इटहरीमा प्रधानाध्यापकद्वारा ८० लाख अपचलन प्रकरण

प्रअले खर्च गरेको स्वीकार गरे, छानबिन समिति गठन

विवेक विवश रेग्मी २१ साउन २०८१ २०:०६
206
SHARES
प्रअले खर्च गरेको स्वीकार गरे, छानबिन समिति गठन

इटहरी- इटहरी-१४ स्थित शान्ति सिर्जना माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल तिम्सिनाले उपमहानगरबाट गएको ८० लाख रूपैयाँ आफैँले खर्च गरेको स्वीकार गरेका छन्।

शनिबार व्यवस्थापन समिति, स्थानीय अभिभावक र सरोकारवाला निकायसँगको बैठकमा प्रअ तिम्सिनाले आफूबाट गल्ती भएको स्वीकार गर्दै खर्च पनि आफैँले गरेको स्वीकार गरेका छन्।

उनले आफूबाट गल्ती भएको स्वीकार गर्दै बचाइदिनसमेत आग्रह गरेका थिए। ‘म बाट गल्ती भयो, मेरो पद र जागिर जोगाइदिनुहोस्’ भन्दै उनले शनिबारको बैठकमा हारगुहार गरेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।

‘मैले अहिलेसम्म अवमूल्यन गरेँ, यो मेरो ठूलो भूल थियो। त्यो पापको परिणाम आज यो अवस्था आयो,’ उनले बैठकमा भने, ‘यहाँहरूको गोडा छोएर भन्न चाहन्छु कि, यहाँहरूले मलाई क्षमायाचना दिनुहुनेछ। अरू निर्णय केही नगरिदिनुहोस्, नगरबाट पनि छानबिन समिति बनेको छ। यो मेरा लागि अन्तिम अवसर हुन्छ।’

खास गरी आर्थिक वर्ष ०७९/८० मा शिक्षकको तलब शीर्षकको बजेटमा उपमहानगरले शान्ति सिर्जना माध्यमिक विद्यालयलाई सात लाख ३६ हजार ६६३ रुपैयाँ उपलब्ध गराउनुपर्ने थियो। तर उपमहानगरका कर्मचारीको लापरबाहीका कारण विद्यालयको खातामा ८८ लाख २४ हजार २४३ रुपैयाँ भुक्तानी भयो। उक्त रकम भुक्तानी भएको २२ महिनासम्म प्रअ तिम्सिनाले उपमहानगरमा कुनै जानकारी गराएनन्।

केही महिनाअघि मात्रै आन्तरिक लेखा परीक्षणको कार्यालयले सो रकम बढी गएको देखाएपछि उपमहानगरले थाहा पाएको थियो। सोहीअनुसार उपमहानगरले असार २७ र साउन १ गते विद्यालयलाई रकम फिर्ता गर्न पत्र काटेको थियो। विद्यालयलाई पत्र काटे पनि विद्यालयमा प्रअ तिम्सिनाबाहेक अरू कसैलाई थाहा भएन। बरु समाचार बाहिरिएपछि भने विद्यालय व्यवस्थापन समिति र त्यहाँका शिक्षक, कर्मचारीलाई थाहा भएको व्यवस्थापन समितिका अध्यक्ष रम्तुल मियाँले बताए।

‘हाम्रो कमिटी बनेको १६ महिना भयो। २२ महिनाअघि नै पैसा आएको रहेछ। तर हाम्रो कमिटी आइकन पनि कुनै जानकारी भएको छैन,’ उनले भने, ‘प्रअले हालसम्म कुनै पनि निर्णय नगरिकन खर्च गरेका रहेछन्। त्यो पनि मिडियामार्फत् नै थाहा भयो।’

विद्यालय व्यवस्थापन समितिले प्रअ तिम्सिनालाई स्पष्टीकरण सोध्दा उनले स्वयम् जिम्मेवारी लिने बताएका छन्। उनले भने, ‘प्रधानाध्यापकले यसको जिम्मेवारी आफू स्वयंले लिन्छु भन्नुभएको छ। यो ठूलो घोटाला हो। यसलाई व्यवस्थापन समितिले गम्भीर रूपमा लिएको छ।’ यो घटनाले निष्कर्ष नपाउँदासम्म प्रअ तिम्सिनालाई हाजिर गर्न नदिने निर्णय भएको उनले बताए।

विद्यालयका लेखा सहायक सन्तोष सरदारले भने आफूलाई पैसा आएको र गएको केही पनि थाहा नभएको बताए। ‘म लेखा भएर पनि उपमहानगरबाट पैसा आएको, लगेको कुरा, कसरी कहाँ गयो भन्ने पनि थाहा भएन,’ उनले भने, ‘समाचार बाहिरिएपछि मात्रै मलाई थाहा भयो। अहिले पो कुरा बुझ्दा चकित हुने कुरा आयो। आफैँ अचम्मित छु।’

आफूले हस्ताक्षर नै नगरी पैसा कसरी निस्कियो भन्ने घटना रहस्यमय भएको सरदारले बताए। यसरी हेर्दा प्रअ तिम्सिनाले नै ‘कीर्ते हस्ताक्षर गरी रकम अपचलन गरेको हुन सक्ने’ स्रोतको दाबी छ। स्रोतका अनुसार आफूमाथि कारबाही हुने भएपछि बचाइदिन भन्दै प्रअ तिम्सिना शक्ति केन्द्र धाउन थालेका छन्।

उपमहानगरले बनायो छानबिन समिति

यसैबीच इटहरी उपमहानगरपालिकाले तीन सदस्यीय छानबिन समिति बनाएको छ। लेखा अधिकृत लखन चौधरीको संयोजकत्वमा प्रशासन अधिकृत सञ्जीव खड्का र कानुन अधिकृत कमलराज पोखरेल सदस्य रहने गरी उपमहानगरले छानबिन समिति बनाएको हो।

छानबिन समिति संयोजक चौधरीले अहिले छानबिन भइरहेको बताए। ‘हामीले अहिले कागजपत्र अध्ययन गरिरहेका छौँ। शिक्षा शाखालाई पनि पत्रमार्फत कारण खुलाउन भनेका छौँ,’ उनले भने, ‘प्रअको विषयमा कागजपत्र अध्ययन भइरहेको छ।’

उनका अनुसार साउन ३१ गतेभित्र समितिले प्रतिवेदन बुझाउनेछ। उनले भने, ‘तत्काल छानबिनको कुरा बाहिर ननिकालौँ भन्ने हो। हामीले लिखित प्रतिवेदन बुझाइसकेपछि लिनुहोला।’

२०७९ सालको साउन, भदौ, असोज (चाडपर्व खर्चसमेतको) तलबभत्ता वापत उपमहानगरले सात लाख ३६ हजार ६६३ रुपैयाँ रकम उपलब्ध गराउनुपर्ने भए पनि ८८ लाख २४ हजार २४३ रुपैयाँ भुक्तानी दिएको थियो।

यसरी हेर्दा ८० लाख ८७ हजार ५८० रुपैयाँ रकम बढी दिएको पाइन्छ। उक्त रकम विद्यालयमा जम्मा भएको २२ महिनापछि मात्रै आन्तरिक लेखापरीक्षण (आलेप)ले उपलब्ध हुने भन्दा बढी भुक्तानी भएको पत्ता लगाएपछि यो घटना बाहिरिएको हो।

घटना बाहिरिए पनि प्रअ तिम्सिना घटना सामसुम पार्न लागिपरेका थिए। तर समाचार बाहिरिएपछि भने विद्यालय व्यवस्थापन समितिले पनि थाहा पाएपछि घटनाले थप उत्कर्ष रूप लिँदै गएको हो। स्रोतका अनुसार प्रअ तिम्सिनाले हालसम्म १४ लाख रुपैयाँ भने फिर्ता गरेका छन्।

सात लाख पाउनुपर्ने विद्यालयले ८८ लाख रुपैयाँ पाएपछि…

प्रकाशित: २१ साउन २०८१ २०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − one =