योजना र बजेटमा विभेद भयो : दलित महिला जनप्रतिनिधि

हिमाल प्रेस २२ साउन २०८१ १४:००
64
SHARES
योजना र बजेटमा विभेद भयो :  दलित महिला जनप्रतिनिधि

सुर्खेत- दलित महिला जनप्रतिनिधिले वडाभित्रका योजनामा विभेद भोग्नुपरेको गुनासो गरेका छन्। वीरेन्द्रनगर नगरपालिकाका दलित महिला जनप्रतिनिधिहरूले दलित लक्षित कार्यक्रमका लागि बजेट थोरै छुट्ट्याएर विभेद गरिएको गुनासो  गरेका हुन्।

दलित महिला संघ सुर्खेतले आयोजना गरेको एक कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिले वडामा दलित लक्षित कार्यक्रम र बजेटका लागि अझै दबाब दिनैपर्ने अवस्था रहेको बताए।

वीरेन्द्रनगर नगरपालिका वडा नं १ की दलित महिला वडा सदस्य मनमाया विकले निर्वाचित भएको पहिलो वर्ष हस्ताक्षर गर्ने काममात्रै भएको बताइन्। वडाभित्र लक्षित कार्यक्रम तर्जुमा भन्दा समग्रताको कार्यक्रम राखेर सबैलाई एकै घानमा राख्न खोजिने उनको भनाइ छ।

वीरेन्द्रनगर नगरपालिका वडा नं ४ का दलित महिला जनप्रतिनिधि डम्मरी नेपालीले बजेट छुट्याउने बेला थाहा नदिने र दलित लक्षितको बजेट रकमान्तर गरी अन्य योजनामा राखिने बताइन्। निर्वाचित भएको पहिलो वर्ष आफूहरुलाई ऐननियम बुझ्नै लागेको र त्यतिबेला दलित लक्षित कार्यक्रमको बजेट फिर्ता गएको उनले जानकारी दिइन्।

वीरेन्द्रनगर नगरपालिका वडा नं ६ का दलित महिला वडा सदस्य कमला नेपालीले  दलित लक्षित योजना तथा बजेटका लागि दबाब दिनैपर्ने अवस्था रहेको बताइन्।

सुरुमा काम गर्न अलमल भएको स्मरण गर्दै उनले अहिले सहज रूपमा नभए दबाब दिएर भए पनि काम गर्न र गराउन परेको बताइन्। कार्यक्रममा सहभागी पूर्वजनप्रतिनिधिहरूले पनि दलितका लागि कार्यक्रम र बजेट ल्याउन निकै संघर्ष भोग्नुपरेको बताएका छन्।

वडा नं ७ का दलित महिला वडा सदस्य चन्द्रा नेपालीले भने आफूले वडामा कुनै पनि विभेद नभोगेको बताइन्। योजना बनाउँदा र बजेट छुट्याउँदा आफूसँग पनि सल्लाह गर्ने गरिएको उनको भनाइ छ।

दलित महिला संघ सुर्खेतकी अध्यक्ष मञ्जु सुनारले दलित लक्षित बजेट र कार्यक्रमममा पनि दलित महिलारूलाई प्राथमिकतामा राख्न सुझाव दिइन्। उनले भनिन्, ‘हरेक तहमा बजेट र योजनाका लागि सहज रूपमा नपाइने हुँदा त्यसका लागि लड्नैपर्ने अवस्था अझै रहनु दुःखद् हो।’

प्रकाशित: २२ साउन २०८१ १४:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast