रोकिएन तीज गीतमा विकृति

सुस्मिता बजगाईं २० साउन २०८१ १०:५९
126
SHARES
रोकिएन तीज गीतमा विकृति

काठमाडौँ- सस्तो लोकप्रियताका नाममा यस पटकका तीज गीतमा पनि विकृति भित्रिएका छन्। नारी वेदनाको कथा भन्ने नाममा छाडा शब्द प्रयोग गरिएका गीत सार्वजनिक हुन थालेपछि लोकसंगीतकर्मीहरूमाथि आलोचना हुन थालेको छ। सोही कारण मोडलदेखि सर्जक, गायकहरू विवादमा तानिएका छन्। अपाच्य शब्दको प्रयोग र त्यहीअनुसारको वेषभूषामा छाया‌ंकन भएका म्युजिक भिडियोले तीजको मौलिकतामाथि प्रहार गरेपछि सरोकारवालाहरूले पनि चिन्ता व्यक्त गरेका छन्।

छाडा शब्द प्रयोग गरिएका गीतलाई केही संस्थाहरूले प्रतिबन्ध लगाउन लबिइङ गर्न थालेका छन्। त्यस्ता गीत सामाजिक सञ्जाल र युट्युबबाट भने हटाइएको छैन। केही म्युजिक उत्पादकहरूले भने सच्याएर फेरि अपलोड गरेका छन्। साथै केही संगीतकर्मीले माफी मागेका समाचार पनि बाहिर आएका छन्।

तीज गीतमा यस्तो विकृति भित्रिन थालेकोचाहिँ सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै हो। झन्डै एक दशकअघि कोमल वलीले ‘पोइल जान पाम्’ भन्ने बोलको गीत ल्याइन्। त्यसपछि मनोरञ्जनका नाममा सस्ता शब्द प्रयोग गरेर गीत सिर्जना हुन थाले। ओलीको शैलीलाई प्रीति आले, ज्योति मगर, दुर्गेश थापालगायतले पछ्याउन थाले। यिनै कलाकारले गर्दा तीज गीतको मौलिकतामाथि प्रश्न उठ्न थाल्यो। यस वर्ष त शान्तिश्री परियार, भगीरथ चलाउने जस्ता चर्चित गायकगायिकाले पनि विकृति भित्र्याउन साथ दिएका छन्।

विगतमा माइती जान नपाएको वेदना, पतिबाट पाएको दुःख पोख्ने माध्यमका रूपमा तीज गीत गाइन्थ्यो। बूढापाकाका अनुसार तीज गीत माइतीमा साथीभाइ भेला भएर आफ्नो सुखदुःख साट्ने सांगीतिक अभिव्यक्ति थियो। समयसँगै  महिलाका वेदना र दुःख फेरिएका छन्। घरको चुलाचौकोमै सीमित महिलाको पहुँच उच्च पदस्थमा पुगेको छ। महिला आफूलाई परेको पीडा र अन्यायविरुद्ध खुलेर बोल्न सक्ने भएका छन्। त्यसैअनुसार तीज गीतमा पनि नयाँनयाँ स्वरहरू गुञ्जिन थालेका छन्। सँगसँगै विकृति पनि भित्रिएका छन्। यस्ता गीतले बजार पाउँदा मौलिक भाका ओझेलमा परेका छन्।

तीज लक्षित गीतले यस पर्वको मौलिकता थप्न प्रोत्साहन गरिरहेको हुन्छ। यस वर्ष कस्ता तीज गीत आए त? भनेर जुनसुकै वर्ग, समुदायले खोजी गरिरहेका हुन्छन्।  स्रष्टा र कलाकारमाथि आरोप लाग्न थालेको छ, मौलिकता हरायो, गीतका नाममा छाडापन र दोहोरो अर्थ लाग्ने शब्दहरू भित्रिए। भ्युज बटुल्ने नाममा छाडा शब्दको प्रयोग गरेर तीजको मौलिकतामाथि धज्जी उडाउनेमाथि कारबाही हुनुपर्ने आवाज उठ्न थालेको छ।

के भन्छन् गायकगायिका?

