पालिकाले कर्मचारी नपठाउँदा अजिरकोट-४ को सेवा प्रवाह ठप्प, कार्यालय कुर्दै वडा अध्यक्ष

हिमाल प्रेस २४ साउन २०८१ १५:१५
604
SHARES
पालिकाले कर्मचारी नपठाउँदा अजिरकोट-४ को सेवा प्रवाह ठप्प, कार्यालय कुर्दै वडा अध्यक्ष

काठमाडौँ- गोरखाको अजिरकोट गाउँपालिका-४मा कर्मचारी अभावले नियमित सेवा नै ठप्प भएको छ। वडा अध्यक्ष जंगबहादुर गुरुङले सार्वजनिक सूचना जारी गरी कर्मचारी नभएको कारणले वडाबाट हुने विभिन्न सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द हुने बताएका हुन्।

‘अजिरकोट गाउँपालिका वडा नम्बर ४ सिम्जुङमा कर्मचारी नभएको कारण यस वडा कार्यालयबाट प्रवाह हुने प्रशासन, पञ्जिकरण र सामाजिक सुरक्षा नवीकरणसम्बन्धी काम अर्को सूचना प्रकाशित नहुन्जेलसम्मको लागि बन्द रहने भएको जानकारी’ अध्यक्ष गुरुङले जारी गरेको सूचनामा उल्लेख छ।

वडा अध्यक्षलाई जानकारी नगराई वडा सचिव बिदामा बसेपछि वडाबाट हुने सेवा प्रवाह ठप्प भएको हो।

‘करारका कर्मचारी गाउँपालिका कार्यपालिकाको असार २३ गतेको बैठकले हटाइहाल्यो। मैले पालिका अध्यक्षलाई करारका कर्मचारीको पुनर्वहालीको माग गरिरहेकै छु,’ वडा अध्यक्ष गुरुङले भने, ‘अहिले मेरो वडामा भएको वडा सचिव पनि मलाई जानकारी नगरी बिदामा बस्यो। भएका करारका दुई कर्मचारी पालिकाले निकालिदियो।’

वडा नम्बर ४ मा कृषि प्राविधक र सामाजिक परिचालिकाको करार सम्झौता नवीकरण नगरेपछि कार्यालय कर्मचारी बिहीन भएको हो। ‘करारका कर्मचारीको नवीकरण गरिदिएन,’ उनले थपे, ‘वडाबाट हुने सेवा सबै ठप्प भए पनि कार्यालय त बन्द गर्नु भएन भनेर कार्यालय कुरेर बसिरहेको छु।’ उनले कार्यालयमा रहेको एक जना पशु प्राविधिक भने गाउँमा गाइबस्तु बिरामी भएको भन्ने खबर आएपछि गाउँमा सेवा दिन गएको बताए।

के भन्छन् गाउँपालिका अध्यक्ष ?

यता गाउँपालिका अध्यक्ष दीपक देवकोटा भने वडा अध्यक्ष र सचिवबीचको विवादले अहिलेको अवस्था सिर्जना भएको बताउँछन्। ‘वडा अध्यक्ष र वडा सचिव रिता अधिकारीबीच केके विषयमा मनमुटाव भएछ,’ देवकोटाले भने, ‘त्यसपछि वडा सचिव पालिका आउनु भएको छ। हामीले तत्काललाई सेवा प्रवाह बन्द नहोस् भनेर पालिकाको प्रशासनको एकजना कर्मचारी खटाएका छौँ। अब वडाबाट पाउने सेवा जनताले पाउँछन्।’

उनले वडा अध्यक्ष र सचिवबीच के विषयमा विवाद भएको भन्नेबारे खुलाएनन्।

प्रकाशित: २४ साउन २०८१ १५:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + six =