आजदेखि प्रभुराम शर्मा घर बिदामा, प्रधानसेनापतिको कार्यभार रथी सिग्देललाई

हिमाल प्रेस २५ साउन २०८१ ८:१९
710
SHARES
आजदेखि प्रभुराम शर्मा घर बिदामा, प्रधानसेनापतिको कार्यभार रथी सिग्देललाई

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई आफ्नो कार्यभार हस्तान्तरण गरेका छन्। सैनिक मुख्यालय जंगीअड्डामा बिहीबार आयोजित विशेष समारोहमा प्रधानसेनापति शर्माले आजदेखि सम्हाल्ने गरी वरिष्ठतम् रथी सिग्देललाई प्रधानसेनापतिको कार्यभार बुझबुझारथ गरेका हुन्।

मुलुकको प्रमुख सुरक्षा संगठन नेपाली सेनाको ४५औँ प्रधानसेनापतिका रूपमा बलाधिकृत रथी सिग्देलले आजको एक महिनापछि जिम्मेवारी सम्हाल्नेछन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि लागू हुनेगरी रथी सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी यसअघि नै तोकिसकेका थिए।

प्रधानसेनापति शर्मा तीनवर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाशमा जाँदैछन्। प्रधानसेनापति अवकाश हुनु एक महिना घर बिदामा बस्ने प्रावधान रहेअनुसार रथी सिग्देलले कामुप्रधान सेनापतिको जिम्मेवारी पाएका हुन्।

कार्यभार बुझबुझारथ समारोहमा प्रधानसेनापति शर्माले नेपाली सेनाको सबै तह र तप्कालाई राम्रो बुझेको, नीति, नियम र पद्धतिबारे गहन बुझाइ राख्ने, व्यावहारिक र व्यावसायिक क्षमता भएका उत्तराधिकारीका रुपमा बलाधिकृत रथी सिग्देललाई कार्यभार बुझाउन पाएको भनी खुसी व्यक्त गरे। त्यस अवसरमा पूर्वप्रधानसेनापतिहरू, रक्षा मन्त्रालयका सचिव, रथीवृन्दलगायत उपस्थित थिए।

प्रधान सेनापति शर्माले आजै वीरगति प्राप्त सकल दर्जाको सम्मानमा वीर स्मारक छाउनी र सैनिक मञ्च टुँडिखेलमा श्रद्धाञ्जलीसमेत अर्पण गरेका थिए। प्रधानसेनापति शर्मा आफ्नो कार्यकालमा खासै विवादित भएनन्। उनको कार्यकालमा रथी ताराध्वज पाण्डेले छिमेकको सुरक्षा सहचारीसँग गरेको व्यवहार र नागरिकता समस्याले संसदीय समितिमा पनि उपस्थित हुन पर्ने अवस्था आएको थियो। यसबाहेक आरम्भमा उनी आफैँ विरामी परे। अन्य कार्यमा खासै विवादित भएनन् तर उनका आफन्त गरिरहेको पेसा नै छाडेर यता सक्रिय बन्दा सेनाले केही असहज महसुस गरेको र उनको आलोचना पछाडि भए पनि बाहिर त्यसको असर देखिएन।

एक दुई सहायक एवं उप रथी र सहसेनानी एव‌ं महासेनानीहरुले भने प्रधानसेनापति शर्माको सरलपनको फाइदा उठाए पनि त्यस्तालाई कारबाहीमा ल्याउने पहल पनि भइरहेकै छ। ठोस सपूत खोजी भइरहेको र भेटिएमा त्यस्ताको जागिर समेत जाने खोजीमा सक्रीय एक सैनिक अधिकारीले बताए।

प्रधानसेनापतिले आफू पछि राम्रा व्यक्तिलाई सेनाको जिम्मेवारी हस्तान्तरण गर्न पाएकोमा सरकार र राष्ट्रप्रमुख प्रति आभार पनि प्रकट गरेका छन्। उनले अघिल्ला सेनापतिले सुरु गरेको कमाण्ड प्रणालीलाई तयारी नपुगेकाे भन्दै यथावत राखेर पृतना प्रणाली ब्युत्याउने काम गर्दा उनलाई बोल्ट निर्णय गर्न सक्ने सेनापतिको रुपमा मानिएको थियो। त्यो स्तरको निर्णय खासै नभए पनि सेना भित्र खेल्न खोज्ने अधिकारीलाई भने उनले कारबाहीको दायरामा ल्याए। यस्ता कार्य गर्न उनले बलिया हातहरु पाएका थिए। त्यही मध्येका बरिष्ठ ब्यक्ति अहिले कामु प्रधानसेनापति भएको सेनाका अधिकारीहरु बताउँछन्।

काे हुन् सिग्देल?

बलाधिकृत रथी सिग्देलले स्वदेश तथा विदेशबाट व्यावसायिक सैन्य शिक्षा हासिल गरेका छन्। आर्मी कमान्ड एन्ड स्टाफ कलेज शिवपुरी र चीनको नेसनल डिफेन्स युनिभर्सिटीबाट स्नातक उनले आर्मी वार कलेजमा हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स र भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गरेका छन्।

राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका विभिन्न कार्यशाला र व्यावसायिक सेमिनारमा पनि भाग लिएका बलाधिकृत रथी सिग्देलले त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्।

३८ वर्षको सैन्य जीवनमा उनीसँग काउन्टर इन्सर्जेन्सी र जंगल वारफेयर स्कूलको कमान्डेन्ट, इन्फन्ट्री ब्रिगेड र डिभिजनको कमान्ड गरेको अनुभव छ। बलाधिकृत रथी सिग्देलले सन् २०२२ मा अमेरिका-नेपाल तेस्रो ल्यान्ड फोर्स वार्ताका लागि नेपाली सेनाको प्रतिनिधिमण्डलको पनि नेतृत्व गरेका थिए।

कोरोना महामारीका समयमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को सचिवका रूपमा पनि उनले काम गरेका थिए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रणनीतिक महत्वका घटनालाई नजिकबाट चासो साथ हेर्ने रथी सिग्देल संगठनभित्र अध्ययनशील र सकल दर्जाका कुरा सुन्ने व्यक्तित्वका रूपमा परिचय बनाएका छन्। उनले सैनिक संगठनभित्र युद्धकार्य, सम्भार विभाग, नीति महानिर्देशक र उपत्यका पृतनाजस्ता महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेका उनी कमाण्डो प्रशिक्षण गरेका स्पोर्टी सैन्य अधिकृतको रुपमा परिचित छन्।

त्यस्तै, अन्तर्राष्ट्रिय क्षेत्रमा संयुक्त राष्ट्र शान्ति सेनाअन्तर्गत पूर्व युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरिया जस्ता चुनौतीपूर्ण स्थानमा सेवा गरिसकेका छन्। सैनिक जीवनको उत्कृष्ट सेवाको कदरस्वरुप उनी सुप्रबल जनसेवाश्री तेस्रोसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकबाट विभूषित छन्। संगठनको उन्नयनमा उत्कृष्ट योगदान पुर्‍याएबापत उनले दुईपटक ‘प्रधान सेनापति प्रशंसा पदक’समेत पाएका छन्।

नेपालको संविधानले सेनालाई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी तोकेको छ। यसका अलवा विपद् व्यवस्थापन, राष्ट्र विकास, शान्ति स्थापना, आन्तरिक सुरक्षा, वन तथा पर्यावरण सुरक्षा, ऐतिहासिक धरोहरको संरक्षण, राष्ट्रिय एकताको प्रवर्द्धन र आपत्कालीन खोज तथा उद्धारका कार्य पनि सेनाको जिम्मेवारी क्षेत्रमा रहेको छ।

नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा समेत विशिष्ट योगदान पुर्‍याउँदै आएको छ। नेपाली सेना व्यावसायिक, अनुशासित, कर्तव्यनिष्ठ र मानव अधिकार प्रवर्द्धनका दृष्टिकोणबाट समेत अब्बल ठहरिएका कारण द्वन्द्वग्रस्त राष्ट्रका जनताको पहिलो रोजाइमा पर्दै आएको छ। सेना एकताको प्रतीक हो यसलाई त्यही रुपमा नै रहन दिनुपर्छ। राजनीतिबाट सेनालाई पर नै राख्न पर्नेमा सिग्देलको जोड रहेको छ। सेनाभित्र कसैले पनि राजनीति गर्न नहुने र सेनालाई माध्यम बनाएर सैन्य स‌ंरचनाबाट कुनै राजनीतिककर्मीले पनि फाइदा लिने काम गर्न नहुनेमा उनको जोड पहिलेदेखि रहँदै आएको छ।

निकै सोचेर बोल्नै सैनिक अधिकृतमा पर्छन् सिग्देल। उनको बारेमा अनेक विषय बाहिर आउँदा पनि आफूले गल्ति नगरेकोले कोही कराएर केही नहुने भन्दै आफ्नो नेतृत्वलाई सबै जानकारी रहेको भन्दै उनी अन्य रथीहरू झै कसैसँग पनि रोइकराइ गरेनन्। नेताको दैलो चाहरेनन्। अन्यले झै अब म नै प्रधानसेनापति हुँ भनेर भन्दै पनि हिँडेनन्। कसैले अब त यहाँले कमाण्ड सम्हाल्ने होला नि भन्दा सेना चेन अफ कमाण्डमा चल्छ। प्रधानसेनापति हुनुजेलसम्म हामी उहाँकै कमाण्डमा हो भन्दै तीन वर्ष अघिका शर्माकै शैलीमा जवाफ दिन्थे।

संयुक्त राष्ट्रसंघको आह्वानमा महिलासहित ठूलो संख्यामा शान्ति सैनिक खटाउने मुलुकको सूचीमा पहिलो स्थानमा छ। त्यस क्रममा हालसम्म विभिन्न ४४ वटा मिसनमा एक लाख ५२ हजार आठ सय १८ शान्ति सैनिकले शान्ति स्थापना कार्यका लागि योगदान पुर्‍याइसकेका छन् भने हाल विभिन्न ११ मिसनमा पाँच हजार नौ सय १६ सैनिक कार्यरत रहेको नेपाली सेनाले जनाएको छ। कामु सेनापतिको जिम्मेवारी लिएपछि सिग्देलले नेपाली सेनाको महत्त्व संसारभर रहेको छ।

नेपाली सेनालाई आधुनिकीकरण गर्दै, प्रविधिमैत्री बनाउन आवश्यक छ। त्यसमा काम भइरहेकाेले यस्ता कार्यलाई निरन्तरता दिने पनि उनले बताएका छन्। उनले सबैप्रति आभार व्यक्त गर्दै सेनाको कामु अभिभावकीय भूमिका निर्वाह गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =