प्रचण्डसँग ‘घुर्की लगाउँदै’ हरिबोल

हिमाल प्रेस १९ साउन २०८१ १४:२४
114
SHARES
प्रचण्डसँग ‘घुर्की लगाउँदै’ हरिबोल हरिबोल गजुरेल

काठमाडौँ- सधैँ कुनै न कुनै विषयमा चर्चामा आइरहने माओवादीका उपमहासचिव हरिबोल गजुरेल यसपटक पनि सञ्चारमाध्यममा छाएका छन्। पछिल्लो समय माओवादी केन्द्रमा राजीनामा प्रकरण बाहिर आएपछि हरिबोलबारे विभिन्न टिप्पणी सार्वजनिक हुन थालेका हुन्।

माओवादीको हालै सम्पन्न पदाधिकारी बैठकमा गजुरेलले सबै पदाधिकारीले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका थिए। पार्टी वैधानिक तरिकाले नचलेकाले सबै पदाधिकारीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राजीनामा दिनुपर्ने बताएका थिए।

‘मैले अध्यक्षबाहेक अरूले राजीनामा गर्नुपर्छ भनेको हुँ’, गजुरेलले भने। अहिले कतिपय ठाउँमा हरिबोलले राजीनामा दिएको चर्चा भइरहेको छ। गजुरेल राजीनामा दिने तयारीमा रहेको बताउँछन्। गजुरेलले भने, ‘यसमा मैले मात्र राजीनामा दिएर हुन्न। त्यही कारण आह्वान गरेको हुँ।’ अहिलेसम्म हरिबोलको प्रस्तावमा अन्य कसैले पनि समर्थन जनाएको छैन। ‘अरू कसैले दिएन भएन म आफैँ मात्र पनि राजीनामा दिन्छु’, उनले भने।

गजुरेलले पार्टीको बैठकमा विधानको विषय उठाएका थिए। माओवादीमा कुनै पनि समितिको १५ प्रतिशत मात्र माथिल्लो समिति बन्नुपर्ने प्रावधान छ।

माओवादीमा पदाधिकारी २२ सदस्यीय, स्थायी समिति ४३ सदस्यीय र केन्द्रीय सदस्य ४०७ सदस्यीय छ। तल्लो समितिभन्दा माथिल्लो समितिका पदाधिकारीहरू १५ प्रतिशत भन्दा बढी हुन नहुने माओवादी विधानमा उल्लेख छ। अहिले त्यो मापदण्डभन्दा भद्दा समिति छ।

बैठकमा गजुरेलले पार्टी नीति–सिद्धान्तविपरीत चलेको आरोप लगाएका थिए। ‘हाम्रो विद्यार्थी संगठनको कमिटी दुई हजार सदस्यीय छ। यो कुन विधानअनुसार चलेको हो?’ गजुरलेको असन्तुष्टि छ, ‘हामी सत्तामा पुगेपछि विधान भुल्छौँ।’

गजुरेलले माओवादीले राष्ट्रियसभा अध्यक्ष उठाउँदाको नीतिमाथि प्रश्न गरेका थिए। तत्कालीन समयमा माओवादीको भागमा परेको राष्ट्रियसभा अध्यक्षमा आकांक्षी धेरैजना थिए। प्रचण्डले नाताले भाइ पर्ने नारायण दाहाललाई अध्यक्ष बनाएका थिए। तत्कालीन माओवादी बैठकमा उपाध्यक्ष उर्मिला अर्याललाई अध्यक्ष बन्न नदिनुको कारण हरिबोलले खोजेका थिए। ‘त्यसबेला कुन नीतिअनुसार राष्ट्रियसभा अध्यक्ष चुनियो? हामीलाई जानकारी हुनुपर्‍यो’, गजुरलेले भनेका थिए।

यद्यपि गजुरेलले दाहाल राष्ट्रियसभा अध्यक्ष बन्ने हैसियतमा रहेकोे बताएका थिए। ‘नारायणजीप्रति मेरो कुनै विमति छैन तर प्रश्न अध्यक्ष बनाउन चाहने मापदण्डप्रति हो’, गजुरेलले भने।

गजुरेल सांसद बन्न चाहेका थिए। उनी लड्दै आएको सिन्धुलीको २ मा प्रचण्डले गजुरेललाई टिकट नदिई राजन दाहाललाई अघि सारेका थिए। त्यसबेला पनि हरिबोलले आफूलाई टिकट नदिनुको कारण सचिवालयमा सोधेका थिए। असन्तुष्ट गजुरेललाई प्रधानमन्त्री भएपछि प्रचण्डले प्रमुख सल्लाहकार नियुक्त गरे। भूमिका नपाएको भन्दै गजुरेलले पदबाट राजीनामा दिए।

त्यसबेला गजुरेलले प्रधानमन्त्रीका स्वकीय सचिवहरूले भूमिका नदिँदा आफू जिम्मेवारीविहीन बनेको बताएका थिए। गजुरेलको प्रश्न प्रचण्डपुत्री गंगा दाहालप्रति थियो। उनकै कारण पदमा भएर पनि जिम्मेवारी नपाएको गजुरेलको गुनासो थियो।

त्यसपछि पार्टीमै भूमिका खोजे पनि उनले उपमहासचिवभन्दा अन्य जिम्मेवारी पाएनन्। अहिले उनी फेरि राजीनामाको कुरा उठाइरहेका छन्। माओवादीका एक पदाधिकारी गजुरेलले राजीनामाको कुरा उठाएर पार्टीमा प्रभावशाली बन्न प्रचण्डलाई घुर्की देखाएको हुन सक्ने बताउँछन्। ती नेता भन्छन्, ‘गजुरले प्रचण्ड नजिकका मान्छे हुन्। विरोध गरेको जस्तो देखाएर उनले कुनै महत्त्वपूर्ण पद पाउन खोजेका हुन्।’

प्रकाशित: १९ साउन २०८१ १४:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast