बयान फेर्ने साक्षीमाथि नै भ्रष्टाचार मुद्दा

हिमाल प्रेस १८ साउन २०८१ १२:५१
6
SHARES
बयान फेर्ने साक्षीमाथि नै भ्रष्टाचार मुद्दा

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा बयान फेरेको आरोपमा दुई जना साक्षीविरूद्ध मुद्दा दायर गरेको छ। अख्तियारले चितवन कालिका नगरपालिका–६ घर भई हाल पोखरा महानगरपालिका–१० बस्ने केशरीप्रसाद तिवारी र उर्मिला पौडेलविरूद्ध शुक्रबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

घुससहित पक्राउ परेका पोखरा महानगरपालिकाका सवइन्जिनियर उषाकिरण रोकायासहितको भ्रष्टाचारसम्बन्धी मुद्दामा साक्षी बसेका तिवारी र पौडेलले आयोगमा दिएको वयानभन्दा फरक बकपत्र गरेको पाइएपछि उनीहरूविरूद्ध मुद्दा दायर भएको अख्यितारले जनाएको छ।

अख्तियारले केही दिनअघि महानगरको नक्सा शाखामा कार्यरत सवइन्जिनियर रोकाया, इन्जिनियर शिवप्रसाद बराल र सुरज कुँवरविरूद्ध मुद्दा दायर गरेको थियो।

घर निर्माण सम्पन्न भएको प्रमाणपत्र प्रदान गर्न सेवाग्रहीसँग तीन लाख ५० हजार घुस लिइरहेको अवस्थामा उनीहरूलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।

तिवारी र पौडेललाई प्रतिवादी नबनाई सरकारी साक्षीको रूपमा पेश गरिएकोमा विशेष अदालतमा बकपत्र गर्दा आयोगको अनुसन्धानको क्रममा गरिएको बयान व्यहोराको प्रतिकूल हुनेगरी बकपत्र गरेको पुष्टि भएको अख्तियारले जनाएको छ।

घरको सम्पन्न प्रमाणपत्र प्राप्त गर्न तिवारी र पौडेलले महानगरका कर्मचारीहरूलाई तीन लाख ५० हजार घुस दिएको पुष्टि भएको अख्तियारको भनाइ छ।

दुवै जनामाथि तीन लाख ५० हजार बिगो कायम गरी जरिवाना तथा कैद सजायको मागदाबी लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन्।

प्रकाशित: १८ साउन २०८१ १२:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − one =