बर्दघाट सुस्तापूर्वमा माछापालनप्रति किसानको आकर्षण

हिमाल प्रेस २५ साउन २०८१ ९:०७
14
SHARES
बर्दघाट सुस्तापूर्वमा माछापालनप्रति किसानको आकर्षण

नवलपरासी- बर्दघाट सुस्तापूर्वमा माछापालनप्रति किसानको आकर्षण बढ्दै गएको छ। जिल्लामा पछिल्लो तीन वर्षमा माछापालनतर्फ किसानको आकर्षण बढ्दा उत्पादनमा पनि वृद्धि भएको पाइएको छ। नेपाल मत्स्य केन्द्रले यस जिल्लालाई माछापालनका लागि उत्कृष्ट क्षेत्र प्रमाणित गरेको छ।

माछापालन व्यवसाय तुलनात्मक रूपमा व्यवस्थापन गर्न सजिलो भएको र किसानले मनग्य आयआर्जन गर्न सक्ने भएकाले विगत तीन वर्षमा माछाको उत्पादन बढेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख ऋषभ गुरागाईँले बताए।

जिल्लामा गत आर्थिक वर्षमा ५७ माछापोखरी थपिएका छन्। आव २०७९/८० मा पोखरीको सङ्ख्या एक हजार पाँच सय १७ रहेको थियो भने आव २०८०/८१ मा उक्त सङ्ख्या एक हजार पाँच सय ७४ पुगेको उनले बताए।

जिल्लामा गत आवमा ५८ वटा नयाँ मत्स्यकार्प फार्म सञ्चालनमा आएका छन्। आव २०७९/८० मा दुई सय १५ फार्म रहेकामा आव २०८०/८१ मा उक्त सङ्ख्या दुई सय ७३ पुगेको प्रमुख गुरागाईँले जानकारी दिए।

‘माछा फार्म र माछापोखरी थपिने क्रम बढेसँगै यहाँ प्रत्येक वर्ष माछा उत्पादनमा वृद्धि भएको छ’, उनले भने। आव २०७८/७९ मा नौ सय ३३ मेट्रिक टन माछा उत्पादन भएकामा आव २०७९/८० मा नौ सय ६८ मेट्रिक टन तथा आव २०८०/८१ मा नौ सय ८१ मेट्रिक टन माछा उत्पादन भएको तथ्याङ्क छ।

माछापालनतर्फ जिल्लामा आकर्षण बढ्दै गएपछि माछाका भुरा उत्पादन गर्नेगरी गत आवमा एउटा मत्स्य ह्याचरी स्थापना भएको छ। त्यसैगरी ६ वटा मत्स्य स्रोत केन्द्र सञ्चालनमा रहेको प्रमुख गुरागाईँले जानकारी दिए।

बर्दघाट सुस्तापूर्वमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत मत्स्य स्वास्थ्य घुम्ती शिविरमार्फत स्थलगत माछापोखरीको रेखदेख गरिनुका साथै २५ लाख २८ हजार सिल्भर कार्प, रोहु र नैनीका भुरा वितरण गरिएको उनले बताए।

सरकारले माछापालन गर्न सिफारिस गरेका रोहु, नैनी, सिल्भर कार्प, कमल कार्प, ग्रास कार्प, विवेक कार्प, भागगोर र वडगासी जातका माछा उत्पादन गर्ने गरिएको छ। कावासोती, देवचुली र मध्यविन्दु नगरपालिकाको तीन सय हेक्टर क्षेत्रफलमा व्यावसायिकरुपमा कृषि उत्पादन केन्द्र माछा ब्लक कार्यक्रमअन्तर्गत नयाँ पोखरी निर्माण गरी माछापालन गर्न कार्यालयले प्रोत्साहन गरेको छ।

प्रकाशित: २५ साउन २०८१ ९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 2 =