खानेपानी विवादले दिनभर अशान्त बन्यो धरान

विवेक विवश रेग्मी २० साउन २०८१ २०:३०
52
SHARES
खानेपानी विवादले दिनभर अशान्त बन्यो धरान

इटहरी- धरानमा खानेपानीको विवाद उत्कर्षमा पुगेको छ। खानेपानी विवादका कारण आइतबार दिनभर धरान अशान्त बन्यो।

दिनभर अशान्त बनेको धरानमा खानेपानीको कार्यालयमा तालाबन्दी गरिएको छ। खानेपानी महसुल नौ हजार नौ सय प्रतिशतसम्म वृद्धि गरिएको भन्दै खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलको कार्यकक्षमा तालाबन्दी गरिएको हो। धरानका १० राजनीतिक दलहरूसहित उपभोक्ताहरूले विरोध जनाउँदै पोखरेलको कार्यकक्षमा आइतबार तालाबन्दी गरेका हुन्।

धरानमा खानेपानी महसुलमा ११ प्रतिशतदेखि नौ हजार नौ सय प्रतिशतसम्म वृद्धि गरेको भन्दै शुक्रबारदेखि चरणबद्ध आन्दोलनको घोषणा गरिएको थियो। बोर्डका ‘स्वघोषित अध्यक्ष’ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एकलौटी रूपमा नौ हजार नौ सय प्रतिशतसम्म महसुल बढाएको भन्दै उपभोक्ताहरू आन्दोलित बनेका हुन्।

गत साउन १ गतेदेखि लागू हुने गरी महसुल वृद्धि गरिएको थियो। त्यससँगै उपभोक्ताहरू गत साउन ११ गतेदेखि आन्दोलित बन्दै गएका छन्। यससँगै आन्दोलन उत्कर्षमा पुगेको छ।

यसअघि ७२ घण्टे अल्टिमेटम दिँदै खानेपानीको महसुल पुरानै दरमा कायम राख्न माग गरिएको थियो। तर हालसम्म खानेपानीको मूल्यवृद्धि फिर्ता नभएका कारण उपभोक्ताहरू सडकमा उत्रिन बाध्य हुनु परेको कांग्रेस धरान सभापति श्याम पोखरेलले बताए। उनका अनुसार आइतबार संघर्ष समितिको आह्वानमा धरान-१ सिंहदेवी चोकदेखि छाता चोक हुँदै खानेपानी बोर्डसम्म महसुल वृद्धिविरूद्ध प्रदर्शन गरिएको थियो।

‘जनता ठग्न र मार्न पाइँदैन,’ ‘खानेपानी बोर्डको हिसाब सार्वजनिक गर,’ ‘जन विरोध निर्णय खारेज गर,’ ‘जनता लुट्न बन्द गर,’ ‘नौ हजार नौ सय प्रतिशत शुल्क वृद्धि खारेज गर’ लगायतको प्ले कार्डसहित विरोध जनाइएको थियो। खानेपानी व्यवस्थापन बोर्डको कार्यकारी समितिको बैठक नै नबसी गैरकानुनी रूपमा महसुल वृद्धि गरिएको भन्दै फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने सभापति पोखरेलले बताए।

नयाँ धारा जडान न्यूनतम ३३ देखि तीन सय प्रतिशतसम्म, होल चेन्ज एक सय ५० देखि दुई सय ८० प्रतिशतसम्म, नामसारी मृतकबाट दुई हजार चार सय प्रतिशतदेखि नौ हजार नौ सय प्रतिशतसम्म महसुल बढाइएको उनले बताए।

‘अब धराने जनताहरू वडा वडाबाटै स्व:स्फूर्त निस्किँदैछन्,’ उनले भने, ‘आज खानेपानी बोर्डमा धर्ना दिएका छौँ। माग सुनुवाइ भएन भने धर्नाको कार्यक्रम रेगुलर जान्छ।’ उनका अनुसार साउन १७ गते विभिन्न सरोकारवाला संघसंस्थाहरूसँग अन्तरक्रिया, १८ गते सबै वडा कार्यालयहरूमा वडास्तरबाट ध्यानाकर्षण पत्र बुझाइएको र आइतबार धर्ना दिइएको उनको भनाइ छ। ‘असार मसान्तसम्म खानेपानीको जुन दर थियो, त्यही कायम नगरेसम्म आन्दोलन भइरहनेछ,’ उनले भने, ‘कुनै बेला खानेपानीको धारा नामसारी गर्दा दुई सय थियो। पछि बढेर १५ सय हुँदै दुई हजारसम्म पुग्यो। अहिले २० हजारसम्म पुर्‍याएको अवस्था छ।’

उनका अनुसार खानेपानी बोर्डले कीर्तेसमेत गरेको छ। साउन २ गते बोर्डले सूचना टाँस गरी महसुल वृद्धि गरेको जनाएको थियो। ११ गते दलहरूले ज्ञापनपत्र बुझाएसँगै सोही दिन नामसारीमा भने ५० प्रतिशतसम्म छुट गर्ने जनाए पनि २ गतेकै मिति र सोही चलानी नम्बर प्रयोग गरी सूचना टाँस गरिएको पोखरेलले बताए।

यसै गरी मर्मत तथा चेक एक सय देखि १९ सय प्रतिशतसम्म, महसुल ११ देखि दुई सय प्रतिशतसम्म, निवेदन दस्तुर चार सय प्रतिशत र जलाधार संरक्षण शुल्क नयाँ थप गरिएको छ। मृतकको नाममा रहेको धारा नामसारीजस्तो मानवीय संवेदना जोडिएको विषयमा यसरी एक हजार नौ सय देखि नौ हजार नौ सय प्रतिशत शुल्क वृद्धिले उपभोक्ताको ढाड सेकेको जनता समाजवादी पार्टी धरान सभापति चाजुव लिम्बूले बताए। उनका अनुसार महसुल हचुवाको भरमा बढाइएको र फिर्ता नलिएसम्म आन्दोलन जारी रहनेछ। वृद्धि भएको खानेपानीको बिल धराने जनताहरूले अनुमोदन गर्न नहुने उनले बताए।

नेकपा एमाले धरानका अध्यक्ष हर्कजङ एभेङले अब कसैले पनि खानेपानीको बिल तिर्न नहुने भन्दै फिर्ता नलिएसम्म आन्दोलन जारी रहने चेतावनी दिए। आइतबारको विरोध कार्यक्रममा पूर्व सांसद जयकुमार राई, धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्र विक्रम बेघा, माओवादी केन्द्र धरान अध्यक्ष सर्वजित राई, नेकपा एकीकृत समाजवादी धरानका अध्यक्ष रेवतीरमण राईलगायत १० दलका प्रतिनिधिहरू सहभागी थिए।

खास गरी स्थानीय तहको निर्वाचनताका धरान उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका हर्क साम्पाङले मतान्तर बढाएपछि एकाएक उनको चर्चा चुलियो। चर्चा मात्रै होइन, उनले निर्वाचनै जिते। उनले निर्वाचन जित्नुको एउटै कारण हो, धरानको खानेपानी समस्या समाधान। त्यतिमात्रै होइन, उनी कुनैबेला अभियन्ता हुँदा धरानमा खोनपानी समस्या भएको र त्यसलाई समाधान गर्नुपर्ने माग राख्दै आएका थिए। त्यसो त उनै साम्पाङले आफू अभियन्ता हुँदा खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेललाई ‘हप्काएको’ भिडियोसमेत भाइरल भएको थियो।

साम्पाङ अभियन्ता नै रहँदा ०७७ सालमा धरानमा तिलक राई मेयर थिए। त्यसबेला साम्पाङले खानेपानीको शुल्क घटाउनुपर्ने र पानीको समस्या समाधान गर्नुपर्ने माग राख्दै ज्ञापनपत्रसमेत बुझाएका थिए। तर अहिले उनै अभियन्ता हर्कराज राई (हर्क साम्पाङ) मेयर भइसकेपछि भने धरानमा खानेपानीको महसुल अचाक्ली बढाएको भन्दै राजनीतिक दलसहित उपभोक्ताहरू आन्दोलित छन्।

राजनीतिक दलहरूले नगर प्रमुख साम्पाङलाई कुनैबेला ‘सडकमा हुँदा सत्ताको विरोध गर्ने साम्पाङ आज सडककै आवाजलाई दबाउन’ खोजिरहेको आरोपसमेत लगाउने गरेका छन्।

यसअघि धरानका १० राजनीतिक दलहरूले चरणबद्ध आन्दोलनको कार्यक्रमहरू सार्वजनिक गरेका थिए। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, सलोराम सङ्घीय लिम्बुवान मञ्च र राष्ट्रिय साझा पार्टीले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए।

खानेपानी व्यवस्थापन बोर्ड ऐन २०६३ अनुसार व्यवस्थापन बोर्डमा ७ जना सदस्य हुने भए पनि नगर प्रमुख साम्पाङले एकलौटी निर्णय गरेको आरोपसमेत लाग्दै आएको छ।

मेयर हर्क साम्पाङ : खानेपानीकै मुद्दाले निर्वाचित, शुल्क बढाएर आलोचित

प्रकाशित: २० साउन २०८१ २०:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + five =