गुरुदेव-पारिश्रमिक विवादमा तानिए मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष कापडी

हिमाल प्रेस २१ साउन २०८१ १२:३१
20
SHARES
गुरुदेव-पारिश्रमिक विवादमा तानिए मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष कापडी

काठमाडौँ- शास्त्रीय संगीतकार एवं गायक गुरुदेव कामतलाई पारिश्रमिक नदिएको विषयमा मधेश प्रज्ञा-प्रतिष्ठान विवादमा मुछिएको छ। कार्यक्रम गर्न कबोल गरेको पारिश्रमिक कामतलाई नदिएपछि प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडी ‘भ्रमर’ विवादमा मुछिएका हुन्।

प्रतिष्ठानको वार्षिकोत्सव समारोहमा एकल प्रस्तुति गर्न लगाएर कबोल गरेको पारिश्रमिक कामतलाई नदिएको आरोप अध्यक्ष कापडीमाथि लागेको छ। प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा जनकपुरधाममा गत फागुन १८ गते आयोजित कार्यक्रममा कामतले चार घण्टा एकल प्रस्तुति दिएका थिए। यसका लागि प्रतिष्ठानका अध्यक्ष कापडीले एक लाख पारिश्रमिक सकारेर आफूलाई नदिएको भन्ने भिडियो कामतको निधनपछि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

शास्त्रीय संगीतकार एवं गायक गुरुदेव कामतको साउन १७ गते निधन भएको छ। ६९ वर्षका उनी मिर्गौला रोगबाट पीडित थिए। काठमाडौँमा बस्दै आएका कामत आर्थिक समस्याका कारण उपचार गराउन नसकेपछि एक महिनाअघि सिरहाको पोखरभिण्डा फर्किएका थिए।

भिडियोमा कामतले भनेका छन्, ‘प्रस्तुतिका लागि रामभरोस कापडीले एक लाख पारिश्रमिक दिने भन्नुभएको थियो। पटकपटक आग्रह गर्दा पनि उहाँले मलाई पारिश्रमिक दिन मान्नु भएन।’

अध्यक्ष कापडीले भने कार्यक्रम गरेबापत एक लाख पारिश्रमिक दिने भनेर कामतसँग कुनै सम्झौता नभएको दाबी गरेका छन्।  ‘स्वर्गीय कामतले कार्यक्रम गरेबापत एक लाख रुपैयाँ दिने सहमति भएको भनिए पनि कहाँ, कोसँग र के आधारमा सहमति भएको कुरा खुलाउनुभएको छैन। कार्यक्रम गरेबापत पारिश्रमिक दिने कुनै पनि सम्झौता प्रतिष्ठानसँग नभएको, बरु उहाँलाई सम्मानस्वरूप केही रकम दिने भनी निर्णय भई शिक्षा तथा संस्कृति मन्त्रालयमा पठाइएको व्यहोरा जानकारी गराउन चाहन्छौँ,’ कापडीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

वार्षिकोत्सवका अवसरमा कामतले गरेको प्रस्तुतिको फोटोहरू मधेश प्रज्ञा प्रतिष्ठानले आफ्नो क्यालेन्डरमा समेत छापेको छ। कामतसँग प्रस्तुति गर्न लगाएर पारिश्रमिक नदिएको भन्दै अध्यक्ष कापडी विवादमा मुछिएपछि प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयले पनि चासो व्यक्त गरेको छ।

मन्त्रालयले प्रतिष्ठानलाई पत्र लेखेर यो विषयमा सत्य तथ्य जानकारी गराउनुका साथै कार्यक्रमसम्बन्धी सम्पूर्ण कागजात पेस गर्न प्रतिष्ठानलाई पत्र पठाएको छ।

‘…मधेश प्रज्ञा प्रतिष्ठानको क्यालेन्डरमा स्वर्गीय गुरुदेव कामतले गरेको प्रस्तुतिको फोटो र भिडियोसमेत देखिएको हुँदा सो विषयमा यस शिक्षा तथा संस्कृति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ पत्रमा लेखिएको छ, ‘सो सम्बन्धमा के कसो भएको हो? समाधानका लागि केके गरियो? भन्ने विषयमा जानकारी गराउनुका साथै उक्त कार्यक्रमसँग सम्बन्धित सम्पूर्ण कागजात यस मन्त्रालयमा साउन २२ गतेभित्र पेस गर्न मन्त्रीस्तरीय निर्णयअनुसार अनुरोध छ।’

दुवै मिर्गौला बिग्रिएर उपचारका लागि आर्थिक समस्या झेलिरहेका कामतलाई पारिश्रमिक उपलब्ध नगराएको भन्दै प्रतिष्ठानका अध्यक्ष कापडीको चौतर्फी आलोचना भइरहेको छ। मैथिली साहित्यकार धीरेन्द्र प्रेमर्षि, अशोक दत्तलगायतले कामतलाई पारिश्रमिक उपलब्ध नगराएकोमा प्रतिष्ठानका अध्यक्ष कापडीको आलोचना गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast