मधेशमा मन्त्री नै मन्त्री

हिमाल प्रेस २३ साउन २०८१ ६:५९
10
SHARES
मधेशमा मन्त्री नै मन्त्री

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले २० सदस्य मन्त्रिपरिषद् बनाएका छन्। १५ सदस्यीय मन्त्रिपरिषद्को नेतृत्व गरिरहेका सिंहले मंगलबार पाँच राज्यमन्त्री नियुक्त गरेका हुन् । सत्तारुढ नेपाली कांग्रेसबाट २ तथा जनमत, एमाले र लोसपाबाट १–१राज्यमन्त्री नियुक्त भएका हुन्।

कांग्रेससबाट रेखा ठाकुर भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजक उर्जा सिँचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्री नियुक्त भएका छन्। एमालेबाट मो. जयद आलम भौतिक पूर्वाधार विकास, लोसपाबाट रामबाबु यादव शिक्षा तथा संस्कृति र जनमतबाट शम्भु साह उद्योग पर्यटन राज्यमन्त्री बनेका हुन् । नवनियुक्त राज्यमन्त्रीहरुले मंगलबार नै शपथ लिएका छन्।

योसँगै मधेश सरकारको मन्त्रिपरिषद् अहिलेसम्मकै ठूलो आकार २० सदस्य बनेको छ। मधेशमा मुख्यमन्त्री कार्यालय बाहेक ११ मन्त्रालय छ । यसअघि १५ सदस्यीय मन्त्रिपरिषद् बनेको थियो । मुख्यमन्त्री सिंहले ३ साउनमा कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउँदा पनि सबै मन्त्रालयले नेतृत्व पाइसकेको थियो । सरकारमा जनमतका मुख्यमन्त्री बाहेक दुई मन्त्री, एमालेको चार मन्त्री र दुई राज्यमन्त्री, कांग्रेसको चार मन्त्री र लोसपाको एक मन्त्री थिए।

तर लोसपालाई एक राज्यमन्त्री दिने मौखिक सहमति मुख्यमन्त्री सिंहले गरिसकेका थिए । लोसपाकी रानी शर्मा तिवारी शिक्षा तथा संस्कृति मन्त्री भइसकेकी थिइन्।

केन्द्र सरकारमा पनि मधेशबाट राजकुमार गुप्ता (सङ्‍घीय मामिला तथा सामान्य प्रशासन), अजयकुमार चौरसिया (कानून, न्याय तथा संसदीय मामिला), तेजुलाल चौधरी (युवा तथा खेलकूद) छन्। नवलकिशोर साह सुडी (महिला,बालबालिका तथा ज्येष्ठ नागरिक), शरतसिंह भण्डारी (श्रम, रोजगार तथा सामाजिक सुरक्षा) र प्रदीप यादव ( स्वास्थ्य तथा जनसंख्या) मन्त्री छन्।

प्रकाशित: २३ साउन २०८१ ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =