी काम गर्नु पर्ने सुझाव दिएका छन्।

त्यसैगरी उनीरूले नजिकका स्वार्थ समूहहरूबाट बच्न समेत सुझाव दिएका छन्। उनीहरूले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईसीएओ) को नियम पालना गरेर अघि बढ्न समेत आग्रह गरेका छन्। त्यस्तै उनीरूले हवाई माफियाबाट सचेत रहन सुझाव दिएका छन्। विभागीय मन्त्रीहरूलाई विना कारण नियोजित रूपमा फसाउने षड्यन्त्र हुने भएकाले त्यसतर्फ सचेत रहन समेत उनीहरूले ध्यानाकर्षण गराएका छन्।

छलफलमा सहभागी पूर्वमन्त्रीहरूले लुम्बिनी विकास कोष,पशुपति क्षेत्र विकास कोष, पर्यटन बोर्ड लगायतका क्षेत्रमा भएका वेथितिहरूको अन्त्य गर्दै अघि बढ्न जोड दिए। साथै विमानस्थल सुुधारका लागि आयल निगमको डिपोहरू सार्नु पर्ने, ट्याक्सी पार्किङमा सुधार गर्नुपर्ने, क्यानको वर्तमान संरचनामा सुधार गर्दै अघि बढ्न मन्त्री पाण्डेलाई सुझाव दिएका छन्।

प्रकाशित: २५ साउन २०८१ १९:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 14 =