कर्णाली : द्वन्द्वमा बुबा मारिएपछि राजनीतिमा लागेका भण्डारी बने सामाजिक विकासमन्त्री

रमा केसी २० साउन २०८१ १५:५७
112
SHARES
कर्णाली : द्वन्द्वमा बुबा मारिएपछि राजनीतिमा लागेका भण्डारी बने सामाजिक विकासमन्त्री मन्त्री पदको शपथपछि आइतबार शुभेच्छुकले दिएको बधाई ग्रहण गर्दै घनश्याम भण्डारी। तस्बिर : हिमाल प्रेस

सुर्खेत- घनश्याम भण्डारी कर्णाली प्रदेशको सामाजिक विकासमन्त्री बनेका छन्। भण्डारीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन्। भण्डारी सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन विद्रोही पक्षबाट २०५९ असोज १२ गते बुबाको हत्या गरिएपछि राजनीतिमा सक्रिय भएका हुन्।

उनी भन्छन्, ‘बुबाको निधनपछि राजनीतिलाई व्यक्तिगत लाभको खोजीमा नभई समाजलाई उज्यालो बनाउने माध्यम ठानेँ।’ उनका पिता पूर्णबहादुर भण्डारी दुल्लु गाविसका अध्यक्ष थिए।

भण्डारीको राजनीतिमा यात्रा चुनौतीरहित थिएन। उनको परिवारको अपेक्षा डाक्टर बनाउने थियो। राजनीतिमा सक्रिय रूपमा संलग्न हुँदा पारिवारिक कर्तव्य सन्तुलनमा राख्न सफल भएको भण्डारी बताउँछन्।

भण्डारी २०७९ को चुनावमा दैलेख निर्वाचन क्षेत्र नं. २ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। नेपाली कांग्रेसबाट निर्वाचित उनले कर्णाली प्रदेश सभाअन्तर्गत सामाजिक विकास समितिको सभापतिको जिम्मेवारी पनि सम्हालेका छन्।

त्यसअघि उनी २०७४ सालमा दुल्लु नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। उनको कार्यकालमा सार्वजनिक पूर्वाधार, सरसफाइ, गरिबी निवारण कार्यक्रम र सामुदायिक सशक्तीकरण परियोजनाहरूमा उल्लेखनीय प्रगति भएको दाबी कांग्रेस कार्यकर्ताहरूको छ।

सामुदायिक वन उपभोक्ता समितिको नेतृत्वदेखि आफैँ पढेको विद्यालयको व्यवस्थापन समितिमा आबद्ध भएर भण्डारीले सामाजिक सेवामा सक्रियता बढाएका थिए।

भण्डारीले केही वर्ष पत्रकारितामा पनि बिताएका छन्।  नेपाल प्रेस युनियन दैलेखको संस्थापक अध्यक्ष, नेपाल पत्रकार महासंघ दैलेख शाखाको सचिव, केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा रहेर पनि उनले काम गरे।  यसैगरी जिल्लाको पहिलो पत्रिका धमाका दैनिकदेखि द्रोणाचल साप्ताहिक, रेडियो दुल्लु, मध्यपहाड मासिकसम्मको सञ्चालकको भूमिकामा पनि उनी संलग्न भएका थिए।

भण्डारीले युवालाई सकारात्मक सोच अँगाल्न, सार्वजनिक सम्पत्तिको संरक्षण गर्न र राष्ट्र निर्माणको प्रयासमा सक्रिय रूपमा संलग्न हुन प्रोत्साहित गर्छन्। उनी भन्छन्, ‘समावेशी नेतृत्व, प्राविधिक आविष्कार र दिगो विकासमा समुदायको सहभागिताको महत्त्वलाई जोड दिनुपर्छ।’

२०४० सालमा साबिक दुल्लु गाविस-२ को साहुबाडामा जन्मिएका भण्डारीले मध्यपश्चिम विश्वविद्यालयबाट स्नातकोत्तर तह पूरा गरेका छन्।

प्रकाशित: २० साउन २०८१ १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =