बाँसको दोष कि मेरो?

अन्जु न्यौपाने १९ साउन २०८१ १२:०५
118
SHARES
बाँसको दोष कि मेरो?

‘मेरो छोरालाई कसले मार्न चाहेको? तिमरु जे पायो त्यै काम लाउँछौ हाम्रा बच्चालाई?’ एकजना महिला पाखुरा सुर्किँदै मतिरै आइन्। रोप्दारोप्दैको बाँसको बिरुवा भुइँमा राखेर मैले ती महिलातिर हेरेँ। महिलाले मलाई खाउँलाझैँ गरेर हेरिरहेकी थिइन्। मानौँ, मैले ठूलै अपराध गरेकी छु। उनको छोरालाई मार्ने योजना बनाइरहेकी छु। अनि यो समस्या निम्त्याएको थियो, बाँसको एउटा सानो बिरुवाले। एकै छिनअगाडि मात्रै मैले केही बिरुवा रोपेकी थिएँ खाली जग्गामा।

त्यो भन्दा पनि केही दिनअगाडि म मेरो एकजना साथीको घरमा उनकै निमन्त्रणामा पाहुना लागेकी थिएँ। उनको घर तराई क्षेत्रको एउटा फराकिलो ठाउँमा  रहेछ। मसिना निगालाजस्ता भाटा वरिपरि बारेर बाहिरबाट माटोले लिपेर बनाइएको उनको घर पुरानो तर चिटिक्क परेको रहेछ। छानामा पनि माटोकै टाइल लगाइएको रहेछ। माटोकै भकारी, माटोकै चुलो र अरू पनि थुप्रै सामना माटोकै बनाइएको त्यो घर मलाई साह्रै राम्रो लाग्यो। घरवरिपरि नभए पनि हुने खालका केही रूख लगाइएका थिए। हुरीबतासबाट घर जोगाउन लगाइएको हो रे।

घरबाट केही पाइला अगाडि बढेपछि भने थुप्रै खाली जग्गा रहेछ, जहाँ बाली लगाउनचाहिँ नमिल्ने रहेछ। छेउबाटै त्यहाँ रहेका विभिन्न मानिसका खेतमा सिँचाइको खोला बग्दो रहेछ। खोला र बाटाको छेउछाउको जग्गा खाली रहेछ।

मलाई लाग्यो, यस खाली ठाउँमा पनि स्थान सुहाउँदो केही फलफूलका बिरुवा लगाइदिने हो भने कति राम्रो हुन्थ्यो होला! आफ्नो मनमा लागेको कुरा मैले मेरो साथीसामु व्यक्त गरेँ। साथीले आफूहरूसँग बिरुवा उपलब्ध नभएकाले नलगाएको बताइन्।

बिरुवा रोप्नु राम्रो हो भनेर त हामी सबैलाई थाहा छँदैछ। फेरि मैले थुप्रै वृक्षरोपण कार्यक्रममा भाग पनि लिइसकेको छु। धेरैभन्दा धेरै मानिसलाई उपस्थित गराएर हामीले विभिन्न ठाउँमा विभिन्न खालका बिरुवा रोप्ने कार्यक्रम आयोजना गरेका छौँ। मलाई साथीको त्यो खाली जग्गामा पनि रोपिदिनका निम्ति केही बिरुवा जुटाइदिन मन लाग्यो। फलस्वरुप मैले एक दिन साथी घरमा भएको मौका पारेर उनैको सल्लाहअनुसार थुप्रै फलफूलका र केही बाँसका बिरुवाहरू किनेँ र उनको घरमा पुगेँ।

साथी, म र साथीको परिवार भएर हामीले सुरुमा फलफूलका बिरुवा रोप्यौँ। आँप, लिची, नासपाती, अमला, नीम आदिका बिरुवा रोपिरहँदा भित्रैदेखि खुसी लागिरहेको थियो। साथी र साथीको परिवारको हँसिलो अनुहार देखेर भित्रैदेखि आनन्द आइरहेको थियो। ‘पूरै नेपालभरिका बाटाघाटावरिपरि र अन्य खाली ठाउँमा फलफूल नै फलफूलका बिरुवा वा जडीबुटीका बिरुवा लगाइदिने अभियान चलाइदिने हो भने कस्तो राम्रो हुन्थ्यो होला। खेती गर्ने जमिनबाहेकका खाली जग्गा कतै पनि राख्दै नराख्ने।’ यस्तै सोचिरहेकी थिएँ म।

भविष्यमा आफूले लगाएका बिरुवा रुख बनिसकेको हेरेर आनन्द आउने कल्पनामा रम्दै म र साथीका परिवार भएर बिरुवा लगाइरहेका थियौँ। त्यही समयमा केही बच्चा स्कुलबाट फर्किँदै गरेका देखिए। साथीको घरनजिकैका बच्चा रहेछन्। साथीको परिवार पहाडी मूलका थिए। दुईचार वर्षअघि मात्रै त्यहाँ जग्गा किनेर बसाइँ सरेका थिए। ती बच्चाले निकै चाखलाग्दो तरिकाले हामीले बिरुवा लगाउँदै गरेको हेर्ने थाले। एक खालको रमिता भयो उनीहरूका निम्ति।

यता मेरो मनमा अरू नै केके–केके कुरा खेल्न थालिसकेको थियो- ‘यी बच्चाहरूले रुचि देखाए भने थप बिरुवा ल्याएर यिनलाई पनि दुई-चारवटा दुई-चारवटाका दरले दिन्छु। ती बिरुवाको रेखदेख राम्रोसँग गर्ने सर्त राख्छु सुरुमा र माने भने भोलि नै बिरुवा ल्याएर बाँडिदिन्छु।’ बच्चाहरूमध्ये एकजनाले बिरुवामा अलिक बढी चासो लिइरहेको मैले पाएँ।

‘तिमीलाई वृक्षरोपण भनेको के हो थाहा?’ मैले साथीको परिवारले खनेर ठिक्क पारिदिएको खाल्डोमा अमलाको बिरुवा रोप्दै उसलाई सोधेँ।

‘थाहा छ’, बच्चाले भन्यो।

‘वृक्षरोपण गर्नु राम्रो हो भनेर तिम्रा सरहरूले भन्नुहुन्न?’ मैले सोधेँ।
‘भन्नुहुन्छ’, बच्चाले सहजै भन्यो।

यो बेलासम्ममा बाँसबाहेकका अरू जम्मै बिरुवा रोपिसकिएको थियो। बच्चाको कौतूहल र रमाइलोपना देखेर मैले उसलाई त्यही बाँस रोप्न लगाएँ। खाल्डो तयार नै थियो। उसले बाँसको बिरुवा ल्याएर त्यसको प्लास्टिकको थैली च्यात्यो र खाल्डोमा राखिदियो। त्यसपछि मैले माटो हालिदिएँ। अरू बच्चा पनि त्यहीँ उभिएका थिए, सबैजनालाई खुसी बनाउन मैले ‘ताली’ भनेर ताली बजाउन थालेँ। अरू सबै जनाले पनि ताली बजाए। वातावरण रमाइलो बन्यो।

‘तिमीहरूलाई पनि बिरुवा ल्याइदिन्छु, लगाउँछौ?’ मैले सोधेँ।
उनीहरूले लगाउँछौँ भने। मैले भोलि बिरुवा ल्याइदिने भएँ। त्यसपछि उनीहरूलाई ‘ल आजलाई जाओ’ भनेर पठाइदिएँ। साथीको परिवार पनि बिरुवा लगभग रोपिसकिएकाले घरतिर गए। म र मेरो साथी अन्तिम बाँस रोपिरहेका थियौँ।

‘मेरो बच्चालाई तिमरुले मार्न खोजेको?’ त्यही बेला एक जना महिला कराउँदै आइन्।

‘के भयो र? किन चिच्याउनुभएको?’ मैले सोधेँ।

‘हाम्रो जातले बाँस रोप्नुहुँदैन। किन रोप्न लगाएको?’

ती महिलाको आवेग सुनेर ‘किन रोप्नुहुँदैन’ भनेर प्रश्न सोध्न उपयुक्त लागेन।

‘उसले बाँस रोपेकै छैन, त्यतिकै राखिदिएको हो। हामीले नै रोपेकी हुँ।’ साथीले कुरा मिलाउन खोजिन्।

महिला एकैछिन केके भन्दै थिइन्, पछि बाटो लागिन्।

भएछ के भने त्यो बच्चाले खुसी हुँदै घरमा गएर आमालाई आफूले बिरुवा लगाएको सुनाएछ। बाँस रोपेको थाहा पाएर महिलालाई पीडा भएछ। र, तुरुन्तै हामीतिर आइछन्। केही समयपछि मैले त्यहीँबाट देखेँ, केही पुरुष र अरू महिला पनि हामीतिरै हेरिरहेका थिए। अगाडिचाहिँ कोही बढिरहेको थिएन। हामीले बिरुवा लगाइसकेका थियौँ। साँझ पनि परिसकेको थियो। त्यसैले हामी साथीको अलि पर रहेको घरमा गयौँ। घर फर्किने क्रममा अलिकति पर पुगेपछि मैले यसो पछाडि हेरेकी थिएँ, हामीलाई हेरिरहेका मानिस पनि लाखापाखा लागिसकेका थिए।

म त्यो रात त्यहीँ बसेँ। भोलिपल्ट बिहान उठेर नुवाइधुवाइ सकेर अब फर्किनुपर्छ भन्ने सोचिरहेकी थिएँ। साथी र म सँगै फर्किँदै थियौँ। मेरो त तयारी गर्नुपर्ने खासै केही थिएन, साथी तयार हुँदै थिइन्। हिजोको ती महिलाको गाली सुनेर बच्चाहरूका निम्ति बिरुवा ल्याइदिने सपना मैले त्यागिसकेकी थिएँ। त्यही बेला साथीको कोही छिमेकी आइपुगे र भन्न थाले, ‘हिजो हजुरहरूले लगाएको बिरुवा त सबै उखेलिएको छ।’

तिनै मान्छेहरूले उखेलिदिएका होलान् भन्ने अनुमान लगाउन कुनै गाह्रो भएन मलाई। त्यो नहुन सक्छ भन्ने पनि लाग्यो। म र साथी बिरुवा लगाएको ठाउँमा पुग्यौँ। त्यहाँ अरू सबै बिरुवा त उखेलिएको थिएन, बाँसजति चाहिँ सबै उखेलिएको रहेछ। ‘छाड्दे, प्रतीक्षा! छोराको मायाले गर्दा उखेलिएका होलान्। छोरो मर्छ भन्ने डर भयो होला। डरले गर्दा छोरा बचाउन यस्तो गरेका होलान्।’ मैले साथीसँग भनेँ।

हामीले कसैलाई केही नभनी चुपचाप उखेलिएका बाँस रोप्यौँ र फर्कियौँ। त्यसको केही समयपछि हामी आफ्नो कार्यस्थल आइपुग्यौँ। साँझतिर साथी आत्तिँदै आइन् र मसँग भनिन्, ‘घरबाट बाले फोन गर्नुभएको थियो। त्यो हिजो बाँस रोपेको केटो बिरामी भएछ। बाँस रोपेर बिरामी भएको भनेर हाम्रो घरमा आएका छन् रे! हाम्रा बाआमालाई केके–केके भन्दै छन् रे!’

‘यो कस्तो मुसिबत! राम्रो काम गर्दागर्दै पनि यो के भइरहेको छ?’ मैले केही सोच्दै सकिनँ। साथीको घरमा उनको परिवारको सहयोगका निम्ति पुग्नु नै थियो, हामी तुरुन्तै उनको घरतिर लाग्यौँ। फेरि यस घटनामा म पनि मुछिइसकेकी थिएँ, जसरी पनि समाधान त गर्नैपर्थ्यो। हामी साथीको घरमा पुग्दा बिरामी केटो, उसका बुबाआमा र केही उसको तर्फका मानिस जम्मा भएका रहेछन्। मैले अहिलेसम्म बाँस रोप्नाले मान्छे मर्छ या बिरामी हुन्छ भनेर सुनेको थिइनँ। सुन्दै नसुनेको र हुनै नसक्नेझैँ लाग्ने कुरा पनि किन यति ठूलो बनिरहेको छ भनेर बुझ्न सकिरहेको थिइनँ।

बिरामी केटालाई हिजो रातिदेखि नै हनहनती ज्वरो आएको रहेछ। शरीर पनि दुखिरहेको छ भनिराखेको रहेछ। केटाको परिवार, विशेष गरी उसकी आमा बाँस रोपेको कारण बिरामी भएको भन्नेमा शतप्रतिशत विश्वस्त थिए।

सुरुमा त मैले ‘अरू नै केही भएको होला, बाँस रोपेर पनि कोही बिरामी हुन्छ र’ भनेर प्रतिकार गरेँ।  अहँ, उनीहरू अलिकति पनि मान्न तयार भएनन्। बरु अन्य मानिसले समेत बाँस रोपेर मरेका मान्छेका विविध उदाहरण दिन थाले। एकदुईजना मुस्किलले बचेको पनि कथा सुनाए।

साथीको परिवारलाई कस्तो फसाद! बाँस रोपेर होइन भनौँ भने बिरामी प्रत्यक्ष अगाडि छ। फेरि त्यही केटो नै बिरामी भएको छ, जसले बाँस रोप्यो। अरू बिरामी भएका भए त कुरा टार्न सकिन्थ्यो। केटाकी आमालाई पनि यो बेला केही भन्न सक्ने अवस्था नै थिएन। उसकी आमाले त आफ्नो छोरालाई माया गरेकी थिइन्। आफू अन्धविश्वासमा छु भन्ने कुराको उनलाई अलिकति हेक्कासमेत थिएन। खासमा राति नै बाँस रोपेको केटोलाई ज्वरो आएको रहेछ। बाँस रोपेकै कारण भन्ठानेर उनीहरूले राति आएर बाँस उखेलिदिएका रहेछन्। यो कुरा उनीहरूले नै भने पनि ।

‘बाँस उखेलेपछि त ठीक हुनुपर्ने हो नि त!’ मैले सोधेँ पनि। उनीहरू बाँस रोप्नै नहुने आफ्नो अडानमा अडिग रहे। उनको यस अडिगपनमा गाउँकै फुक्ने मान्छेको पनि ठूलो हात रहेछ। बिहानै बिरामीलाई हेरेर वस्तुस्थिति बुझेछ र बाँस रोपेकै कारण इष्टले दुःख दिएको भनेर भनिदिएछ। त्यसपछि त के चाहियो र! अब के गर्ने, के नगर्ने भयो। सेवा गर्ने नाममा म एक हिसाबले फसिसकेकी थिएँ। बेकारमा बिरुवा ल्याएर रोपेछु भन्ने लागिरहेको थियो। कमसेकम त्यो बच्चालाई रोप्न नलगाइदिएको भए! ती बच्चा पनि त्यति बेलै किन आउनुपरेको हो! फेरि बाँस नै रोप्ने बेलामा किन आइपुगेका हुन्! तिनीहरू आउनेबित्तिकै लखेटेर पठाइदिएको भए!

जे नहुनुपर्ने भइसकेको थियो। अब त्यो समय र क्रियाकलाप फिर्ता गर्न सकिँदैनथ्यो। कसरी हुन्छ सुरक्षित अवतरण गर्नुपर्ने अहिलेको आवश्यकता थियो। यसमा सबैभन्दा ठूलो कर्तव्य मेरो नै हुन आउँथ्यो किनभने समस्या मेरै कारण उब्जिएको थियो। न साथीले र न उनको परिवारले मलाई बिरुवा ल्याउन भनेका थिए। म आफैँ जान्ने पल्टिएकी थिएँ, नमज्जाले फल भोगेँ। मनमनै भगवान्‌सँग प्रार्थना गरेँ मैले, ‘हे भगवान्! यो समस्याबाट मलाई उम्काइदेऊ। म हजुरलाई लड्डु चढाउँछु। यो केटालाई ठीक पारिदेऊ।’

समस्या समाधान कसरी गर्ने भनेर कसैले भन्न सकिरहेको थिएन। सबै जना एकअर्कालाई आरोप मात्रै लगाइरहेका थिए। विगतका कुरा कोट्याएर मान्छे मरेका डरलाग्दा घटना सुनाइरहेका थिए। बिरामी अब बाँच्दैन भन्नेमा धेरै जना ढुक्क थिए। ती मान्छेलाई अलिकति पैसा दिएर पन्छाउन पाए पनि पन्छाइदिन्थेँ भन्ने लागिरहेको थियो । तर यस कुराको उठान नै जायज थिएन यो समयमा। मलाई के चाहिँ विश्वास थियो भने केटो बिरामी हुनुमा बाँस रोपेको कारणचाहिँ होइन। यस्तो न हुनै सक्दैन। यो त सीधै अन्धविश्वास हो।

 केटो बिरामी भयो कसरी त?

‘म तपाईंहरूसँग दुई हात जोडेर माफी माग्छु। यस घटनामा गल्ती जम्मै मेरो हो। मेरो साथी प्रतीक्षाले र उसको परिवारले मलाई बिरुवा ल्याउन भनेका होइनन्। म आफैँले ल्याएकी हुँ। बच्चालाई बिरुवा रोप्न पनि मैले नै लगाएकी हुँ। अब जे हुनु भइसक्यो। म नर्स भएको नाताले बिरामीको लक्षण हेरेर धेरै कुरा जान्दछु। तपाईंहरूले झारफुक गराउनुपर्ने पनि गराइसक्नुभयो। अब अन्तिमपटक मेरो कुरा मानिदिनुस्। यो बच्चालाई लिएर अस्पताल जाऔँ। तपाईंहरूमध्येबाट पनि दुईजना हिँड्नुस्। म र प्रतीक्षा पनि सँगै जान्छौँ। अस्पतालमा जतिको उपचार कतै पनि हुन सक्दैन। त्यहाँ जतिको सुरक्षित कतै हुँदैन एक जना बिरामीका निम्ति।’ मैले आफ्ना दुई हात जोडेर बिन्ती बिसाएँ।

अचम्म, उनीहरूले मानेनन्! बाँस रोपेकै कारण हो भन्नेमा अझै एकबद्ध थिए। ‘हो ल, बाँस रोपेकै कारण हो भनेर मैले मानेँ। अब यस समस्याको समाधान के त! रोपिएका बाँसजति त तपाईँहरूले उखेलिसक्नु नै भयो। अझै उखेलेर फाल्न चाहनुहुन्छ भने फालिदिनुस्। यसमा हामीलाई कुनै आपत्ति छैन। अनि तपाईँहरूले झारफुक पनि गरिसक्नुभयो। अब यहाँ बिरामीलाई राखेर हुनेवाला त केही छैन। फेरि तपाईँहरूले गर्नुपर्ने काम त गर्नुभए पनि हुन्छ तर बच्चालाई अस्पताल लगेर उपचार पनि गराऔँ एकपटक’, मैले पुनः भनेँ।

अन्तिममा एउटा सहमति निस्कियो। बच्चालाई अस्पताल लाने। बच्चासँगै उसकी आमा र फुपू जाने। घरमा बच्चाका बुबाले घर मन्छाएर शुद्ध बनाउने। घरमा गर्नुपर्ने कार्यका निम्ति मैले दुई हजार रुपैयाँ दिएँ र एम्बुलेन्स बोलाएर बच्चालाई राखेर हामी अस्पताल गयौँ। अस्पतालमा म र साथी मिलेर बच्चाको लक्षणसँग सम्बन्धित सबै परीक्षण गरेपछि डेङ्गुको लक्षण पो देखियो! बच्चामा सेतो रगत (प्लेटलेट) पनि कम भएको रहेछ। मैले यो कुरा बिरामीकी आमालाई सम्झाएँ। तर सम्झिए त मार्दिनु ! पिट्न मिलेन, जबर्जस्ती कोच्न मिलेन, अहँ आमैले बुझ्दै बुझिनन् कुरा। बाँस रोपेकैले बिरामी भएको भन्नेमै विश्वस्त रहिन्।

यो कस्तो गढेको विश्वास ! मान्छे अनपढ हुनुको चरम बेफाइदा यहाँनेर मैले प्रत्यक्ष देखेँ। पाँच दिन अस्पताल राखेर उपचार गरेपछि बिरामी ठीक भयो। साथी र म नै भएर उसलाई जसरी ल्याएका थियौँ, त्यसै गरी उसको घरमा पुर्‍याइदियौँ।

चरम दुःख त मलाई त्यो बेला लाग्यो, जब उसको परिवारका सदस्यहरू र केही छिमेकीले पनि भने, ‘यता हामीले नमन्छेको भए, दोष नहटाएको भए, धूपबत्ती नगरेको भए केटो बच्ने थिएन!’ झारफुक गर्नेकहाँ पुगेर केटाको नाममा भाले पनि काटेर भ्याएछन्! हामीले रोपेका सबै बिरुवा उखेलेछन्! अस्पतालले गरेको उपचार, औषधिको प्रभाव आदिका बारेमा उनीहरूलाई मतलब नै थिएन!

बेलुका साथीको घरबाट फर्किरहँदा मेरो माथिंगल हल्लिरहेको थियो, ‘हे प्रभु! अब म सेवाभाव राखूँ कि नराखूँ! मानिसलाई कसरी बुझाऊँ! एउटा बाँसमाथि पनि कस्तो विश्वास मान्छेहरूको! यो चरम आधुनिक समयमा पनि मानिस कुन जमानामा बाँचिरहेका छन्! अब चेतना जगाउने कसरी!’ अहँ, कुनै निर्क्योल निकाल्न सकेन दिमागले। केही दिनदेखिको अनावश्यक चक्करले मेरो शान्ति भंग भएको थियो जबकि म केही समय भए पनि एकान्तपान गरेर शान्तिको भावका साथ फर्किने भनेर गएकी थिएँ।

प्रकाशित: १९ साउन २०८१ १२:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + four =