काठमाडौँ- न्यायाधीश डा. रत्नबहादुर बागचन्द मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन्। न्याय परिषद्को आज (शुक्रबार) बसेको बैठकले उच्च अदालत पोखराको मुख्य न्यायाधीशका लागि सिफारिस गरेको हो।
उनी उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा न्यायाधीश थिए। अब उनी पोखरामा पदस्थापन हुनेछन्।
यस्तै बैठकले उच्च अदालत पोखराका न्यायाधीश राजनप्रसाद भट्टराईलाई उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा सरुवा सिफारिस गरेको छ। उनी राजश्व न्यायाधीकरण पोखराका कानुन सदस्य एवं अध्यक्ष पनि थिए। उनको सट्टामा अब न्यायाधीश सुदर्शनराज पाण्डेलाई न्यायाधीकरणको कानुन सदस्य एवं अध्यक्ष तोकिने भएको छ।
साथै ३५ जिल्लामा न्यायाधीश पदमा नियुक्ति सिफारिस गरिएको छ। २१ जिल्ला न्यायाधीशको सरुवा पनि सिफारिस गरिएको न्याय परिषद्ले जनाएको छ।