हसिनाकी छोरी साइमाले भनिन् : कठिन समयमा आमालाई सहयोग गर्न सकिएन

हिमाल प्रेस २४ साउन २०८१ १९:०६
114
SHARES
हसिनाकी छोरी साइमाले भनिन् : कठिन समयमा आमालाई सहयोग गर्न सकिएन शेख हसिना र साइमा वाजेद

काठमाडौँ- बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले देशको कठिन समयमा आफ्नी आमाको दुःखमा साथ दिन नसकेकामा निराशा व्यक्त गरेकी छन्।

उनले बंगलादेशमा द्वन्द्वका कारण ज्यान गुमाएकाप्रति दुःख प्रकट गर्दै देशमा जारी अशान्ति छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरिन्।

दक्षिण–पूर्वी एसियाका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को क्षेत्रीय निर्देशकसमेत रहेकी हसिनाकी छोरी साइमाले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘मेरो देशमा भएको मानवीय क्षति हृदयविदारक छ। म यो कठिन समयमा मेरी आमाको साथमा हुन सकिनँ। म डब्ल्यूएचओले प्रदान गरेको भूमिकाका लागि प्रतिबद्ध छु।’

साइमाले यस वर्षको फेब्रुअरीमा दक्षिण–पूर्वी एसिया क्षेत्रका लागि डब्ल्यूएचओको क्षेत्रीय निर्देशकको रूपमा कार्यभार सम्हालेकी थिइन्। साइमा यो पद सम्हाल्ने पहिलो बंगलादेशी र दोस्रो महिला हुन्।

विद्यार्थी नेतृत्वको विद्रोहका कारण शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिएपछि बंगलादेशले अस्थिर राजनीतिक अवस्थाको सामना गरिरहेको छ।

शेख हसिनाले बंगलादेशको प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर देश छोडेको एक दिनपछि राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले अन्तरिम प्रशासन गठनका लागि देशको संसद् विघटन गरेका थिए।

नोबेल पुरस्कार विजेता मुहम्मद युनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको छ।

मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारका सदस्यहरूले बिहीबार राति शपथग्रहण गर्ने तयारी रहेको बताइएको छ।

सेना प्रमुख जनरल वाकर–उज–जमानले अन्तरिम सरकारमा अहिले १५ जना सदस्य हुनसक्ने संकेत गरेका छन्।

प्रकाशित: २४ साउन २०८१ १९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 7 =