सहरमा आजः नाटक मञ्चन र फिल्म प्रदर्शनले भरिपूर्ण उपत्यका

हिमाल प्रेस २६ साउन २०८१ ६:२२
30
SHARES
सहरमा आजः नाटक मञ्चन र फिल्म प्रदर्शनले भरिपूर्ण उपत्यका

काठमाडौँ- साउनको चौथो शनिबार। सधैझैँ हामीले उपत्यकामा आज हुने र भइरहेका विभिन्न मनोरञ्जनसहित केही महत्वपूर्ण गतिविधिको विवरण संकलन गरेका छौँ। हेरौं, यो साता उपत्यकामा कहाँ के हुँदैछ त?

ओजस थिएटरमा ‘शत्रु’

रातोपुलस्थित ओजस थिएटरमा साउन २१ देखि नाटक ‘शत्रु’ मञ्चन भइरहेको छ। नाटक विश्वेश्वरप्रसाद कोइरालाको ‘शत्रु’ कथामा आधारित छ। यो कथा कक्षा १० को नेपाली किताबमा समावेश गरिएको छ। सिम्रिक आर्ट्सको प्रस्तुति रहेको नाटकका परिकल्पनाकार तथा निर्देशक विशाल देवकोटा हुन्। नाटकको सह-निर्देशन उमेश दुलाल ‘अर्जुन’ले गरेका छन्।

नाटकमा नाट्यकर्मी बिरेन्द्र सिंह कुशवाहा, अजय बान्तवा राई, राजिव चौधरी, सुस्मिता भण्डारी, सलिना क्षेत्री, नवीन काफ्ले, भुवन लोहारको अभिनय छ। नाटक ३० गतेसम्म मञ्चन गरिनेछ।

साधना घरमा ‘ढाकर’
सुकेधारास्थित ओस्कर इन्टरनेसनल कलेजको साधना घरमा साउन २0 देखि नाटक ढाकर मञ्चन भइरहेको छ। विकाश जोशीले निर्देशन गरेको नाटकका लेखक जेम्स ढकाल हुन्। नाटक गाउँबाट ढाकरमा सुन्तला बोकेर सहरमा बेच्ने र जीवनयापन गर्नेहरुको कथामा आधारित छ। नाटकमा कलेजका १६ औँ ब्याचका विद्यार्थीको प्रस्तुति छ। नाटक भदौ ३ सम्म चल्नेछ। साताको प्रत्येक दिन साँझ (५ः३०) बजे मञ्चन भइरहेको नाटक शनिबार दिउँसो १ बजेको अतिरिक्त सो पनि हुनेछ।

मण्डलामा ‘मिरर’
मण्डलामाकै पूर्व विद्यार्थीको समुह अल्मुनाई सर्कलले आयोजना गरेको म्याड फेस्टमा मञ्चन गरिएको नाटक ‘मिरर’ पनि मञ्चन भइरहेको छ। साउन १८ देखि सुरु भएको नाटकको आज दुई सो छ। दिउँसो १२ बजे र अपरान्ह ४ बजे। नाटकको भोलि अर्थात् साउन २७ गते अन्तिम सो हुनेछ। नाटक अदन बत्री र सुशान्त बस्नेतको लेखन छ। लेखक बस्नेतलेनै निर्देशन गरेको नाटकमा विशाल बुढाथोकी, सोर्णिम चाम्लिङ, हेमन्त खड्का, रोशन, मनिश पुडासैनीलगायत कलाकारको अभिनय छ।

थिएटर मलमा ‘घरको माया’ र ‘एक जोर जुत्ता’
कीर्तिपुरस्थित थिएटर मलमा साउन ८ देखि नाटक ‘घरको माया’ र ‘एक जोर जुत्ता’ मञ्चन भइरहेको छ। विद्यार्थीलाई लक्षित गरेर बनाइएको नाटक कक्षा ८ र ९ को नेपाली किताबमा समावेश छ। नाटक ‘एक जोर जुत्ता’ का लेखक महेशविक्रम शाह हुन्। भने ‘घरको माया’को लेखक भीमनीधि तिवारी हुन्।

शंकर भण्डारीले निर्देशन गरेकाे नाटकमा शालिक काका, सुशील भुसाल, सुधा खनाल, सुजता भट्ट, ओसिन राई, आँचल पाण्डे र आशिष लामाको अभिनय छ। नाटक शताब्दी, राराहिल मेमोरियल विद्यालय, थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेनको सहकार्यमा बनेको हो।

कुञ्ज थिएटरमा ‘कर्तव्य’
थापागाउँस्थित आरोहण गुरुकुलको कुञ्ज थिएटरमा साउन ८ देखि नाटक ‘कर्तव्य’ मञ्चन भइरहेको छ। नाटक गुरुप्रसाद मैनालीको कथा ‘कर्तव्य’ मा आधारित छ। विद्यार्थी लक्षित नाटक कक्षा १० को नेपाली किताबमा समावेश गरिएको छ।
नाटकको नाट्य रुपान्तरण तथा निर्देशन शंकर पोखरेलले गरेका हुन्। कैलाशको सहनिर्देशन रहेको नाटक शिल्पशालाले निर्माण गरेको हो।

नाटक दाजुभाइबीच हुने विवादमा आधारित सामाजिक तथा पारिवारिक कथामा आधारित छ। नाटक सोमबारबाहेक साताको प्रत्येक दिन साझँ ५ः३० बजे मञ्चन हुनेछ। शनिबार दुई सो छ। दिउँसो १ः३० बजे र बेलुका ५ः ३० बजे।

मण्डलामा ‘मेषी दण्ड’
थापागाँउस्थित मण्डला थिएटरमा नाटक ‘मेषी दण्ड’ मञ्चन भइरहेको छ। रंगकर्मी अनिल सुब्बाको निर्देशनमा बनेको नाटक साउन ५ देखि नाटक मञ्चनरत छ। नाटक गीलु रातोसले लेखेका हुन्।
नाटक दुई दशकअघिका सोलुखुम्बु जिल्लाको खालिङ राई समुदायले भाषाका कारण तत्कालीन राज्यबाट भाषाका कारण भोगेको मेषी दण्डसँग सम्बन्धित छ।

नाटकमा प्रतिना राई, मणि के राई, अरुण पौडेल, जय ढकाल, प्रशंसा गुरुङ, सलिना भुजेल, पूर्णबहादुर गन्धर्व, शायोक मुकारुङ, रमिता राई, सौजन लिम्बु, संजीप योगी, अमर बुढाथोकी, रमिता राई, संजय विश्वकर्मा, लहना राई, जंजीत थुलुङ राई, अजय लामा, प्रवीण मगरलगायतको कलाकारको अभिनय छ।
साउन २७ सम्म मञ्चन हुने नाटक साताको प्रत्येक दिन साझँ ५ः४५ बजे र शनिबार दिउँसो १ः३० बजेको दुई सो हुनेछ।

नव्य नाचघरमा ‘प्रेमारम्भ’
सिनामंगलस्थित एस्थेटिक डान्स स्टुडियोमा सञ्चालित नयाँ नव्य नाचघरमा असार २१ देखि नृत्य नाटक ‘प्रेमारम्भ’ मञ्चन भइरहेको छ। नाटक स्टुडियोकी संस्थापक नम्रता केसीले निर्देशन गरेकी हुन्। नाटकमा प्रकृतिसँग संस्कृति मिसिँदा समाजमा हुने परिवर्तनलाई देखाउन खोजिएको छ। साताको दुई दिन शुक्रबार र शनिबार साँझ ५ः३० मा मञ्चन हुने नाटक भदौ २९ सम्म चल्नेछ।

हलमा तीन नेपाली, हिन्दी र अंग्रेजी फिल्म

नम्बरी सुन
साउन २५ देखि हलमा फिल्म ‘नम्बरी सुन’ प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक राजु गिरी हुन्। सोसल र ड्रामा जनरामा बनेको फिल्ममा गाउँमा सुन बनाउँदै हिड्नेको कथा र अन्तरजातीय प्रेमसम्बन्धलाई प्रस्तुत गरिएको छ।

फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, गौरव दर्पण, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरीलगायत कलाकारको अभिनय छ। फिल्ममा सुन बनाउने नारायण खातीको शब्द रचना, कथा र प्रस्तुति रहेको फिल्ममा शिवम अधिकारीको पटकथा र संवाद छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, छाया सेन्टर, लबिम मल, सिभिल मल, सिटी स्क्वायर मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुरमा फिल्मको १३ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, एफक्यूब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हलमा फिल्म ‘नम्बरी सुन’ प्रदर्शनरत छ।

बोर्डरल्यान्स
हलिउड फिल्म ‘बोर्डरल्याण्ड’ साउन २५ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक एलि रोथ हुन्। फिल्म एक्सन, कमेडी र एड्भेन्चर जनरामा बनेको छ। फिल्ममा केट ब्लान्चेट, एरियाना ग्रीनब्लाट, हेलेनी बानेट ज्याक ब्ल्याक, जेमी ली कर्टिस, जिना गेर्शोनलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, छाया सेन्टर, लबिम मल, सिभिल मल, सिटी स्क्वायर मल, दरबार सिनेम्याक्स र भाटभटेनी भक्तपुरमा फिल्मको १५ सो छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, बिग मुभिज, एफक्यूब सिनेमाजमा हलिउड फिल्म ‘बोर्डरल्याण्ड’ चलिरहेको छ।

मोदीबेनी
साउन १८ देखि हलमा प्रदर्शन भइरहेको फिल्म ‘मोदीबेनी’ का निर्देशक शंकर कोइराला हुन।् फिल्म पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको घटनामा आधारित छ। फिल्ममा वर्षा शिवाकोटी र डेब्यु अभिनेता अमर प्रताप श्रेष्ठ मुख्य भूमिकामा छन्। अन्य कलाकार सरोज खनाल, प्रवीण खतिवडा, हिँउवाला गौतम, रेजिना उप्रेती, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्यलगायतको पनि अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत भाटभटेनी भक्तपुर, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, अष्टनारायण हलमा फिल्म ‘मोदीबेनी’ प्रदर्शनरत छ।

औरो मे कहा दम था
बलिउड फिल्म ‘औरों में कहाँ दम था’ का निर्देशक नीरज पाण्डे हुन्। फिल्ममा अजय देवगन, तब्बु, जिम्मी शेरगिल, शान्तनु महेश्वरी, साई मांजरेकरको अभिनय छ। फिल्म एक्सन, ड्रामा र रोमान्स जनरामा बनेको छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, छाया सेन्टर, लबिम मल, सिभिल मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर, सिटी स्क्वायर मलमा ९ सो छ। आईएनआई सिनेमाअन्तर्गत एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, बिग मुभिजमा बलिउड फिल्म ‘औरों में कहाँ दम था’ चलिरहेको छ।

डेडपूल एण्ड वुल्भरिन
हलिउड फिल्म ‘डेडपूल एण्ड वुल्भरिन’ नेपालमा साउन १८ देखि नै प्रदर्शन भइरहेको छ। फिल्म एक्सन र कमेडी जनरामा बनेको छ। शान लेभी निर्देशित फिल्म मार्वल सिनेम्याटिक युनिभर्सका दुई पात्रको कथामा आधारित छ। फिल्ममा रायन रेनोल्ड्स, ह्युज ज्याकम्यान, मोरिना बाकारिन, म्याथ्यू म्याक फ्याडियन, शियोरी कुत्सुनालगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल, छाया सेन्टर, सिटी स्क्वायर मल र दरबार सिनेम्याक्समा फिल्मको ३७ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, बिग मुभिज, कीर्तिपुर सिनेप्लेक्स, एफक्यूब सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, अष्टनारायण हल हलिउड फिल्म ‘डेडपूल एण्ड वुल्भरिन’ चलिरहेको अन्य हल हुन्।

घरज्वाइँ
असार २८ देखि प्रदर्शन भएको फिल्म ‘घरज्वाइँ’ तेस्रो सातामा चलिरहेको छ। फिल्ममा कलाकार दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन्। मगर जातिको संस्कार र संस्कृतिमा आधारित फिल्मका लेखक तथा निर्देशक अनिल बुढा मगर हुन्। निर्देशक अनिलसहित विनोद खतिवडा र सुभाष कोइरालाको पटकथा तथा संवाद छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत लबिम मल, सिभिल मल, सिटी स्क्वायर मल, भाटभटेनी भक्तपुरमा फिल्मको ५ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, बिएसआर मुभिज, बिग मुभिज, एफक्यूब सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, अष्टनारायण हलमा फिल्म ‘घरज्वाइँ’ चलिरहेको छ।

रायन
दक्षिण भारतीय फिल्म ‘रायन’ साउन ११ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक धनुष हुन्। निर्देशक धनुषसहित फिल्ममा नित्य मेनन, प्रकाश राज मुद्यय भूमिकामा छन्। फिल्म एक्सन जनरामा बनेको छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत सिटी स्क्वायर मलमा फिल्मको सो छ।

ब्याड न्युज
बलिउड फिल्म ‘ब्याड न्युज’ साउन ४ देखि नेपालमा प्रदर्शन भइरहेको छ। आनन्द तिवारी निर्देशित फिल्ममा विक्की कौशल, तृप्ति डिमरी र एम्मी भिराकको मुख्य भूमिकामा छन्। कमेडी र रोमान्स जनरामा बनेको फिल्म पारिवारिक कथामा आधारित छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल र सिभिल मलमा वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, बिग मुभिजमा फिल्मको सो छ।

ट्वीस्टर्स
साउन ४ देखि नेपालमा हलिउड फिल्म ‘ट्वीस्टर्स’ प्रदर्शन भइरहेको छ। ली आइज्याक चुङ निर्देशित फिल्ममा ग्लेन पावेल डेजी एड्गर, जोन्स एन्थोनी रामोस र किर्नन सिपकालगायत कलाकारको अभिनय छ। एक्सन, एड्भेन्चर र थ्रिलर जनरामा बनेको फिल्म समुन्द्रमा आँधी आउँदा फसेका पात्रको कथामा आधारित छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत दरबार सिनेम्याक्स, छाया सेन्टर र लबिम मलमा फिल्मको ३ सो छ।

डेस्पिक्याबल मि फो
अंग्रेजी फिल्म ‘डेस्पिक्याबल मि फो’ असार २१ देखि नेपालमा प्रदर्शन भैरहेको छ। कमेडी र एडभेञ्चर जनरामा बनको फिल्मका निर्देशक क्रिस रेनाउड र प्याट्रिक डेलाज हुन्। फिल्ममा स्टीव क्यारेल, क्रिस्टन विग, जोइ किङलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत छाया सेन्टर र लबिम मलमा फिल्मको ३ सो छ।

कल्की
भारतीय फिल्म ‘कल्की २८९८ एडी’ असार १३ देखि नेपालमा प्रदर्शन भइरहेको छ। नाग अश्विनले निर्देशन गरेको फिल्ममा अभिनेता प्रभास, अमिताभ बच्चन, कमल हसन, दीपिका पादुकोण, दिशा पटानीलगायत कलाकारको अभिनय छ। फिल्म एक्सन एडभेञ्चर र ड्रामा जनरामा बनेको छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल र भाटभटेनी भक्तपुर, बिग मुभिज, एफक्यूब सिनेमाजमा फिल्मको सो छ।

प्रकाशित: २६ साउन २०८१ ६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 14 =