युरोपमा व्यस्त लोकगायिका रमिला

रमेश दवाडी २६ साउन २०८१ ८:०१
214
SHARES
युरोपमा व्यस्त लोकगायिका रमिला

सानैदेखि गीत गाउँदै हुर्केकी सिन्धुपाल्चोककी रमिला न्यौपाने यति बेला युरोपमा छिन्। उनी गाउँघरमा  आयोजना हुने कार्यक्रमहरूमा दोहोरी गीत गाउन अघि सर्थिन्। विद्यालय शिक्षा पूरा गरेपछि उनमा लोकसंगीतमा चासो बढ्यो। संगीत कक्षा सुरु गरिन्। त्यसपछि उनले सुर र ताल थाहा पाइन्। अनि मात्रै औपचारिक रूपमा गीत गाउन थालिन्।

उनले भनिन्, ‘संगीत क्षेत्रमा लागेपछि ज्ञान पनि चाहिन्छ भनेर शास्त्रीय संगीत अध्ययन गरेँ। सुर, ताल के हो थाहा पाएँ। अनि गाउन पनि सजिलो भयो।’

सुरुका दिनमा रमिलाले काँठे भाकाका लोकगीत  गाइन्। रामहरि भण्डारी, राजकुमार भण्डारीले उनलाई आफ्ना एल्बममा गाउन मौका दिएका थिए। रमिलाको सुरिलो स्वरलाई दर्शकश्रोताले मन पराए। त्यसपछि लोक तथा दोहोरीमा रमिलाले पछाडि फर्कनु परेको छैन।

लोकदोहोरीमा रमिलाको उदय हुँदा राजु परियार, विमलराज क्षेत्री, पशुपति शर्मा, पुष्कल शर्मा, शिला आले, देवी घर्ती, विष्णु माझी, खुमन अधिकारी, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङको दबदबा थियो। विशेषगरी गण्डकी प्रदेशमा लोक तथा दोहोरी गीत खुबै घन्किन्थ्यो। अन्य प्रदेशमा पनि रुचाइन्थ्यो। अग्रज गायकगायिका भइरहेको बेला दर्शकश्रोतामाझ स्थापित हुन रमिलालाई कम चुनौती थिएन।

उनले हिम्मत हारिनन्। मिलनसार स्वभावकी रमिलाले अग्रजलाई पछ्याइन्। निरन्तर मेहनतले स्थापित भएरै छाडिन्। १२ वर्षअगाडि रमिलाको स्वरमा तीज गीत ‘आज त आउँदिन है कालु…’ आएको थियो। रमिलाले त्यसअघि गाउन त थुप्रै गीत गाएकी थिइन् तर यो गीत दर्शकश्रोताले निकै रुचाए। सोही गीतले उनलाई चर्चाको शिखरमा पुर्‍यायो।

यसबाहेक उनका ‘झमझम दर्कियो पानी…, आँखा मारी मारी…, ओम शिव शंकर भोला… कपालु कोरेर…, पिरती घाटा… ’ बोलका गीत लोकप्रिय छन्। रमिलाले हालसम्म पाँच सय लोक तथा दोहोरी गीतमा आवाज दिएको बताइन्। उनको भनाइमा तीजका मात्रै ७० भन्दा बढी गीतमा आवाज छ। उनले भनिन्, ‘मैले पाँच सय गीत गाइसकेँ। तीजको गीत ७० वटाभन्दा बढी। कुनै आफ्नै शब्दमा कुनै अरूको।’

रमिला नेपालमा भएको भए यसपटक उनको तीज गीत बजारमा आउँथ्यो। उनी भन्छिन्, ‘विदेशमा छु। यपसल्ट तीज गीत ल्याउन सकिनँ। नेपालमै भएको भए गीत ल्याउँथेँ।’

उनले आफू गीतसंगीतबाट टाढा नभएको बताइन्। ‘म गीतसंगीतमै छु। टाढा भएको छैन। सम्भवतः तिहारपछि नयाँ गीत आउँछ। तीजको एल्बम निकाल्न नसकेको मात्र हो,’ उनले भनिन्।

नेपालबाहिर पनि रमिला लोकसंगीतमै व्यस्त छिन्। लाखौँ नेपाली विदेशमा रहँदा कलाकारलाई फाइदा छ। कलाकारलाई विदेशमा हुने नेपालीले धेरै माया गर्ने रमिला बताउँछिन्। उनी भन्छिन्, ‘सांगीतिक कार्यक्रम गरेर यहाँ बसेकी छु। मेरो योबाहेक अन्य पेसा केही छैन।’ नेपाली समुदायले आयोजना गर्ने विभिन्न कार्यक्रममा गीत गाउन व्यस्त हुने गरेको उनी बताउँछिन्।

संगीत क्षेत्रमा सधैँ आफैँले मात्र सबथोक गर्न सकिन्न। गीतकार, संगीतकार, निर्देशक आदि सबैको सहकार्यबाटै उत्कृष्ट गीत बन्छ। रमिलाले पनि पशुपति शर्मा, खुमन अधिकारीलगायत लोकप्रिय गायकसँग सांगीतिक सहकार्य गर्दै आएकी छिन्।

पछिल्ला केही गीत भने खुमन अधिकारीसँगको सहकार्यमा छ। जसलाई दर्शकले ‘सांगीतिक जोडी’ भन्छन्। यसबारे रमिलाचाहिँ भन्छिन्, ‘दर्शकश्रोताले वर्षौँदेखि मेरो गीत सुन्दैहेर्दै आउनुभएको छ। मेरा प्रायः गीत खुमन अधिकारीको सहकार्यमा छन्। उहाँको सिर्जनामा मैले गाउन पाएकी छु। जुन धेरैले असाध्यै रुचाउनुभएको छ। संगीत क्षेत्रमा उहाँ र मेरो सहकार्य फापेको ठान्छु।’

नयाँ वर्ष लागेपछि तीज गीतको तयारीमा जुट्छन् हाम्रा कलाकार। कसले राम्रो गीत ल्याउने होडबाजी चल्छ। तीज गीत भनेर सार्वजनिक गरिएका कतिपय गीत हेर्नै नसकिने हुन्छन्। उनीहरूको उद्देश्य संस्कृति संरक्षणभन्दा युट्युबमा भिउज बटुलेर डलर झार्नेमा हुन्छ। रमिलाचाहिँ यसलाई विकृति ठान्छिन्। नारीका वेदना, खुसी र संस्कृति नझल्किए त्यो तीज गीत नै नहुने उनको धारणा छ।

रमिला भन्छिन्, ‘तीज हाम्रो मौलिक संस्कृति हो। तीजका गीत मौलिक संस्कृति झल्कने हुनुपर्छ। अग्रजले तीजका गीत मौलिक सिर्जना गर्नुभएको थियो। अग्रजलाई पछ्याउनुपर्छ। चेलीबेटीको पीडा, खुसी बोकेको गीत सिर्जना गर्नुपर्छ। बजारमा अहिले धेरै गीत छन्। सबै नराम्रा पनि छैनन्।’

कलाकारितामा लागेर रमिलालाई कुनै पछुतो छैन। यसैबाट उनले नाम र दाम कमाएकी छिन्। कलाकारितामा अनुशासनसँगै मेहनत गर्न सके जीवन धान्न गाह्रो नहुने उनको अनुभव छ। उनले लोक कलाकारलाई अहिले अवसर नै अवसर भएको बताइन्।

‘लोक गीतसंगीत पेसाबाटै बाँचेकी छु। अनुशासित भएर मेहनत गरेर निरन्तरता दिनसके जीवन धान्न कठिन छैन। कैयौँ कलाकारको यही पेसाबाट घर, गाडी जोड्नुभएको छ। मलाई यही पेसाले देशविदेश ओहोरदोहोर गराएको छ। अहिले लोकगीत गाउने कलाकारलाई अवसर नै अवसर छ,’ रमिलाले भनिन्।

सकेसम्म बुझेर लोकसंगीतमा आउँदा सफल भइने रमिलाले बताइन्। यसतर्फ आउन इच्छुकहरूलाई पनि उनको यही सुझाव छ। ‘गीतसंगीतबार अध्ययन गरेर, बुझेर आउनुहोस्। निरन्तरता दिन सकिन्छ कि सकिँदैन ख्याल गर्नुहोस्। अग्रज कलाकारको प्रेरणा लिनुहोस्। सल्लाहसुझाव लिनुहोस्। लोकसंगीतलाई उचाइमा पुर्‍याउन सक्छु भन्ने आँट, हिम्मत गर्नुहोस्। सफल भइन्छ।’

प्रकाशित: २६ साउन २०८१ ८:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =