काठमाडौँ- भारतले ‘अवैध रूपमा कब्जा’ गरेको जम्मू–कश्मीरको जनसंख्याको संरचना र राजनीतिक परिदृष्य परिवर्तन गर्न निरन्तर अभियान सुरू गरेको पाकिस्तानले आरोप लगाएको छ।
बुधबार काठमाडौँस्थित पाकिस्तानी राजदूतवासले आयोजना गरेको संवाद कार्यक्रममा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले सन्देश पठाएर यो आरोप लगाएका हुन्।
राष्ट्रपति जरदारीले भारतको तर्फबाट अगस्त २०१९ देखि जारी यो अभियान संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्ताव र चौथों जेनेभा महासन्धिसहित अन्तर्राष्ट्रिय कानुनविपरित भएको बताएका छन्।
पाकिस्तानले जम्मू–कश्मीरका जनताको आत्मनिर्णयको अधिकार प्राप्तिका लागि संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्तावमा पूर्णरूपले नैतिक, कूटनीतिक र राजनीतिक समर्थन जारी राख्ने उनले आफ्नो सन्देशमा भनेका छन्।
त्यस्तै प्रधानमन्त्री मियान मुहम्मद सहबाज सरिफले पठाएको सन्देशमा जम्मू–कश्मीर भारतको अभिन्न अङ्ग भएको भन्दै विश्वलाई विश्वासमा लिने गलत प्रयास गरिरहेको बताएका छन्।
अन्तर्राष्ट्रिय कानुन, ऐतिहासिक तथ्य, नैतिक सिद्धान्तलगायतका विषय भारतीय दाबीभन्दा फरक रहेको सरिफले उल्लेख गरेका छन्।
कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले जम्मू–कश्मीरका जनताको न्यायका लागि विश्वको समर्थनको आवश्यकक्तामाथि जोड दिए।