कांग्रेस-एमालेले एकअर्काविरूद्ध उठाएको प्रश्नको जवाफ जनताले मागेका छन् : नैनसिंह महर

हिमाल प्रेस २५ साउन २०८१ १७:४७
10
SHARES
कांग्रेस-एमालेले एकअर्काविरूद्ध उठाएको प्रश्नको जवाफ जनताले मागेका छन् : नैनसिंह महर

काठमाडौँ- नेपाली कांग्रेसको तीन दिनदेखि केन्द्रीय कार्यसमिति बैठक जारी छ। शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै नेताहरूले विगतमा कांग्रेस र एमालेले एक अर्काविरुद्ध सडकदेखि सदनसम्म उठाएको प्रश्नको जवाफ जनताले मागिरहेको भन्दै प्रश्न उठाएका छन्। केन्द्रीय सदस्य नैनसिंह महरले ‘विगतका प्रश्नबारे’ केन्द्रीय समितिमा प्रष्ट पार्न अनुरोध गरे।

‘हिजो हामीले सत्ता र प्रतिपक्षमा हुँदा एक अर्का–पार्टी र व्यक्तिविरुद्ध सडकदेखि सदनसम्म केही प्रश्न उठाएका छौँ,’ उनले बैठकमा भने‚ ‘जनताले ती प्रश्नको सफाइ मागेका छन्। हाम्रोतर्फबाट ती प्रश्नको प्रस्टीकरण आउन जरुरी छ। कुनै विषयमा हामी दोषी छौँ भने पनि कारबाहीको भागेदार हुन तयार हुनुपर्छ।’

मितव्यायी र सुशासनको कुरा गरिरहेका बेला कांग्रेस सम्मिलित मधेस प्रदेश सरकारमा २० जना मन्त्री बनाएकोमा महरले आपत्ति जनाए। प्रदेशमा मन्त्रिपरिषद्को आकार ठूलो बनाउने कुरा सुशासनको विरुद्धमा हुने उनको भनाइ थियो। उनले बैठकमा वर्तमान सरकार सुशासन, सेवा प्रवाह र संविधान संशोधन गर्ने विषयमा खरो उत्रिनुपर्ने बताए। उनले सरकारले न्यूनतम साझा कार्यक्रम छिटो ल्याएर जनतामा आशा र भरोसा देखाउनुपर्नेमा जोड दिए। यस्तै, स्थानीय, प्रदेश र संघको सरकार सञ्चालनका लागि पार्टीको संयन्त्र बनाउने विषय किन रोकियो भन्दै उनले प्रश्न गरे।

‘त्यो किन रोकियो ? कहिले बन्छ संयन्त्र ?,’ बैठकमा महरको प्रश्न थियो, ‘महासमिति बैठकमा तीन वटा मात्र प्रतिवेदन थिएनन्। धेरै कुरा आएका छन्। मैले आफैँले उठाएका विषय पनि थिए। त्यसको कायान्वयन गर्ने गरी बैठक निर्णयमा पुगोस्।’

यस्तै, बैठकमा उनले पछिल्ला दिनमा नेपालको आकाश असुरक्षित देखिएको भन्दै पार्टी गम्भीर बन्नुपर्ने बताए। कांग्रेस शिक्षा विभाग प्रमुख समेत रहेका महरले नेपालको शिक्षा क्षेत्रमा ठूलो चुनौति खडा भएको पनि बताए।

प्रकाशित: २५ साउन २०८१ १७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 12 =