५१ वर्षकाे उमेरमा कक्षा ९ मा पढिरहेका गाेरखाका नवीन

हिमाल प्रेस २५ साउन २०८१ ७:३८
206
SHARES
५१ वर्षकाे उमेरमा कक्षा ९ मा पढिरहेका गाेरखाका नवीन

गोरखा- गोरखाको भीमसेन थापा गाउँपालिका–२, तान्द्राङस्थित ओख्लेका नवीन भट्ट उमेरले अहिले ५१ वर्ष पुगे। दुई छोरा र एक छोरीलाई हुकाईसकेका नवीनको अब छोराछोरीको कमाई खाएर परिवारसँग रमाएर बस्ने उमेर पनि नभएको होइन।

पढ्ने उमेरमा घरायसी समस्याका कारण विद्यालय शिक्षा पूरा गर्न नसकेका उनलाई यतिबेला फेरि पढ्ने रहर जागेपछि परिवारिक सुखसयल समेत छोडेर विद्यालय भर्ना भएका छन्। पढ्ने इच्छा पूरा गर्न चालु शैक्षिक सत्रदेखि घर छोडेर गोरखा नगरपालिका–६, स्थित शक्ति माध्यमिक विद्यालयमा कक्षा ९ भर्ना भएका नवीन विद्यालयमै बस्ने व्यवस्था मिलाएर पढ्न थालेका हुन्।

‘अहिले म मेरा छोराछोरीसरहका साथी र शिक्षकसँग पढिरहेको छु,’ उनले,‘शिक्षक तथा साथीभाइको सहयोगले पढ्नका लागि निकै सहज भएको पनि छ।’ सानैदेखि पढ्नमा लगनशील भए पनि उमेरमा पढ्न र लेख्न नपाएकामा अहिले पनि बेलाबेलामा उनलाई दुःख लाग्ने गरेको छ।

बुढेसकालमा पढ्न थालेको देख्दा कतिपयले आफ्नो कुरा समेत काट्ने गरेको नवीनले बताए तर कसैको कुराको कुनै प्रवाह नगरी आफ्नो लक्ष्य हासिल गर्नका लागि आफूले पढाइमा ध्यान दिने गरेको उनको भनाइ छ।

‘जसले जे–जे भने पनि मलाई पढेर चिकित्सक बनेर सबैको सेवा गर्ने ठूलो धोको छ’, उनले भने,‘अनुशासित भएर पढ्छु र राम्रोसँग एसईई पास गरेर प्लस टूमा साइन्स र सकेदेखि ब्याचलरमा एमबिबिएस पढ्छु भन्ने लागेको छ।’ २०५३ सालमा एसएलसीमा फेल भएपछि पढाइ छोडेका नवीनले करिब २९ वर्षपछि फेरि विद्यालयमा पढ्न थालेका हुन्।

कक्षा १२ सम्म पढ्न विद्यालयले खर्च नलाग्ने भनेकाले आफूलाई थप उत्साहित बनाएको उनको भनाइ छ। ‘गएको वैशाखदेखि विद्यालयमा भर्ना भएर पढ्न थालेको हो, नवीनले भने,‘बस्नका लागि विद्यालयले नै एउटा कोठा दिएको छ, खानका लागि चामल, नुन, तेल, तरकारी पनि सहयोग जुट्ने गरेको छ सजिलो भइरहेको छ।’

कक्षामा पहिलो दिन आफ्ना छोराछोरीको उमेरका नानीबाबुसँग पढ्न अलिअलि लाज र डर नलागेको पनि होइन तर बिस्तारै संगत गर्दै जान थालेपछि अहिले निकै सहज भएको उनी बताउँछन्। ‘नियमित रुपमा पढेर पास गर्न सके भने ६२ वर्षमा त एमबीबीएस पूरा गर्छु, उनले भने,‘त्यतिबेला मेरो जागिर खाने अवस्था त हुँदैन तर गाउँघरमा एक्लै बसेका बूढाबूढीको सेवा गर्ने धोको छ।’

उनलाई कहिलेकाहीँ बेलैमा पढ्न सकेको भए राम्रो जागिर खान सकिने रहेछ भन्ने पनि लाग्ने गर्छ। ‘मेरो जेठो छोरो पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढ्दैछ,’ उनले भने, ‘इच्छाशक्ति भए नहुने भन्ने हुँदैन भन्ने लागेर फेरि पनि पढ्न थालेको हुँ।’ विद्यालय र कक्षाकोठामा सहपाठीले अङ्कल दाइ, बाजे भनेर सम्बोधन गर्दा खुसी लाग्ने गरेको नवीन बताउँछन्।

घर छोडेर सदरमुकाममा बसेर पढ्न थालेपछि नवीनकी श्रीमती छोरी लिएर माइत बस्न थालेका छन्। विद्यालयमा अन्य विद्यार्थीको जस्तो नभए पनि नवीन आफूले नजानेको कुरा तत्कालै शिक्षक तथा सहपाठीसँग सोध्ने र सिक्ने बानी रहेको विद्यालयका प्रधानाध्यापक बद्री अर्यालले बताए।

प्रकाशित: २५ साउन २०८१ ७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 15 =