प्रजातन्त्र सेनानीहरूलाई राज्यले सम्मान गर्नुपर्छ : राष्ट्रपति पौडेल

हिमाल प्रेस २१ साउन २०८१ १७:५६
8
SHARES
प्रजातन्त्र सेनानीहरूलाई राज्यले सम्मान गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र स्थापना र पुनस्थापनाको अविश्राम र अथक संघर्षका कष्टकर क्षण व्यतित गर्ने प्रजातन्त्र सेनानीहरूको त्याग र संघर्षको राज्यले उचित कदर र सम्मान गर्नुपर्ने बताएका छन्। प्रजातन्त्रका लागि संघर्ष गरेका प्रजातन्त्र सेनानीहरूसँग सोमबार राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन्।

‘प्रजातन्त्र सेनानीहरूले विगतमा गर्नुभएको योगदानको कदर गर्दै उहाँहरूलाई सरकार र सम्बन्धित निकायले दिनुपर्ने सम्मान, सुविधा र सहयोगमा कुनै कञ्जुस्याइँ हुने छैन भन्ने मैले विश्वास लिएको छु,’ उनले भने।

राष्ट्रपति पौडेलले स्वतन्त्रता सेनानीहरूले राखेका विषयप्रति आफ्नो ध्यानाकर्षण भएको बताए। ‘नेपालमा प्रजातन्त्र स्थापना र पुनस्थापनामा तपाईंहरूको संघर्ष, त्याग र योगदान महत्त्वपूर्ण छ, अहिले तपाईंहरूलाई राज्यले जेजति गर्नुपर्ने थियो, त्यो भइरहेको छैन भन्ने मैले महसुस गरेको छु,’ उनले भने।

शहीद र प्रजातन्त्र सेनानीहरूको त्याग, बलिदान र संघर्षका कारण अहिले हामीले संघीय लोकतान्त्रिक गणतन्त्रान्त्रमक शासन व्यवस्था पाएको उनको भनाइ थियो। ‘राजनीतिक स्थायित्व, सुशासन र जनताको आकांक्षा पूरा हुन सके मात्र मुलुक विकासको बाटोमा अघि बढ्छ, हामीले अपनाएको शासन प्रणाली सुदृढ हुन्छ र लोकतान्त्रिक मूल्यमान्यता, आदर्श र निष्ठाका साथ हाम्रा अग्रजहरूले गरेको त्याग र संघर्षले सार्थकता पाउनेछ’, राष्ट्रपति पौडेलले भन्नुभयो। यसमा सबै लोकतन्त्रप्रेमीहरू सधैँ सचेत र जागरुक रहनुपर्ने उनको भनाइ थियो।

सो अवसरमा नेपाल प्रजातन्त्र सेनानी संघका अध्यक्ष बालकृष्ण दाहालले प्रजातन्त्र सेनानीहरूका लागि राज्यले दिनुपर्ने सुविधा र सम्मानबारे राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: २१ साउन २०८१ १७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − sixteen =