अराजकता उन्मुख धराने आन्दोलन

विवेक विवश रेग्मी २४ साउन २०८१ २०:२१
280
SHARES
अराजकता उन्मुख धराने आन्दोलन

इटहरी- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध स्थानीयवासीको प्रदर्शन अराजकतर्फ उन्मुख भएको छ।  बिहीबार धरान उपमहानगरको गेट अगाडि धर्ना दिन भेला भएका स्थानीयवासी, धरानका १० राजनीतिक दलसहित विद्यार्थीहरूले गेट तोडफोडको समेत प्रयास गरेका थिए।

धरान खोनपानी व्यवस्थापन बोर्डले खानेपानीमा ९ हजार ९ सय प्रतिशतसम्म महसुल वृद्धि गरिएको भन्दै स्थानीयवासीहरू साउन ११ यता आन्दोलनरत छन्। आफूहरूको माग सम्बोधन नभएको भन्दै मेयर साम्पाङविरुद्ध धराने जनता बिहीबार अराजक बनेका हुन्।

आक्रोशित स्थानीय उपभोक्ताहरूले अश्लील गाली गर्दै जुत्ताको माला बनाएर ‘मेयर साम्पाङलाई लगाउने’ भन्दै ‘तँछाडमछाड’समेत गरेका थिए। जसले प्रतीकात्मक र रचनात्मक आन्दोलन भन्दा पनि ‘अराजकता’तर्फ धरान उन्मुख भएको नकारात्मक सन्देश प्रवाह भएको छ।

कांग्रेस धरान नगर सभापति श्याम पोखरेलका अनुसार बिहीबार उपमहानगरपालिकामा धर्ना दिने कार्यक्रम थियो। तर आक्रोशित भीडमा सामान्य झडपसमेत भएको उनले बताए। ‘मेयर हर्क साम्पाङको बेवास्ताका कारण आज झडपसम्मको स्थिति आयो,’ उनले भने, ‘हामीले खानेपानीको महसुल पुरानै हुनुपर्छ भनेर माग राखेका हौँ। धरानले थेग्नै नसक्ने गरी महसुल वृद्धि हुन अस्वाभाविक हो।’

उनका अनुसार बिहीबार बिहानैदेखि आन्दोलन गरी साँझमा भने स्थगित गरिएको छ। मेयर साम्पाङले आइतबार वार्ताका लागि बोलाएपछि तत्काललाई आन्दोलन स्थगित गरिएको उनले बताए। ‘हामी बटुवा होइनौँ, राजनीतिक दल हौँ। त्यसैले लिखित पत्र काटेर वार्तामा बोलाउनुपर्छ,’ उनले भने, ‘फेसबुकमार्फत र मौखिक रूपमा वार्तामा बोलाएर हुँदैन। किनकि हामीले पनि लिखित नै पत्र काटेर महसुल घटाउन माग गरेका छौँ।’ उनले आक्रोशित भीडलाई संयम बनाउन आफूहरूले भूमिका खेले पनि आक्रोशित धराने जनता र स्थानीय विद्यार्थीहरूले उपमहानगरपालिकाको गेट नै तोडफोडकोसमेत प्रयास गरेका थिए।

‘हामी शुक्रबार र शनिबार पनि आन्दोलन र सभा गर्छौँ। आइतबार पनि उपमहानगर गेट बाहिर आन्दोलन र भित्र वार्ता हुन्छ,’ पोखरेलले भने, ‘वार्ता मिलेन भने आन्दोलन जारी हुन्छ, वार्ता मिल्यो भने आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन्छौँ।’ उनका अनुसार खानेपानी महसुल वृद्धिको विरुद्धमा धरानका सबै जनप्रतिनिधिहरू आन्दोलनरत छन्। ‘दलबाटै निर्वाचित जनप्रतिनिधिहरू भएका कारण र दलकै आन्दोलन भएका कारण जनप्रतिनिधिहरू सहभागी हुनु स्वभाविक कुरा हो,’ उनले भने।

बिहीबार गेट तोडफोडको प्रयास गर्दा केही विद्यार्थी र प्रहरीहरू घाइतेसमेत भएका छन्। गेट तोडफोड गर्ने विद्यार्थीहरूमाथि प्रहरीले लाठी चार्ज गरेको थियो। लाठी चार्जपछि भने घटनाले थप उग्ररूप लिएको थियो।

घटनाले उग्ररूप लिए पनि कुनै अमानवीय घटना हुन नपाएको सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए। ‘भीडले धकेलेर उपमहानगरभित्र पस्न खोजेपछि सामान्य धकेलाधकेल भयो,’ उनले भने, ‘घटनालाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको थियो।’

उनका अनुसार घटनामा दुईजना विद्यार्थी र एक जना प्रहरी घाइते भएका छन्। घाइते प्रहरीको हात च्यापिएका कारण हातको औँलामा पाँच टाँका लगाइएको एसपी रेग्मीले बताए। ‘भोलि पनि आन्दोलन गर्ने जानकारी आएको छ। हामीले शान्तिपूर्ण र रचनात्मक आन्दोलन गर्न आग्रह गरेका छौँ,’ उनले थपे, ‘आन्दोलनमा कुनै क्षति हुन नदिनका लागि सुरक्षाकर्मीलाई तैनाथ राखिएको छ। सकेसम्म वार्तामार्फत आन्दोलन स्थगित गर्न प्रहरीको पनि पहल हुनेछ।’

उनका अनुसार बिहीबार आन्दोलनमा एक सयभन्दा बढी प्रहरीहरू खटाइएको थियो। प्रदर्शन नरोकिएपछि मेयर साम्पाङले छोटो सम्बोधन गर्दै साउन २७ गते आइतबार ११ बजे आन्दोलित पक्षहरूलाई वार्ताका लागि बोलाएका छन्।

यसैबीच बिहीबार नै धरानका केही युवाहरूले खानेपानीको बिल काउन्टरमा तालाबन्दी गरेका छन्। धरान ११, १५ र १६ नं. वडाको खानेपानीको बिल काउन्टरमा तालाबन्दी गरिएको हो। धराने युवाहरू नामक एक पत्रमार्फत तालाबन्दी गरिएको जानकारी गराइएको छ।

धरान खानेपानी व्यवस्थापन बोर्डको कार्यालयमा राजनीतिक दलहरूसहित स्थानीय उपभोक्ताहरूले गत आइतबार तालाबन्दी गरेका थिए। तर उच्च अदालत विराटनगरले मंगलबार ताला खोल्न आदेश दिएपछि आन्दोलनरत पक्षले बुधबार ताला खोलेका थिए।

उच्च अदालतका न्यायाधीश राजेन्द्र अधिकारीले खानेपानीजस्तो संवेदनशील कार्यालयमा तालाबन्दी गर्न नपाइने भन्दै उक्त तालाबन्दी खोल्ने अन्तरिम आदेश दिएका थिए। अदालतको साउन २८ गते पूर्ण फैसलाको लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

कसरी आन्दोलनमा उत्रियो धरान ?

धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष भनेर दाबी गर्ने मेयर साम्पाङले एकलौटी रूपमा चालू आर्थिक वर्षबाट लागू हुने गरी खानेपानी महसुल वृद्धि गरेका थिए। महसुल वृद्धिविरुद्ध यहाँका राजनीतिक दलहरूले यसअघि ७२ घण्टे अल्टिमेटम दिए पनि मेयर साम्पाङले बेवास्ता गर्दै आएका थिए।

धरानमा २०७४ सालमा कायम भएको खानेपानीअन्तर्गतका विभिन्न शुल्क र हाल कायम भएको नयाँ शुल्कमा ४० रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म वृद्धि गरेको पाइएपछि विरोध जनाउन बाध्य भएको दलका प्रतिनिधिहरूले बताउँदै आएका छन्।

खानेपानी व्यवस्थापन बोर्डको बैठकसमेत नबसिकन मेयरले नै एकलौटी निर्णयमा साउन १ गतेदेखि लागू हुने गरी ११ प्रतिशतदेखि ९ हजार ९ सय प्रतिशतसम्म खानेपानीको महसुल वृद्धि गरेको राजनीतिक दलहरूको आरोप छ। महसुल वृद्धिअनुसार नयाँ धारा जडानमा पाँच हजार रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म वृद्धि गरिएको छ। हाफ इन्चको पाइपमा नयाँ धारा जडान गर्दा १५ हजार रुपैयाँ रहेकोमा हाल आएर २० हजार रुपैयाँ वृद्धि गरिएको पाइएको छ।

यसअघि साउन १७ गते विभिन्न सरोकारवाला संघसंस्थाहरूसँग अन्तरक्रिया, साउन १८ गते सबै वडा कार्यालयमा वडास्तरबाट ध्यानाकर्षणपत्र बुझाएर साउन २० गते धर्ना कार्यक्रम आयोजना गरिएको थियो। तर पटकपटक धर्ना र ध्यानाकर्षण बुझाए पनि मेयर साम्पाङले बेवास्ता गरेपछि बिहीबार भने स्थानीय उपभोक्ताहरूसहित बृहत प्रदर्शन गरिएको थियो।

यसअघि धरानका १० राजनीतिक दलहरूले चरणबद्ध आन्दोलनको कार्यक्रमहरू सार्वजनिक गरेका थिए। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, सलोराम संघीय लिम्बुवान मञ्च र राष्ट्रिय साझा पार्टीले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए।

खानेपानी व्यवस्थापन बोर्ड ऐन २०६३ अनुसार व्यवस्थापन बोर्डमा ७ जना सदस्य हुने भए पनि नगर प्रमुख साम्पाङले एकलौटी निर्णय गरेको आरोपसमेत लाग्दै आएको छ।

प्रकाशित: २४ साउन २०८१ २०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =