बाह्रौँ शताब्दीको सुरुतिर नागराजले सिञ्जा (जुम्ला) लाई खस साम्राज्यको राजधानी बनाएका थिए। सिञ्जालाई खस साम्राज्यको राजधानी बनाएर यो जातिले पन्ध्रौँ शताब्दीसम्म करिब ३०० वर्ष शासन गरेको थियो।
सिञ्जा उपत्यकालाई नेपाली भाषाको उद्गमस्थल मानिन्छ। त्यसैले नेपाली समाजमा सिञ्जा सभ्यताको छुट्टै र विशिष्ट महत्त्व छ।
खस सभ्यताका अनेक विशेषता छन्। ‘बृहत् जनसांख्यिक केन्द्र, पुरातात्त्विक स्मारक र विशिष्ट कला शैली, सञ्चारका रणनीति, प्रशासनिक प्रणाली, श्रमको बाँडफाँट, सामाजिक र आर्थिक वर्ग निर्माण, धार्मिक तथा सांस्कृतिक विशिष्टता’ यस सभ्यताका प्रमुख विशेषता हुन्।
तीमध्येको एक हो, धार्मिक तथा सांस्कृतिक विशिष्टता। खसकालीन सामाजिक आस्था र धार्मिक अवस्थालाई हेर्दा कैलाश पर्वत र मानसरोवरको महत्त्वले गर्दा प्राचीनकालदेखि खस अधिराज्यमा हिन्दु र बौद्ध अनुयायीको बसोबास थियो।
बद्रीनाथ, मुक्तिनाथ, खोजरनाथ, शम्भुनाथ, छायानाथ आदि प्रमुख तीर्थस्थल थिए। खस सभ्यतामा मष्टो परम्परा पनि छ। मष्टो देवता खस जातिको कुल र मूल मष्ट हुन्। मष्टो दुई थरीका छन्- दूधे र रक्त। दूधे मष्टलाई बलि दिइँदैन भने अन्य मष्टलाई बलि दिइन्छ। दूधे मष्टबाहेक अन्य मष्टको कुलपूजामा बोकाको बलि दिइन्छ।
खस सभ्यताको धार्मिक विशिष्टतासँग जोडिएको क्षेत्र हो, हालको पातारासी क्षेत्र। जुम्लाको पातारासी गाउँपालिका-६ घोडासिन एक बस्ती हो। बस्तीका मानिसको मुख्य धार्मिक क्षेत्र हो, नौमुडे मन्दिर। यो मन्दिर घोडासिन गाउँको सिरान उभुरकोटमा छ। वरिपरि घना जंगल। सोही क्षेत्रमा नांगो डाँडा छ। त्यही डाँडाको टुप्पोमा छ नौमुडे। नौमुडे पुग्न घोडासिनबाट पैदल आधा घण्टा लाग्छ।
घोडासिनका कृष्णबहादुर बुढा ७५ वर्षका भए। उनी ७ वर्षको हुँदा पहिलोपटक नौमुडे मन्दिर पुगेको सम्झन्छन्। पुस्तौँदेखि मन्दिरमा पूजाआजाको प्रचलन रहेको उनले बताए। उनीसहित तीन पुस्ताले नामैडेलाई देउता मान्दै आएका छन्।
त्यतिबेला अहिलेको जस्तो संरचना थिए। रूख थियो। रूखको फेदमै खाडल थियो। एउटा मात्रै मूर्ति अनि काँचो पानस थियो। अहिले मूर्ति बनाइएको छ। सयौँ घण्ट छन्।
मन्दिरमा बलि चढाएको रगत सयौँ मिटर तल रहेको कोटमा निस्कन्थ्यो। त्यहाँ अहिले पनि मन्दिर छ। बूढाका बुवाको पालासम्म रगत निस्कन्थ्यो। अहिले भने बन्द भइसकेको छ। बुढा ११-१२ वर्षको हुँदा यहीँ मन्दिरमा खोपी खेल्थे। आफूले खोपी खेल्न मन्दिरमा चढाइएका तीनवटा पैसा लिएको उनले बताए। त्यतिबेला मन्दिरमा तामाको पैसा चल्थ्यो।
मन्दिरमा वर्षको दुईपटक चैते अष्टमी र बडादसैँमा मात्रै पूजा हुन्छ। साउन पूर्णिमामा दूध, खीर, फलफूललगायत चढाइन्छ।
उतिबेला गाउँमा १६ वटा घरधुरी थिए। अहिले भने बढेर तेब्बर घरधुरी छ। गाउँमा झण्डै ६५ घरधुरी छन्। नौमुडे घोडासिन बासीको मूल देउता हुन्।
मागेका कुरा पूरा हुने धार्मिक विश्वास
यहाँ मागेको फल मिल्ने जनविश्वास छ। यही नै मन्दिरको खास विशेषता मान्छन् स्थानीय। बुढा भन्छन्, ‘तपाईँ पत्रकार हुनुहन्छ। शुद्व मनले केही कुरा माग्नुस्। अवश्य फल पाउनु हुनेछ।’
घोडासिनवासीका प्रशस्तै कामना पूरा भएको स्थानीयको दाबी छ। जस्तो : घोडासिनवासीले पानीको मुद्दा जितेका छन्। खडेरी परेर पानी नपरेको बेला पानी माग्दा परेको छ। कसैका शत्रु लागे, बिरामी परे, लामो यात्रामा जानु परे, स्वच्छ मनले भाकल गरे मनोकामना पूरा हुन्छ। उनीहरूको कुराको पुष्टि त्यहाँ रहेका प्रशस्तै रुद्राक्षको माला र घण्टहरूले गर्छन्।
मन्दिरको मूलगेटदेखि भित्रसम्म बाहिरका मानिस आएर चढाएका नाम अंकित घण्ट छन्। ती घण्टमा व्यक्तिका नाम कुँदिएका छन्। स्थानीयको भनाइअनुसार केही समयअघि खाद्यका हाकिमदेखि हाल चन्दननाथ नगरपालिकाका प्रमुख रहेका राजुसिंह कठायतसम्म छन्।
राज्यस्तरबाटै चढाइन्थ्यो पञ्चबलि
नौमुडे खसकालीन समयदेखि पुजिँदै मन्दिर भएको स्थानीय बताउँछन्। मन्दिर बचाउन स्थानीयले भोटेहरूसँग युद्व लडेकोदेखि तत्कालीन अवस्थामा राज्यस्तरबाटै पञ्चबलि चढाउने गरेका दृष्टान्त छन्। वर्षको दुईपटक मात्रै गुप्त पूजा हुने नौमुडे मन्दिरमा पञ्चबलि चढाउने गरेको विगत छ,त्यो पनि राज्यस्तरबाट,यो प्रचलन अहिले पनि विद्यमान छ।
मन्दिरमा पञ्चबलिका रूपमा राँगो, खसी, कुखुरा, माछा र सुँगुरको बलि दिइथ्यो। अहिले भने हरेक वर्ष एउटा खसी बलि चढाइन्छ। सरकारी स्तरबाट अहिलेसम्म जनै, सुपारी, सिन्दूर, केशरी, ध्वजा र पुरी सदरमुकामस्थित गण र चन्दननाथ मन्दिरबाट हरेक पूजाको बेला आउँछ। बोकाको बदलामा नरिवल चढाइन्छ। यी सम्पूर्ण सामग्री पुर्याउन सरकारी स्तरबाट ब्राह्मण खटाइन्छ। मन्दिरका पुजारी सिम्खाडा गाउँका ब्राह्मण छन्। मन्दिरको प्रतिरूप काठमाडौँमा पनि छ। काठमाडौँ र जुम्लास्थित गणमा राँगो बलि चढाइन्छ।
सीमारक्षा र मन्दिर बचाउन भोटसँग लडाइँ
१८ औँ शताब्दीसम्म खस साम्राज्य थियो। गोर्खा राज्यमा विलय भएपछि यसको अस्तित्व संकटमा पर्दै गयो। हाल पनि अस्तित्वमा रहेका यारी नाका, ताउलाखारलगायतका क्षेत्रमा यस क्षेत्रका नागरिक सीमा रक्षा गर्न डटेका छन्। घोडासिन गाउँकै हस्तबहादुर बुढा सीमा सुरक्षामा खटिएको उनका भाइ कृष्णबहादुर बुढा बताउँछन्। उतिबेला यस क्षेत्रका स्थानीय र भोटेबीच सीमा सुरक्षा र मन्दिर संरक्षणका लागि युद्धसमेत भएको थियो।
नौमुडे मन्दिर रहेको क्षेत्र अग्लो ठाउँमा छ। त्यहाँ डाँडो पनि छ। बीचमा समथल क्षेत्र छ। पारिपट्टि पनि अग्लो डाँडो छ। घोडासिन गाउँका ७४ वर्षीय सिंहबहादुर महतारा दुवैतर्फका डाँडाबाट भोटे र स्थानीयबीच लडाइँ भएको बताउँछन्। उनका अनुसार भोटेसँग अत्याधुनिक हतियार थिए। यहाँका स्थानीयसँग सामान्य गोलीगठ्ठा मात्रै। युद्ध धेरै समय चल्यो। त्यही बेला नौमुडे मष्टले एक स्थानीयको आङमा चढेर पर्खालभित्र लुक्न सुझाएका थिए। स्थानीय भागेको सम्झेर भोटेहरू वारि आउँदै थिए। भोटेहरूलाई पर्खालका ढुंगा लोटाएर भगाइयो। कोही मरे। कोही घाइते भए। त्यसरी स्थानीयले मन्दिर जोगाएको उनको भनाइ छ। पछिसम्म पनि लडाइँमा प्रयोग भएका गोला आफूहरूले भेटाएको महतारा बताउँछन्।
नौमुडे मन्दिरसम्म पुग्न परम्परागत ढुंगाको प्रयोग गरेर सिँढी बनाइएको छ। त्यस ढुंगाले चिनेका देवलहरू अझै छन्। त्यहीँ छ अलौकिक ढुंगा। त्यो ठूलो ढुंगालाई ऐना ढुंगा भन्ने गरिएको छ। स्थानीय ६५ वर्षीय धनबहादुर बुढाका अनुसार त्यो ढुंगा ऐनाजस्तो टलक्कै टल्किन्थ्यो। उनी भन्छन्, ‘धेरै परसम्म टल्किन्थ्यो। टल्किने भएकोले भोट सरकारका सेनाले त्यो ढुंगामा खुकुरी प्रहार गरेर भाँचिदिए। त्यसमा खुकुरीको धारको चोट अझै छ।’ उनले भनेझै ढुंगामा अहिले पनि धार देखिन्छ।
स्थानीयको गुनासो : सरोकारवालाले संरक्षणमा ध्यान दिएननन्
धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको मन्दिरको संरक्षणमा सरोकारवालाको ध्यान पुग्न नसकेको स्थानीयको गुनासो छ। मन्दिर अग्लो ठाउँमा भए पनि खुला छ। पछिल्लो समय स्थानीय मिलेर पूजाको बेला बस्ने ठाउँ बनाएका छन्। पूजाको समयमा त्यहाँ मानिसको भीड लाग्छ।
‘मूर्ति, घण्ट, रुद्राक्षलगायतका महत्त्वपूर्ण वस्तु छन्। चोरी हुने र हराउने डर छ। त्यसका लागि बलियो पर्खालको आवश्यकता छ,’ पुजारी गोरबहादुर रोकाया भन्छन्। घोडासिन गाउँका युवा ऐनबहादुर कठायत पनि ऐेहासिक महत्त्व बोकेको मन्दिरको प्रचारप्रसार आवश्यक रहेको बताउँछन्।