वरिष्ठ लोकगायिका हरिदेवी कोइराला कलाकार सचेत नहुँदा गीतमा असाध्यै विकृति भित्रिएको बताउँछिन्। उनले भनिन्, ‘परिवारका सदस्यहरूसँग बसेर हेर्न र सुन्न नसकिने खालका तीजका गीत आएका छन्। यसबाट भोलि हाम्रा छोराछोरीले के सिक्लान्? त्यस्ता गीतले के शिक्षा दिन्छ? त्यस्ता गीतले तीजलाई सम्बोधन गरेको छ कि छैन? हामीले के सिकाइरहेका छौँ? कलाकारले पहिला यो कुरा बुझ्नुपर्छ।’

पछिल्ला दिनमा तीज के हो भनेर पनि बुझाउनुपर्ने अवस्था आएको कोइराला बताउँछिन्। ‘तीज माइतीचेलीको पवित्र चाड हो। तीज गीतमा दाजुभाइ दिदीबहिनीसँग गुनासो, मामासँग गुनासो, माइजूसँग गुनासो, हजुरबा हजुरआमासँग गुनासो, श्रीमान्‌सितको गुनासोका भाका हुन्छन्’, उनले भनिन्।

साथै देशमा कुनै विशेष घटना भएका छन् भने ती घटना र देशको अवस्थालाई तीजको भाकामा उतार्न सकिने उनी बताउँछिन्। कोइराला भन्छिन्, ‘गीतमा ती घटनाक्रम व्यक्त गर्ने हो कि कता हो कता गएर देख्न हेर्न सुन्न नसकिने खालका शब्द  गाउने हो?’  यस्ता गीतलाई अनुगमन र नियमन गर्न आधिकारिक निकाय हुनुपर्ने उनको सुझाव छ। सर्जक र स्रष्टाले आफ्नो धर्म पालना गर्नुपर्ने बताउँदै कोइरालाले भनिन्, ‘गीतहरू बिकाउ भन्दा पनि टिकाउ हुनुपर्छ। म कलाकार भाइबहिनीहरूलाई समाज, परिवार र आफू सम्झेर गीत गाउन अनुरोध गर्दछु।’

गीतकार तथा गायक नरेश खाती कतिपय दर्शकले उच्छृंखल गीतलाई नै बढी रुचाएकाले सर्जकले त्यस्तै गीत निकालेको बताउँछन्। उनी भन्छन्, ‘गीत विवादमा तानिएपछि भ्युज बढ्ने र त्यो गीत सफल भयो भन्ने गरिन्छ।’ कतिपय सर्जकले भाइरलका नाममा चर्चा कमाउनकै लागि यस्ता विकृतिजन्य गीत बजारमा ल्याउने गरेको उनी बताउँछन्। खातीले भने, ‘अचेल मौलिकभन्दा विकृति शैलीको गीत छिटो बिक्छ।’

महिलाको भोगाइ र जीवनशैली फरक भए पनि गीत उच्छृंखल नबनाउन उनले सर्जकलाई आग्रह गरे। ‘पहिले महिलालाई माइत जान तीज नै कुर्नुपर्ने, चेली लिन दाजुभाइ जानुपर्ने, मिठो परिकार खान तीज कुर्नुपर्ने अवस्था थियो। अहिले समय बदलिएको छ। फोन गरेकै भरमा चेली आइपुग्छन् र बाटोको सुविधाले माइती जान तीज कुर्नुपर्दैन। यस्तो प्रसंगलाई गीतमा कसरी ढाल्ने भन्ने सर्जकको हातमा हुन्छ’, खातीले भने।

गायक तथा संगीतकार पशुपति शर्मा आफूले गाएको गीत आफैँले आत्मसमीक्षा गर्नुपर्ने धारणा राख्छन्। उनी भन्छन्, ‘आफूले गीत गाइरहँदा र संगीत सिर्जना गरिरहँदा पहिले आफैँ जर्ज बन्नुपर्छ। आफूले कति राम्रो गरेँ, नराम्रो सन्देश सम्प्रेषण गर्ने खालका गीत पो गाए कि? मेरा गीतले के के सन्देश दिन सकेका छन् भन्ने कुराको स्वयं आत्मसमीक्षा गर्नुपर्छ।’

काम गर्दै जाँदा कहिले काही गल्ती हुने र त्यसलाई आफैँले सच्याउँदै जानुपर्ने धारणा शर्माको छ। ‘मलाई पनि तीज गीतमा रत्यौली भित्र्यायो भनेर गाली आइरहन्छ तर हामीले त्यसलाई दोहोराइरहनु हुँदैन। गल्तीबाट सिक्दै जानुपर्छ’, उनले भने।

गीतमा अश्लीलता हटाउन सर्जकलाई सम्झाउनमात्र सकिने उनी बताउँछन्। ‘हामीले उनीहरूलाई तपाईँका सिर्जनाले भोलिका दिनमा आफैँलाई आत्मग्लानि नहोस् भनेर सम्झाउनेमात्र हो। यी सर्जक आफैँले बुझ्नुपर्ने कुरा हो। आफूले कस्तो सिर्जना गरिरहेको छु र कस्तो गीत गाउनुपर्छ भन्ने कुरा आफैँ सर्तक हुने हो’, शर्माले भने।  आफ्नो कला, संस्कृति र मौलिकतालाई ध्यान राख्दै गीत सिर्जना गर्नुपर्ने उनले बताए।

उनी सकेसम्म लोकसंगीत अनुशासित र मर्यादित हुनुपर्नेमा जोड दिन्छन्। ‘संगीत परिवार र छोराछोरीसँग बसेर हेर्न सक्ने हुनुपर्छ। भोलि हाम्रो नातिनातिनीलाई हामी कलाकार हो भनेर चिनाउनुपर्छ। उनीहरुले हाम्रा सिर्जनाहरु सुनिरहँदा पछि यस्तो त नराख्या भए हुने, नगाउनुपर्ने भनेर आत्मग्लानि भयो भने हामीले आफ्नो कामप्रति राम्रो गरेनौँ भन्ने महसुस गर्नु न सही हुन्न नि’, शर्माले भने।

गीत विवादमा तानिएपछि गायिका शान्तिश्री परियारले आगामी दिनमा शब्द /संगीत छनोट गरी गीत गाउने वाचा गर्दै दर्शकसँग माफी मागेकी छन्। उनी नेपाल लोकदोहोरी प्रज्ञा प्रतिष्ठानकी केन्द्रीय सदस्यसमेत हुन्। विज्ञप्तिमार्फत उनले दर्शक/श्रोताकाे मनोभावना र सामाजिक परिपेक्ष्यमाथि असर परेको भन्दै माफी मागेकी हुन्।

व्यक्तिवादी गीतले छाडापन बढायो : डा. दाहाल

तीज गीतमा विद्यावारिधि गरेका डा. विष्णु दाहाल तीजको गीत समयानुकूल परिवर्तन हुँदै जानु स्वाभाविक भए पनि ‘छाडा’ गीत आउनु चिन्ताको विषय रहेको बताउँछन्। उनको बुझाइमा तीज गीतमा पनि राजनीतिक परिवर्तनको प्रभाव पर्दै आएको छ।

डा. दाहालका अनुसार विगतमा सामाजिक तीज गीत शिष्ट थिए। अहिले तीज गीत व्यक्तिवादी रूपमा आएका छन्। त्यसैले स्वतन्त्रताका नाममा स्वतन्छन्दता भित्रिएको उनले बताए। उनले भने, ‘हिजो सामाजिक तीज गीत थियो भने अहिले व्यक्तिवादी गीत आएका छन्। व्यक्ति एकाइका रूपमा आएपछि स्वच्छन्दताका कुरा आएका हुन्। छाडापन बढेको हो।’ उनले सबै कालखण्डका तीज गीतमा नारी सौन्दर्यका कुरा भने नछुटेको बताए।

उनले भने, ‘पञ्चायतकालका गीतमा घरभित्रैका मात्रै कुरा आउँथे। प्रजातन्त्रपछि महिला सशक्तीकरणका कुरा गीतमा समेटिए। गणतन्त्रपछि क्रान्तिकारी कुरा आउन थाले।’ यस्तो परिवर्तन स्वाभाविक भए पनि पछिल्लो समयमा विकृति भित्रिएको उनी बताउँछन्। उनले भने, ‘हिजो पुरुषसत्तामा खुम्चिएर बस्न बाध्य भएका नारीहरू स्वतन्त्र भए। वैदेशिक रोजगारीका कारण महिलासँग सम्पत्ति भयो तर साथी भएन अनि विकृत आयो। त्यसको प्रभाव गीतमा परेको छ।’

यी गीतमाथि प्रतिबन्ध लगाउन माग

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले विवादित गीतको सूची सार्वजनिक गरेको छ। जसमध्ये एउटा हो नेत्र अर्यालको शब्द, कविता खत्री र भगीरथ चलाउनेको स्वरमा सार्वजनिक ‘दिउँला बरिलै’। गीतमा गायक भागीरथले संगीत भरेका छन्।

शान्तिश्री परियार र हरि गिरी बिमर्शीको स्वरमा सार्वजनिक ‘बिस्ताराले पोल्यो’ बोलको तीज गीत पनि विवादको सूचीमा छ। गीतमा गोविन्द पौडेलको शब्द र संगीत छ। यो गीतले शान्तिश्रीले दर्शकबाट आलोचना खेपिरहेकी छन्। उनले यसबारे माफी मागेकी छन्।

गोविन्द भट्टको शब्द र प्रीति आलेको स्वर र बाबुल गिरीले संगीत भरेको ‘मादलु धन्काउँदै’। सर्वत्र आलोचना भएपछि यस गीतका टिमले भने गीतको विवादित अंश हटाएको छ।

केशर ओली र सुमन थापाको स्वरमा सार्वजनिक ‘टिकटकमा भाइरल हल्लाएरै हो’ गीतमा केशरकै शब्द र संगीत छ। प्रीति आले र प्रकाश शर्माको स्वरमा सार्वजनिक ‘चेयर्स बियर’ अर्को विवादित गीत हो। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले विज्ञप्ति जारी गरी कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगर आफूले संस्थामा आबद्ध स्रष्टालाई विकृति फैलाउने गीत बाहिर नल्याउन आग्रह गरिरहेको बताउँछिन्। कतिपय विकृतिजन्य गीत संस्थामै आबद्ध भएकाले गाइरहेको स्विकार्दै उनी भन्छिन्, ‘कतिपय विवादिन गीत हाम्रै संस्थामा आबद्ध स्रष्टाहरूले गाउनुभएको छ। उहाँहरूलाई यस्तो गीत नगाउन आग्रह गरेका हौँ। संस्थाको नियमबमोजिम उहाँहरूमाथि कारबाही हुन्छ।’

थापाले कतिपय गीत सच्याउन आग्रह गरिरहेको बताइन्। ‘हामीले केही स्रष्टालाई गीत सम्पादन गर्न र स्वर हटाउन पहल पनि गरिरहेका छौँ। कतिपय विवाद आन्तरिक रूपमा मिलाइरहेका छौँ’, थापाले भनिन्। यस्ता विषयलाई राज्यले चासो दिनुपर्ने उनको सुझाव छ।

प्रकाशित: २० साउन २०८१ १०:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 4 =