बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसले भने – दोस्रोपटक स्वतन्त्रता प्राप्त महसुस भएको छ

हिमाल प्रेस २४ साउन २०८१ १६:४३
16
SHARES
बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसले भने – दोस्रोपटक स्वतन्त्रता प्राप्त महसुस भएको छ

काठमाडौँ- अन्तरिम सरकारको प्रमुख सल्लाहकार नोबेल पुरस्कार विजेता मुहम्मद युनुस कार्यभार सम्हाल्न बंगलादेश पुगेका छन्।

बंगलादेश पुगे लगत्तै उनले देशमा धेरै काम गर्न बाँकी रहेको बताए। साथै बंगलादेशका जनता उत्साहित रहेको युनुसले बताएको बीबीसीले जनाएको छ। उनी पेरिसबाट बंगलादेश पुगेका हुन्।

नोबेल पुरस्कार विजेता अर्थशास्त्री युनुसलाई अन्तरिम सरकारको मुख्य सल्लाहकारका रूपमा मनोनित गर्ने निर्णय राष्ट्रपति मोहम्मद शहाबुद्दीन, सैन्य अधिकारी र विद्यार्थी नेताहरूबीच भएको बैठकपछि लिइएको थियो।

बंगलादेशका आन्दोलनरत विद्यार्थीहरूले सैन्य नेतृत्वको सरकार स्वीकार्य नहुने बताएका थिए। उनीहरूले प्राध्यापक युनुसको नेतृत्वलाई स्वीकार गरेका छन्।

युनुसले पत्रकारहरूसँग कुरा गर्दै दोस्रोपटक स्वतन्त्रता प्राप्त भएको महसुस भइरहेको बताए। उनले देशमा कानुन व्यवस्था कायम गर्न अपील गरे।

पछिल्लो केही दिनयता विद्यार्थी आन्दोलनका कारण बंगलादेश अशान्त बनेको छ। विद्यार्थीहरूको आरक्षणविरोधी आन्दोलन उग्र भएपछि प्रधानमन्त्री शेख हसिना राजीनामा गरेर देश छोडेर भागेकी छन्।सेनाको विमान चढेर देश छोडेकी उनी भारतमा शरण लिएको बताइएको छ।

बंगलादेशमा गत जुनमा सुरू भएको आरक्षणविरोधी प्रदर्शनमा तीन सयबढी प्रदर्शनकारीको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन्। सरकारी सेवामा हसिना नेतृत्वको सरकारले ३० प्रतिशत आरक्षणको व्यवस्था गरेपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए।

बंगलादेशको सर्वोच्च अदालतले आरक्षणको व्यवस्थालाई खारेज गरिदिए पनि प्रधानन्त्री हसिनाको राजीनामा माग गर्दै विद्यार्थीहरूले पुनः आन्दोलन चर्काएका थिए। लाखौंको संख्यामा विद्यार्थी र आमनागरिक राजधानी ढाकाको सडकमा उत्रिएपछि हसिना राजीनामा गरेर देश छोड्न बाध्य भएकी थिइन्।

प्रकाशित: २४ साउन २०८१ १६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 7 =