कोशी : एमालेमा ककसले पाए इन्चार्जको जिम्मेवारी?

विवेक विवश रेग्मी २० साउन २०८१ १७:३८
164
SHARES
कोशी : एमालेमा ककसले पाए इन्चार्जको जिम्मेवारी?

इटहरी– नेकपा एमाले केन्द्रीय कार्यसमितिले विभिन्न ठाउँमा इन्चार्ज तोकेको छ। केही दिनअघि बसेको एमाले सचिवालय बैठकले विभिन्न प्रदेशसहित, जिल्ला र क्षेत्रमा इन्चार्ज तोकेको हो। केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार कोशी प्रदेशमा शेरधन राईलाई इन्चार्ज तोकिएको छ। यसैगरी कोशी प्रदेशका विभिन्न जिल्ला र क्षेत्रमा पनि इन्चार्ज तोकिएका छन्।

सुनसरी जिल्लामा जगदीश कुसियतलाई इन्चार्जको जिम्मेवारी दिइएको छ। उनी कोशी प्रदेशका पूर्व पर्यटन, वन तथा वातावरण मन्त्री हुन्। कुसियत गत निर्वाचनमा प्रतिनिधिसभा क्षेत्र नं. ४ बाट उम्मेदवारी थिए। उनलाई कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मतान्तरले पराजित गरेका थिए।

यसैगरी सुनसरी क्षेत्र नं. १ को इन्चार्जमा मञ्जु भण्डारीलाई जिम्मेवारी दिइएको छ। उनी यसअघि धरान उपमहानगरपालिकाकी उपमेयर थिइन् भने पछिल्लो स्थानीय तहमा भने एमालेबाट मेयरको उम्मेदवार बनाएको थियो। क्षेत्र नं. २ मा लक्ष्मी गौतमलाई इन्चार्जको जिम्मेवारी दिइएको छ। उनी इटहरी उपमहानगरपालिकाकी पूर्वउपमेयर हुन्।

यसैगरी सुनसरी क्षेत्र नं. ३ मा भगवती चौधरीलाई जिम्मेवारी दिइएको छ। उनी नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई तेस्रोपटकमा पराजित गरी पहिलोपटक संसदमा ‘इन्ट्री’ मारेकी नेत्री हुन्। उनी दुईपटकसम्म महिला तथा बालबालिका मन्त्रीको जिम्मेवारी सम्हालिसकेकी छन्।

यसैगरी क्षेत्र नं. ४ मा भने तैयव हुसेन मियाँले इन्चार्जको जिम्मेवारी पाएका छन्।

मोरङमा भने जीवन घिमिरेलाई इन्चार्जको जिम्मेवारी दिइएको छ। उनी कोशी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री हुन्। यसैगरी मोरङ क्षेत्र नं. १ र २ मा युवराज बास्कोटाले इन्चार्जको जिम्मेवारी पाउँदा क्षेत्र नं. ३ र ४ को इन्जार्जमा नैनकला ओझा, क्षेत्र नं. ५ र ६ मा रामलाल साहले इन्चार्जको जिम्मेवारी पाएका छन्।

झापामा रोमनाथ ओलीले इन्चार्जको जिम्मेवारी पाएका छन्। झापा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको जिल्लासमेत हो। झापा क्षेत्र नं. १ मा रवीन कोइराला, क्षेत्र नं. २ मा अमृतलाल राजवंशी, क्षेत्र नं. ३ मा हरिबहादुर राजवंशी, क्षेत्र नं. ४ मा गोविन्द थापा र क्षेत्र नं. ५ मा दीपक कार्कीले इन्चार्जको जिम्मेवारी पाएका छन्।

इलाममा राम रानाले इन्चार्जको जिम्मेवारी पाउँदा धनकुटामा राजेन्द्रकुमार राई इन्चार्ज भएका छन्। राना कोशी प्रदेशका पूर्वमन्त्री हुन् भने राई संघीय सरकारका पूर्व खानेपानी मन्त्री हुन्।

संखुवासभामा तुलसी न्यौपानेले इन्चार्जको जिम्मेवारी पाएका छन् भने तेह्रथुममा विष्णुमाया विकले जिम्मेवारी पाएकी छन्। ओखलढुंगामा यज्ञराज सुनुवारलाई जिम्मेवारी दिइएको छ। सोलुखुम्बुमा किशोर अधिकारीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ।

भोजपुरमा परशुराम अधिकारीले जिम्मेवारी पाउँदा खोटाङमा विशाल भट्टराईलाई इन्चार्ज तोकिएको छ। उदयपुरमा मञ्जुकुमारी चौधरीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ।

पाँचथरमा आइन्द्रसुन्दर नेम्वाङले जिम्मेवारी पाउँदा ताप्लेजुङमा तिलकुमार मेन्याङ्बोले जिम्मेवारी पाएका छन्। एमाले पार्टीको उपाध्यक्षमा भने मोरङका गुरु बरालले जिम्मेवारी पाएपछि प्रदेश, जिल्ला र क्षेत्रमा समेत इन्चार्ज तोकिएको हो।

तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपाध्यक्ष पद रिक्त थियो। रिक्त पदमा मोरङका बराललाई जिम्मेवारी दिइएको हो।

प्रकाशित: २० साउन २०८१ १७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 7 =