स्थानीयको प्रयासमा हाब्रे वासस्थान संरक्षण क्षेत्र घोषणा

हिमाल प्रेस २५ साउन २०८१ १३:३२
20
SHARES
स्थानीयको प्रयासमा हाब्रे वासस्थान संरक्षण क्षेत्र घोषणा

काठमाडौँ- पूर्वी जिल्ला इलाममा रेडपान्डा (हाब्रे) को वासस्थान जोगाउन रेडपान्डा संरक्षण क्षेत्र घोषणा गरिएको छ। इलाम नगरपालिकाले पुवामाई सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रको १ सय १६ हेक्टर क्षेत्र रेडपान्डा संरक्षण क्षेत्र घोषणा गरेको हो। यसरी पालिकास्तरबाट संरक्षण क्षेत्र घोषणा गरिएको यो पहिलो अवसर हो।

रेडपान्डा वासस्थानको अध्ययन गर्दा पुवामाई सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रको १ सय १६ हेक्टर रेडपान्डाको वासस्थान रहेको देखिएपछि स्थानीय संरक्षणकर्ता सो क्षेत्र जोगाउन लागिपरेका थिए।

नगरपालिकाको वडा नं. ३ मा पर्ने सोही क्षेत्रलाई बिहीबार एक कार्यक्रमका बीच ‘रेडपान्डा संरक्षण क्षेत्र’ घोषणा गरिएको हो। सो क्षेत्रमा रेडपान्डाको स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने वातावरण बनाउने र उनीहरूको प्राकृतिक प्रजनन केन्द्र विकास गर्ने लक्ष्य राखिएको छ। सो क्षेत्र इलामको सन्दकपुरसम्म फैलिएको छ। संरक्षण क्षेत्र घोषणा भएपछि अब स्थानीय समितिले सो स्थानमा रेडपान्डालाई असर पर्ने कुनै पनि कार्य गर्न गराउनबाट रोक लगाउनेछ।

घोषणासभामा जिल्ला वन कार्यालय अधिकृत दानबहादुर श्रेष्ठले पान्डा संरक्षण क्षेत्रलाई प्राथमिकतामा राखेर संरक्षण क्रियाकलाप अघि बढाउने बताए। ‘पालिकास्तरबाट संरक्षण क्षेत्र घोषणा गरिनु आफैँमा राम्रो कुरा हो’, उनले भने, ‘रेडपान्डा संरक्षणलाई सरकारले नै प्राथमिकतामा राखेको सन्दर्भमा संरक्षण क्षेत्रको यो काम नमुना र सराहनीय छ।’

गत आर्थिक वर्षमा नगरपालिकाले रेडपान्डा नेटवर्कसँगको सहकार्यमा रेडपान्डा संरक्षण समिति बनाएर संरक्षण कार्य थालेको थियो। ‘गत वर्ष समिति गठन गरेर सदस्यहरुलाई अभिमुखीकरण गर्दै सचेतना जागृतलगायतका काम गरेका थियौँ’, नगरपालिकाका प्रशासकीय अधिकृत गणेश खड्काले भने, ‘सोही वर्ष नगरपालिकाले पुवामझुवा सामुदायिक रेडपान्डा संरक्षण तथा व्यवस्थापन कार्यविधि पारित गरेको थियो।’ त्यसअघि २०७८ सालमै नगरपालिकाको स्थानीय वन ऐनले संरक्षण क्षेत्र स्थापनाको अधिकार दिएको थियो।

‘यसअघि समिति गठन गरेर अभिमुखीकरणका काम गर्‍यौँ’, खड्काले भने, ‘यसपालि रेडपान्डा क्षेत्रमा उसले खाने मालिंगो, निगालोका बिरुवा रोप्नेछौँ।’

संरक्षण क्षेत्र स्थापनामा रेडपान्डा नेटवर्कले पनि सहयोग गरिहरहेको छ। ‘स्थानीयलाई संलग्न नबनाई कुनै पनि संरक्षणको काम सफल नहुने हुँदा हामीले स्थानीयसँगको साझेदारी हुने यस्ता संरक्षण प्रयासलाई सहयोग, प्रोत्साहन र अपनत्व लिँदै आएका छौँ’, नेटवर्कका राष्ट्रिय निर्देशक आङफुरी शेर्पा भन्छन्, ‘इलाममा हामीले गरेको १५ वर्षदेखिको कामको प्रतिफलका रूपमा हामीले यसलाई लिएका छौँ। अबको चुनौती भनेको संरक्षण क्षेत्रको प्रभावकारी व्यवस्थापन र स्थानीय स्तरमा पर्यापर्यटनलगायत जीविकोपार्जनको ढोका खोल्नु हो।’

कालपोखरी थामडाँगा सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष मानसिङ राईले पुवामाई र कालपोखरी सामुदायिक वन क्षेत्र जोडिएकाले यताबाट रेडपान्डा उता जाने र उताबाट रेडपान्डा यता आउने गरेको बताइन्।

‘हामी सबैले हाब्रेलाई जोगाउने नै हो। हाम्रो सामुदायिक वन समितिका दुईजनाले हाब्रे संरक्षणमा हेरालुको काम गर्दै आउनुभएको छ’, उनले भनिन्, ‘सामुदायिक वन क्षेत्रमा प्राकृतिक विरुवाले ढाकिए पनि यहाँको मालिंगो र निगालोलाई हाब्रेले खाने गरेको हुँदा यो वर्ष ती विरुवा रोप्ने योजना छ।’

प्रकाशित: २५ साउन २०८१ १३:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast