पूरा हुन नसकेको ब्राजाकीको धोको

विमल अधिकारी १९ साउन २०८१ ८:२८
128
SHARES
पूरा हुन नसकेको ब्राजाकीको धोको

मनु ब्राजाकी (विसं १९९९-२०७४) ‘अन्तिम कृतिका रूपमा एक आत्मवृत्तान्त लेख्छु र फाइन प्रिन्टलाई दिन्छु, मैले वचन दिइसकेको छु’ भन्थे। २०४४/०४५ सालतिर ‘देशान्तर’ साप्ताहिकमा ‘राँड, साँढ, सिँडी, सन्न्यासी’ भन्ने स्तम्भमा प्रकाशित संस्मरण-नियात्रालगायत छरिएर रहेका संस्मरणहरू समेटी पृथक् खाले आत्मवृत्तान्त ‘मेरो चेतनाको जीवनयात्रा’ प्रकाशन गराउने उनको अठोट थियो। उक्त कृति परम्परागत ढाँचामा लेखिनेभन्दा छुट्टै शैलीको हुनेछ पनि भन्थे मनु। उनका पाठक-शुभचिन्तकको चाहना पनि जीवनीपरक कृति आओस् भन्ने थियो।

२०६० कात्तिकसम्म ब्राजाकीको लेखन उत्कर्षमा थियो। कात्तिकमै धोबीघाट डेरामा पहिलो पटक गम्भीर बिमारी भएछन्। कान्छो छोरा अमितले मोटरसाइकलमा राखेर कसरी पाटन हस्पिटल पुर्‍यायो होला भनी सम्झँदै अचम्म मान्थे उनी। मनुलाई मस्तिष्काघात भएको रहेछ। केही दिनको उपचारपछि डिस्चार्ज भए पनि उनी शारीरिक रूपमा तन्दुरुस्त हुन सकेनन्।

पाटन अस्पतालबाट धोबीघाटस्थित डेरा फर्किएपछि ब्राजाकी खोच्याएर हिँड्न थाले। लेखन पनि शिथिल बन्यो। लगत्तै धोबीघाटबाट मीनभवन डेरा सर्‍यो ब्राजाकी परिवार। उनी कान्छा छोरा पप्पु अर्थात् अमितको परिवारको साथ बस्थे। पत्रिकाका सम्पादकहरूको विशेष अनुरोधमा कथा लेखिदिन्थे। ती कथाहरू दुर्बोध्य, कठिन र कलाहीन हुन थाले। रोगले च्यापेपछि मनुको कथालेखन कमजोर हुन थालेको प्रस्ट हुन थाल्यो। कथानक टिपेर लेख्ने सामर्थ्यमा ठूलो ह्रास आयो। उनका रचना दुरूह र जटिल बन्दै गए। पाठक/समीक्षकका यस्ता गुनासोलाई सहर्ष स्विकार्थे मनु। कथालेखनको गति सुस्त भए पनि फाट्टफुट्ट गजल र अन्तर्वार्तामा भने उनी देखिन्थे।

२०६० कात्तिकदेखि लेखन दिनप्रतिदिन विश्रान्तिन्मुख हुनु र २०६३ मंसिर २३ गते जेठा छोरा अप्पु अर्थात् अपूर्वको असामयिक निधन हुनुले ब्राजाकीमा पीडामाथि पीडा थपिदियो। पुत्रवियोगको पीडा थपिएपछि उनमा निराशा छायो। त्यसपछि उनी अधिक मापसे गर्न थाले।

दुर्बल नाडी र मस्तिष्कले धाराप्रवाह लेखन अघि बढ्न दिएन। लेख्न अर्थात् आफ्नो अभिव्यक्ति प्रस्फुटन हुन नपाएपछि आत्महत्याको बाटोतर्फ जाने मानसिकतामा पुगेको कुरा मनु स्वयम् बताउँथे। यस्तो मनोविज्ञान बुझेर पत्नी ज्ञानु र छोरी अपर्णाले सल्लाह गरेछन् अमेरिका झिकाउने, उपचार र भ्रमणका लागि भन्दै।

