इजरायल-लेबनान तनावले त्रासमा दुई हजार नेपाली

रमेश भारती २१ साउन २०८१ १८:२१
16
SHARES
इजरायल-लेबनान तनावले त्रासमा दुई हजार नेपाली फाइल तस्बिर

काठमाडौँ- इजरायल र हिजबुल्लाहबीचको आपसी द्वन्द्वका कारण लेबनानमा रहेका करिब दुई हजार नेपाली त्रासमा रहेका छन्। गैरआवासीय नेपाली संघ लेबनानका पूर्वअध्यक्ष अशोक थापाले नेपालीहरू लेबनानमाथि जुनसुकै बेला आक्रमण हुने त्रासमा रहेको बताएका हुन्। उनले टेलिफोन सम्पर्कमा भने, ‘लेबनानमा २००६ मा पनि धेरै ठूलो लडाइँ भएको थियो। त्यसयता लेबनानमा सामान्य लडाइँ भइरहेको छ। यसपटक भने इजरायलले हमासमा जस्तै आक्रमण गर्छ भन्ने त्रासमा छन्’, उनले भने।

उनी पनि लेबनानमा रहेका नेपाली र उनीहरु कार्यरत रोजगारदातासँग निरन्तर सम्पर्कमा रहेको बताउँछन्। गत बुधबार इजरायलद्वारा लेबनानको दायिहयामा गरिएको आक्रमणमा हिजबुल्लाहका वरिष्ठ कमान्डर फुआद सुकर मारिएपछि लेबनान र इजरायलबीच युद्धको सम्भावना बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले लेबनानमा कार्यरत नेपाली कामदारको विवरण संकलन गर्ने काम कायरोस्थित नेपाली दूतावासले सुरु गरेको जानकारी दिए। उनका अनुसार लेबनानमा दुई हजारभन्दा बढी नेपाली रोजगारीमा रहेको अनुमान छ। गत वर्ष लेबनान सरकारले १ हजार ५० नेपाली त्यहाँ कार्यरत रहेको विवरण इजिप्टको कायरोस्थित दूतावासलाई उपलब्ध गराएको थियो। थप एक हजारभन्दा बढी अवैध रूपमा बसेर काम गरिरहेको हुनसक्ने परराष्ट्र मन्त्रालयको अनुमान छ।

लेबनानमा रहेका नेपाली सुरक्षित रहेको राईले बताए। ‘दूतावासले रोजगारदाताहरूसँग निरन्तर सम्पर्क गरिरहेको छ। केही जटिल समस्या आइपरे कायरोस्थित दूतावास र परराष्ट्र मन्त्रालयले समन्वय गर्नेछ’, उनले भने।

परराष्ट्र मन्त्रालयले लेबनानमा रहेका सबै नेपाली सुरक्षित रहेको जनाएको छ। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै लेबनानमा रहेका नेपालीको सहजताको लागि निरन्तर प्रयत्न भइरहेको जनाएको छ। ‘लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ सरकार सचेत छ’, परराष्ट्रले भनेको छ, ‘हालसम्म त्यहाँ रहेका नेपाली नागरिक सुरक्षित रहेको तथा उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको छ।’

लेबनानमा रहेका नेपालीहरूको सूची अद्यावधिक गर्ने प्रयोजनका लागि कायरोस्थित नेपाली दूतावासको वेबसाइटमा रहेको लिंकमा आवश्यक विवरण उपलब्ध गराउन पनि परराष्ट्रले लेबनानमा रहेको नेपालीलाई अनुरोध गरेको छ।

लेबनानबाट विदेशी नागरिक स्वदेश फर्किन थालेका छन्। गत बुधबारदेखि लेबनानमा युद्धको सम्भावना बढेपछि भारत, चीन, मध्यपूर्वका देश, युरोप, क्यानडा र अमेरिकाले आफ्ना नागरिकलाई स्वदेश फर्किन र सुरक्षित रहन निर्देशन दिएका छन्। अमेरिकी विदेश मन्त्रालयले आइतबार लेबनानमा रहेका नागरिकलाई तत्काल टिकट काटेर स्वदेश फर्किन आग्रह गरेको थियो।

गत वर्ष अक्टोबरदेखि इजरायल र हमासबीच गाजामा युद्ध हुँदै आएको छ। गत बुधबार हमासका राजनीतिक प्रमुख वरिष्ठ कमान्डर फुआद सुकर इरानमा मारिएपछि मध्यपूर्वमा तनाव बढेको हो। यसका कारण इजरायल, इरान, लेबनान, टर्की र खाडीमा रहेका नेपाली कामदारलाई इजिप्टको कायरोस्थित नेपाली दूतावासले सतर्कता अपनाउन सूचना जारी गरेको छ। दूतावासले लेबनानमा कार्यरत नेपाली कामदारलाई सूरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

सरकारले भन्यो : लेबनानमा रहेका सबै नेपाली सुरक्षित छन्

प्रकाशित: २१ साउन २०८१ १८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =