इजरायली आक्रमणबाट ध्वस्त भएको भवनमा आगो निभाउँदै प्यालेस्टाइनी उद्धारकर्ताहरू। तस्बिर : एएफपी/रासस
गाजापट्टी– गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार गाजा सहरका दुई विद्यालयमा इजरायली आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको जनाएको छ। इजरायली सेनाले भने हमासको कमान्ड सेन्टरमा आक्रमण गरेको बताएको छ। गाजामा जुलाई ६ यता आक्रमण भएका विद्यालयको संख्या कम्तीमा ११ पुगेको छ। यसमा हमासद्वारा सञ्चालित क्षेत्रका अधिकारीहरूले यसअघि दिएको संख्या आधारमा करिब एक सय ५० जना मारिएका छन्।
‘हसन सलामेह नरसंहार र अल–नासर विद्यालयमा भएको बम विस्फोटमा सहिद हुनेको संख्या ३० पुगेको छ, दर्जनौँ घाइते पनि भएका छन्’, नागरिक रक्षाका प्रवक्ता महमुद बासलले भने। मृतक र घाइते हुनेमा अधिकांश महिला तथा बालबालिका छन्।
उनले इजरायल र हमास लडाकुहरूबीच चलिरहेको युद्धमा घरबाट विस्थापित प्यालेस्टिनीहरूलाई स्कूलहरूले आवास प्रदान गरिरहेको बताए। रासस/एएफपी