आफ्नै माटोमा रमाउँछु, अमेरिका त जाँदै जान्नँ भन्ने ब्राजाकी अमेरिकाको भिसा प्रक्रिया सफल भएपछि केटाकेटी जसरी फुर्किएका थिए। मनुलाई त्यस्तो देखेर साथीभाइ एवं शुभचिन्तक छक्क पर्थे। यायावर स्वभावका ब्राजाकीलाई अमेरिका भ्रमण र उपचार साहित्यिक ऊर्जाको अवसर पनि थियो।

२०६६ अर्थात् सन् २००९ को गर्मीयाममा मनु ब्राजाकी छोरीज्वाइँको अनुरोधमा संयुक्त राज्य अमेरिकातर्फ लागे। उपचार र भ्रमणका लागि अमेरिका पुगेका उनको दिमागको डायरीमा भने एक से एक संस्मरण र नियात्राका प्लट थिए। अमेरिकी जनजीवन र भूगोलका अनुभवलाई यात्रा संस्मरणमा समेट्ने उनको तीव्र इच्छा थियो। उनी विस्मृत हुने समस्याले भने गाँजिँदै थिए। बिमारी ब्राजाकीको सर्जक थलिँदै गयो र उनले आफ्नो अभीप्सित अन्तिम कृतिका लागि थप कलम चलाउन र प्रकाशन संयोजन गर्न सकेनन्। उच्च रक्तचाप, हर्निया, मस्तिष्काघात, मधुमेह, साइटिकाजस्ता रोगले दिमागको डायरीमा रहेका संस्मरण/नियात्राका मानसिक सिर्जना लिपिबद्ध गर्ने गरी ब्राजाकीले कलम चलाउन सकेनन्।

चार वर्षपछि २०७० को वैशाख/जेठमा ब्राजाकी पत्नीसहित नेपाल फर्किए। कान्तिपुर दैनिकको ‘कोसेली’ मा २०७० जेठ २५ गते यहुदीहरूले फ्याँकेको थोत्रो बोरा- डायस्पोरा! लेख छपाएपछि मनु एकपल्ट फेरि साहित्यिक वृत्तमा चर्चाको विषय बने। उक्त लेखले निकै तरंग फैलाएको थियो। साहित्यकार मोदनाथ प्रश्रितले मनुका शुभचिन्तकलाई भेटेरै भनेछन्- मनुको घच्चीको लेख रहेछ। आजसम्म यसबारे यस्तो लेख कसैले पनि लेखेको छैन। उहाँसँग फोनमार्फत बधाई दिँदै कुराकानी गर्न मन थियो।

२०७० साउनको एक दिन कमलमणि दीक्षित (कदी) लाई भेट्न भनेर पाटनढोका पुग्दा साँझ ५ बजेको थियो। कदीको कार्यालय बन्द भइसकेको रहेछ। सुरक्षा गार्डलाई ‘दाइलाई मनु ब्राजाकी अमेरिकाबाट भेट्न आएको छ’ भनेर खबर पठाएपछि कदी दौरासुरुवाल, कालो टोपीको वेशमा मदन पुस्तकालय आए। उनले मनुलाई आफ्नै कार्यालय परिसरको क्याफेमा लगी स्वागत गरेका थिए। दुई व्यक्तित्वबीच साहित्यिक प्रवर्धनका विषयमा भलाकुसारी भए।

कमलमणिले सोधेका थिए- ‘स्वास्थ्य अवस्था कस्तो छ नि? पिउन छोडिदियौ?’ एउटा अब्बल साहित्यकार रक्सीले बिग्रिएको चिन्ता कदीको थियो। उनले भनेका थिए- ‘रक्सीले यो मान्छे बिग्रिएको हो। नत्र त यो नेपाली साहित्यको रत्न हो। अब नपिउनू नि, स्वास्थ्यलाई हानि गर्छ। जेजति साहित्यका सामग्री छन्, ती टुक्राटुक्री जे छन् समेट्नू। साहित्यको इतिहासमा अमूल्य हुनेछन्।’ दुई साहित्यिक हस्तीबीचको त्यो कुराकानीमा साक्षी रहन पाउँदा मलाई निकै गौरवको अनुभूति भएको थियो। कमल दादाको नाउँमा आएको कफीको स्वाद आजसम्म पनि मेरो जिब्रोमा झुन्डिरहेको छ।

मनुले आत्मवृत्तान्त पूरा गर्ने धोकोअनुसार छरिएका संस्मरण खोजिदिन शुभचिन्तक/शोधार्थीसमक्ष अनुरोध गरेका थिए। ‘मनु ब्राजाकीको श्यामकहानी’ भन्ने लेखको छाया प्रति (फोटोकपी) लिन ब्राजाकी एक शुभचिन्तकलाई लिएर आफैँ कमलमणि दीक्षितको निवास पुगेका थिए। उपलब्ध भएसम्मका पूर्वप्रकाशित संस्मरण-नियात्राका पत्रिका-कुड्का (कटिङ) लाई सुटकेसमा राखी २०७० सालको असोजतिर (दसैँअघि) उनी फेरि अमेरिका उडेका थिए।

मैले मनुको एक कथासंग्रहमा आधारित भएर स्नातकोत्तर तहको शोधपत्र तयार पारेको थिएँ। मसँग पनि मनुले उक्त शोधपत्र अमेरिका लिएर जाने अनुमति मागेका थिए। कोलोराडोमा एक साहित्यिकले अनुसन्धान (पीएचडी) गर्न लागेको मनुको भनाइ थियो। शोधपत्र सार्वजनिक सम्पत्ति हो, अझ उनीसँग भएको प्रति त तपाईँकै लागि हो भनेर उनलाई सामग्री फिर्ता लिन नभुल्नू नि भनेको थिएँ। पुस्तक, लेख, एवं शोधपत्र आफ्ना साथमा नराखी अरूलाई दिने मनुको बानी मलाई थाहा थियो। मनुका बारेमा शोध गर्ने पहिलो शोधार्थीले पनि शोधनायक प्रति बुझाएका रहेछन् तर मनु तपाईँबाहेक कसैले पनि शोधनायक प्रति दिएको छैन भन्थे।

मनुले उक्त शोधपत्र सुटकेसमा हालेर लगे। आजसम्म न शोधपत्रको अत्तोपत्तो छ न पीएचडीकै। अमेरिकामा मनु ब्राजाकीबारे पीएचडी गर्ने प्रसंग आफैँमा अपत्यारिलो थियो। मनुको स्वास्थ्य अवस्थामा उतारचढाव भइरह्यो। मापसे अधिक गर्ने मनुले रोगका कारण सतर्क भए पनि चुरोट सेवन (चुसे) को लत छाड्न सकेनन्। अमेरिकामा एक दिन त्यसै कारण प्रहरी फन्दामा परेछन्। छिमेकीबाट धूमपानद्वारा व्यवधान गरिएको भन्दै ९११ मा उजुरी परेपछि महिला प्रहरी टोली आएर केरकार गरी आइन्दा चुरोट खाएर छिमेकीलाई नबिथोल्ने सर्तमा छाडेको रहेछ। यस घटनाबारे संस्मरण तयार गरी प्रकाशकलाई दिन्छु भन्थे उनी।

यी प्रसंगले आत्मवृत्तान्त लेख्छु, जीवनको अन्तिम कृति हुनेछ भने पनि दुर्बल नाडी र विस्मृत मस्तिष्कले कथानक बुन्न मनुलाई साथ दिएन। शारीरिक/बौद्धिक रूपमा कमजोर भएपछि उनले दिमागमा रहेका प्लट (नियात्रा-संस्मरणका) हरू लिपिबद्ध गर्नै सकेनन्।

२०७२ वैशाख १२ को भूकम्पले कविहृदयका मनुलाई झनै चिन्ता थप्यो। दुवै आमा (नेपाल आमा र जन्म दिने) बिरामी छन्। परदेशमा कसरी बसिरहूँ? जीवनको उत्तरार्ध  साथीभाइसँग आफ्नै माटोमा रमाउँछु भन्दै भूकम्पको एकाध हप्ताभित्रै उनी नेपाल फर्किएका थिए। आजै नेपाल जान्छु भोलि नै नेपाल जान्छु भनेर जिद्दी कसेपछि छोरीज्वाइँले नेपाल जाने प्रबन्ध गरिदिएछन्। यद्यपि तुरुन्त नेपाल फर्किने योजना नभए पनि मनुको जिद्दीसँग कसैको केही लागेनछ। उपचार र स्वास्थ्यका हिसाबले उचित भए पनि घरमै धुमधुम्ती बस्दा उनलाई कठिन भएछ।

लेखन कार्य ठप्पजस्तै थियो। अमेरिकामा रहँदा मनु अनेसास कोलोराडो शाखाका साहित्यिक कार्यक्रमहरूमा सहभागी हुने, अनुज साहित्यकारहरूलाई साहित्यिक प्रेरणा प्रदान गर्ने, ‘काउब्वाई’ मुभी हेर्ने, ल्यापटपमा झुन्डिएर नयाँनयाँ ज्ञानको खोजी गर्ने दिनचर्यामा हुन्थे। तैपनि अमेरिकामा उनलाई एक्लो महसुस भएछ। साहित्यको शास्त्र छाँट्न मात्रै होइन; माटोको मायाले मनुलाई नेपाल फर्किन प्रेरित गरेछ। नेपाल फर्किएपछि अन्नपूर्ण पोस्टको ‘फुर्सद’ हेर्ने पत्रकार दीपक सापकोटाको अनुरोधमा अमेरिकी भ्रमण-बसाइ-भोगाइका तीन/चार संस्मरण प्रकाशित गराए। ती सामग्री डायस्पोरिक जीवनका उत्कृष्ट रचना मानिन्छन्।

बिन्दास बानी, बेपर्वाह स्वभावका मनुलाई थप पुस्तकाकार कृति प्रकाशनको चाहना भयो। शुभचिन्तकसमक्ष छरिएका पूर्वप्रकाशित सामग्री संकलनका लागि गरेको मनुको अनुरोधले उनको प्रकाशनेच्छा दर्सिन्थ्यो। ब्राजाकी विशेषांक (बगर साहित्यिक पत्रिका), मनमौजी (सुविद गुरागाईँको सम्पादन रहेको मनु ब्राजाकीको जिन्दगी) जस्ता आफ्नै बारेका समालोचना, संस्मरण साथीभाइको पहलमा प्रकाशन भएमा उनी हर्षित हुन्थे। प्रतिनिधि गजलहरू समेटेर ‘रोज्जा गजलहरू’का नाममा प्रकाशन गर्नका लागि त उनले प्रकाशकसँग सम्झौता गरेका थिए।

पुतलीसडकतिरका एक प्रकाशकले त सम्झौताकै खिल्ली उडाएर प्रकाशन नगरी धोका दिएछन्। मनुको मृत्युपछि पनि ती प्रकाशकले उक्त गजल संग्रह प्रकाशन गरेनन्। गैरआवासीय नेपाली संघ कोलोराडो च्याप्टरले ‘मनु ब्राजाकीका रोज्जा गजलहरू’ छापेको थियो। मौखिक रूपमा वचन दिएर मनुलाई २० प्रतिशत रोयल्टी दिने, प्रकाशन गर्ने त वचन भो तर एकपटक प्रेस मालिक अर्थात् प्रकाशकसँग सल्लाह गर्छु भन्दै कुलेश्वरको एक प्रकाशकका साहित्यिक संयोजकले मनु बाँचुन्जेल झुट बोलिरहे। पछिपछि त फोन नै नउठाई अभियन्ता र मनुलाई बेवास्ता गरे। त्यसपछि प्रस्ट भयो उनी मनुको उक्त गजलसंग्रह नछाप्ने मनसायमा छन्। त्यसो त मनु नेपाल प्रज्ञा- प्रतिष्ठानबाट पनि धोका पाउने साहित्यकार हुन्। प्रतिष्ठानले मनुको एक कथासंग्रहको पाण्डुलिपि २०५४ फागुनमा लिएर प्रकाशन नगरी हराइदिएको थियो। हराएर प्रकाशन गर्न नसकेपछि प्रतिष्ठानका पदाधिकारीले २०६० वैशाखसम्म त थियो रे भन्दै २०७० को साउन २३ मा मनुसँग माफी मागेर बिदा गराएछन्।

यति हुँदा पनि मनु दुःखी देखिँदैनथे। उनी भन्ने गर्थे, कसैसँग गुनासो गर्ने र टीकाटिप्पणी गर्ने मेरो बानी छैन। मेरो काम लेखन हो, पुस्तक प्रकाशन गर्ने काम प्रकाशकको हो। मैले लेखकीय धर्म निर्वाह गरेकै छु। गुनासो गरेर के मन गुम्स्याउनु?

नकुल सिलवालको ब्राजाकी विशेषांक प्रकाशन गर्ने क्रम अघि बढिरहेको थियो। २०७३ साउन १९ मा मनु ब्राजाकीलाई प्रमुख अतिथि बनाई मुस्कान तस्बिर लिँदै कृति लोकार्पण गर्ने योजना थियो। २०७३ जेठ १६ गते आइतबार बिहान सिलवालले आफ्नै निवासमा आफैँलाई समाप्त गरिदिएपछि मनु साह्रै चिन्तित भएका थिए। कसैले हिम्मत नगरेको ब्राजाकी विशेषांक प्रकाशन गर्न खोज्ने नकुलजस्ता साहित्यकार एवं प्रवर्धकको निधनले बिरामी ब्राजाकीलाई थप मर्माहत बनायो। अल्बर्ट कामुको सिसिफसको पुराकथाजस्ता भए हुँदै गए उनका सपनाहरू!

दोस्रोपल्ट वेस्टमिन्स्टर कोलोराडोमा मस्तिष्काघात भई मृत्युलाई जितेर डिस्चार्ज हुने क्रममा डाक्टरहरूले मिराकल मानेका थिए भनी मनु साथीभाइलाई सुनाउँथे। त्यसपछि मनु अर्को मस्तिष्काघात मृत्युसारथि भएर आउँछ भन्दै बेलाबेला झस्किन्थे।

आखिर २०७४ को मंसिरको एक दिन भैँसेपाटीस्थित निवासमै मनुलाई तेस्रोपल्ट मस्तिष्काघात भयो। उनलाई पाटन अस्पतालको सघन उपचार कक्षमा लगियो। मृत्युसँग पौँठेजोरी खेलेर जित्लान् र उनको अन्तिम कृतिको सपना साकार गराउलान् भन्ने आस थियो। डिस्चार्ज प्रक्रिया सुरु भइसकेपछि पनि उनलाई ढालिदियो। माघ १९ शुक्रबार १०ः३० बिहान कहिल्यै नउठ्ने गरी मनु संसारबाट बिदा भए।

