काठमाडौँ- उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायीत्वको जगमा आर्थिक परिवर्तनका लागि दुई ठूला दल नेपाली कांग्रेस र नेकपा मिलेको बताएका छन्।
शनिबार नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर १ ले आयोजना गरेका बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले यसअघि छिटो छिटो सरकार परिवर्तन हुँदा अस्थिरता भएको भन्दै राजनीतिक स्थिरताका लागि अहिलेको गठबन्धन बनेको बताए।
‘राजनीतिक स्थायित्व र स्थीरताको जगमा आर्थिक परिवर्तन, सामाजिक परिवर्तन गर्नेदेखि सबै कुरालाई यावत रूपमा कार्यान्वयन गर्नका लागि यो सरकार गठन भएको छ,’ उपप्रधानमन्त्री सिंहले भने,‘जिम्मेवारी ठूलो छ। त्यसमा तपाईहरूले साथ सल्लाह अनवरत रूपमा दिनुहुनेछ भन्ने विश्वास छ।’
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आफ्नो क्षेत्रबाट निर्वाचित भएका उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री बनेका सिंह र प्रदेश सांसद सुरजचन्द्र लामिछाने बाग्मती प्रदेशको आन्तरिक मामिला मन्त्री बनेकोमा बधाई दिन कार्यक्रम आयोजना गरिएको थियो।