कमजोर भूगोल र भिरालो सडकका कारण सिमलताल दुर्घटना  : प्रतिवेदन

हिमाल प्रेस २२ साउन २०८१ १६:०३
30
SHARES
कमजोर भूगोल र भिरालो सडकका कारण सिमलताल दुर्घटना  : प्रतिवेदन चितवनको सिमलतालस्थित त्रिशूली नदीमा असार २८ गते दुईवटा बस खसेपछि उद्धारमा खटिएका सुरक्षाकर्मी। फाइल तस्बिर

काठमाडौँ- चितवनको सिमलतालमा भएको बस दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ। सिंहदरबारमा मंगलबार गत असार २८ गते परेको अविरल वर्षाका कारण पहिरो जाँदा चितवनको सिमलतालमा दुई बससहित यात्रु त्रिशुलीमा बेपत्ता भएपछि दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलका संयोजक सहसचिव छवि रिजालले गृहमन्त्री रमेश लेखकलाई अध्ययन प्रतिवेदन बुझाएको हो।

प्रतिवेदनमा दुर्घटना स्थलमा कमजोर भूगोल तथा अत्यधिक भिरालो देखिएको जनाइएको छ। सडकमा कुनै टेवा पर्खाल निर्माण नगर्दा वर्षाको समयमा पहिरो गई सडकमा क्रस गर्दै गएका दुईवटा बसलाई पहिरोले धकेलेर त्रिशूली नदीमा खसालेको देखिएको कार्यदल संयोजक रिजालले बताए।

दुर्घटनास्थलभन्दा माथिल्लो भेगमा ग्रामिण सडक निर्माण गर्दा समग्र वातावरणीय पक्षमा ध्यान नदिएको र त्यसको प्रभाव तल्लो क्षेत्रमा परेको समेत देखिएको उनले बताए।

अध्ययनका क्रममा दुर्घटनामा बाच्न सफल भएका व्यक्ति, प्रत्यक्षदर्शी, सडक विभाग, चितवन प्रशासन कार्यालयलगायतसँग छलफल गरिएको रिजालले जानकारी दिए। उनले सडक दुर्घटनामा ज्यान गएकाको परिवारलाइ उचित क्षतिपूर्ति र बिमाबापतको रकम दिन ढिलाई गर्न नहुनेमा जोड दिए।

अध्ययन प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले अझै पनि दुर्घटनामा परेका अधिकांश फेला नपर्नु दुःखद भएको भन्दै आगामी दिनमा दुर्घटना न्यूनीकरण गर्न सरकारले आवश्यक नीति बनाउने बताए। उनले कार्यदलले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।

गत असार २८ गते नारायणगढ-मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परी काठमाडौँबाट गौर जाँदै गरेको र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको दुई बस त्रिशूली नदीमा खसेका थिए। दुई वटा बस अझै फेला परेका छैनन् भने २४ यात्रुको शव फेला परेको छ। तीमध्ये १९ जनाको मात्रै सनाखत भएको छ। दुर्घटनामा अझै कम्तिमा ३८ यात्रु बेपत्ता छन्।

प्रकाशित: २२ साउन २०८१ १६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fourteen =