पत्रकार/कवि/सम्पादक सुविद गुरागाईं मनु ब्राजाकीका प्रियमध्येका एक हितैषी शुभचिन्तक हुन्। उनले ‘मनमौजी’ भन्ने ब्राजाकीको जीवनकहानी भएको ग्रन्थ प्रकाशन गरी मनुलाई हस्तान्तरण गर्ने वचन दिएका थिए। नकुलको आत्महत्यापछि ब्राजाकी विशेषांकको चिन्ता लिँदै सुविद सुनसरीबाट हान्निएर आएका थिए। त्यस वर्षको साउन १९ मै मनमौजी मनु संस्मरण, फिचर र साथीभाइका संस्मरणको संकलन प्रकाशन गर्न केही दिन काठमाडौँमा अड्डा जमाएर बसेका थिए। उनी ब्राजाकीका हितैषी शुभचिन्तक मात्रै थिएनन्; पेइङ गेस्टका रूपमा केही महिना रहेका थिए मनुको धोबीघाटस्थित डेरामा। तैपनि कति साउन १९ गए कति माघ १९ गए।

निधनपछि त प्रकाशन गरेर श्रद्धासुमन टक्रयाउन चाहे पनि सम्भव भएन। कोभिड-१९ महामारी र आर्थिक कारण देखाएर घोस्ट राइटिङले लामो समयदेखि उक्त सामग्री प्रकाशन नगरीकन राख्यो। एकल संस्मरणचाहिँ प्रकाशन गर्छु भनिरहेको रहेछ। सुविदलाई आस देखाइरहेको थियो। सुविदले कार्यसम्पादन, मिहिनेत गरे पनि आर्थिक र बिक्रीवितरणको समस्या देखाएर प्रकाशन गरिएको छैन। यद्यपि उक्त प्रकाशकले २५ प्रतिशत लगानी गरिसकेको थियो ‘मनमौजी’मा। पाठक/शुभचिन्तकले ‘मनमौजी’ ग्रन्थको प्रतीक्षा गरिरहे।

अनेसास कोलोराडो शाखाले मनु ब्राजाकीको एकल संस्मरण प्रकाशन गर्न सक्ने भए भने पनि साथीभाइ र मनुका संस्मरण समेटेर ‘मनु ब्राजाकीको श्यामकहानी’ नाममा ग्रन्थ प्रकाशन गर्‍यो। उक्त कृति मनु ब्राजाकी स्मृति ग्रन्थजस्तो बन्यो। समग्रमा कृतिले ब्राजाकीप्रति उच्च सम्मान गर्दै उनको जीवनी बोलेको छ। सम्पादन पक्षमा कतिपय संवेदनशीलता नपाइएको गुनासो पाठक शुभचिन्तकले गरे पनि ‘टिम वर्क हो, टिमको समन्वयको कमीले गर्दा सोचेजस्तो पुस्तक बन्न सकेन। सबैले यसको जिम्मेवारी लिनुपर्छ। आगामी दिनमा पुस्तक प्रकाशन गर्ने सोच भएमा क्षमताअनुसार जिम्मेवारी बाँडफाँट गर्नुपर्छ भन्दै परिष्कार-परिमार्जनसहित कार्यसम्पादन गर्ने’ दृढ संकल्प गरिएको छ।

मनुकै एकल संस्मरण खण्ड छुट्ट्याएर प्रकाशन गर्ने भनी मनमौजीका सम्पादक सुविद गुरागाईँले भनेपछि मैले हातेमालो गर्न चाहेँ। उनले मैले कार्यसम्पादन गरेका कार्य आकाशको फल, सिसिफसको पुराकथाजस्ता भए भने पनि अवश्य एक दिन प्रकाशन होला भन्ने आस पनि छ तर लामो समयदेखि थन्किएर बसेकोमा मलगायत पाठक/शुभचिन्तक चिन्तित छौँ भनी फोनमा गुनासो गरे। मलाई यसले झन् गम्भीर बनायो। मैले उनलाई यसरी सुझाएँ- मनु ब्राजाकीका नाममा एकल संस्मरण हुनुपर्छ, देशान्तरको स्तम्भमा प्रकाशित प्राप्य संस्मरण-नियात्रा-निबन्ध पनि समेटिनुपर्छ, कुराकानीमा आधारित थप सामग्री थपिनुपर्छ, पूर्वप्रकाशित संस्मरणलाई साभार गरिनुपर्छ, कम्तीमा २५ सामग्रीलाई संगृहीत गरिनुपर्छ। मेरो पूर्ण साथ-सहयोग रहनेछ।

सम्पादकलाई पूर्ण साथ दिनु मेरो धर्म हो। एकल संस्मरण मेरो पनि चाहना हो। फेरि कोलोराडोका साहित्यिक शुभेच्छुकसमक्ष अनुरोध गरी आर्थिक जोहो गर्नुपर्ने छैन। प्रकाशकले प्रकाशन गर्दा बिक्रीवितरण/प्रचारप्रसारमा सहज हुन्छ।

मनु ब्राजाकीले लेख्ने भनी मुलतबी अपेक्षामा राखेको ‘मेरो चेतनाको जीवनयात्रा’ आत्मवृत्तान्त सम्झिएर पाठकले यस कृतिलाई पढ्ने विश्वास छ। मनु ब्राजाकीजस्ता विशिष्ट सिर्जनक्षमता भएका प्रतिभालाई राज्यले गरेको उदासीन व्यवहार खेदजनक छ। कुनै पनि झन्डा र वादको पछि नलागी स्वाभिमानी जीवन बिताउने सर्जकप्रति सम्बन्धित निकाय एवं कतिपय प्रकाशनहरू उदासीन बन्नु विडम्बनापूर्ण घडीमा सुविद गरागाईँको सम्पादनमा ब्राजाकीको एकल संस्मरण प्रकाशन हुनेमा म ढुक्क छु। फेरि पनि प्रकाशकहरूले आनाकानी गरिदिए भने शुभचिन्तकको साथसहयोग पाउने आँटले कम्मर कसेको हुँ। साहित्यिक शुभचिन्तक र सम्पादक स्वयंले प्रकाशनको चाँजोपाँजो मिलाई पुस्तक प्रकाशन भएमा मनु ब्राजाकीको अन्तिम इच्छा पूरा हुन्थ्यो होला परलोकमा भए पनि। ‘मनमौजी’को अर्को पाटोमा चाहिँ मनुबारे साथीभाइका संस्मरण एवं फिचर लेख थिए। उक्त खण्ड पनि पुस्तकाकार कृतिका रूपमा आओस् भन्ने कामना गर्दछु।

अन्तमा मनु ब्राजाकीको जीवनी, व्यक्तित्व, कृतित्व एवं जीवनकहानी प्रकाशन गरी साहित्यको इतिहासमा केही योगदान दिन सकियोस् भन्ने उद्देश्यले मात्र हामी लागिपरेका हौँ। उनका बारे बोलिदिने हामी नै हौँ नि भन्ने लागेर एकोहोरिएका हौँ। बाँचुन्जेल पनि सम्झिएका थियौँ। मृत्युपछि पनि सम्झिरहनेछौँ। धीर स्वभावका मनुका तीन वाणीले मलाई बेलाबेला घोत्लिन बाध्य गराउँछ। ती हुन् : ‘धर्म भनेको पाखण्ड र ढोँग हो त्यसलाई म मान्दिनँ। जातथरप्रति गर्व नलागेर नामको पछाडि जातथर लत्याइदिएँ। यसको अर्थ के हो भनी कसैले सोधे मलाई हेरे पुग्छ भन्थे। विवेकहीन राजनीति र विचारहीन साहित्य दुवै त्याज्य हुन्छन्।’ यस्ता अमर प्रतिभाप्रति श्रद्धासुमन!

कोलोराडो, संयुक्त राज्य अमेरिका

प्रकाशित: १९ साउन २०८१ ८:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 16 =